नेभिगेसन मेनु

बेलहिया नाकाबाट नौ महिनामा सवा अर्बको सिमेन्ट र अढाइ अर्बको धागो निर्यात
सम्पादक:南亚网络电视
समय:2024-05-06 15:02

Bhairahawa-Bhansar_9JfB1yIzUa

बुटवल : सिमेन्ट निर्यातमा नगद अनुदान तथा बिजुली प्रयोग गर्दा शुल्क छुटका योजना लिएसँगै सिमेन्ट निर्यात बढेको छ।

रुपन्देहीको बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा मात्र १ अर्ब २७ करोड मूल्य बराबरको सिमेन्ट निर्यात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार नौ महिनाको अवधिमा ६ लाख २९ हजार टन सिमेन्ट भारत निर्यात भएको हो। गत आर्थिक वर्षको १२ महिनामा ३१ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट मात्र निकासी भएका थियो।

बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदै आएका छन्। भारतको गोरखपुर, लखनउ जस्ता शहरमा नेपाली सिमेन्टको माग उच्च रहेको व्यवसायीहरू बताउँछन्।

सिमेन्ट मात्र नभएर भारतमा क्लिङ्कर निर्यातको अवस्था पनि राम्रो रहेको उनीहरूको भनाइ छ। चालु आर्थिक वर्षको नौ महिनामा ९३ करोड मूल्य बराबरको क्लिङ्कर निर्यात भएको छ।

क्लिङ्कर सिमेन्ट अर्धतयारी कच्चा पदार्थ हो। गत आर्थिक वर्षमा मात्र ९३ करोड ११ लाख रुपैयाँ बराबरको क्लिङ्कर भारत निर्यात भएको थियो।

भारतीय बजारमा सिमेन्टको माग बढ्न थालेपछि व्यवसायीहरूले प्रचारलाई तीव्रता दिएको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए। नेपाली बजारमा भने अहिले सिमेन्टको माग न्यून छ।

नेपालमा सिमेन्टको माग कम हुँदा पनि भारततफै निर्यात हुँदा व्यवसायीहरूले राहत महसुस गरेका छन्।

‘नेपालमा सिमेन्टको माग निकै कम छ। तर, भारतमा भने बढिरहेको छ। त्यसैले भारतीय बजार हेरेर क्रमशः उत्पादन गर्दै आएका छौं’, मुरारकाले भने।

उनका अनुसार अर्घाखाँची सिमेन्टले मात्रै चालु वर्षको नौ महिनामा ७० करोड रूपैयाँभन्दा बढीको सिमेन्ट निर्यात गरिसकेको छ। यो वर्ष डेढ अर्ब भन्दा बढीको निर्यात गर्ने लक्ष्य राखेको उनले बताए।

दुई अर्ब बढीको धागो निर्यात

त्यस्तै बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ४० करोड रुपैयाँ बराबरको सेन्थेटिक र्यान (धागो) निर्यात भएको छ।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले २ अर्ब ४० करोड मूल्य बराबरको ११ हजार ९ सय १० टन धागो निर्यात भएको जानकारी दिए।

भैरहवा क्षेत्रमा रहेको उद्योग जगदम्बा स्पिनिङ मिल्सले उत्पादन गर्ने सेन्थेटिक यार्न लामो समयदेखि निर्यात हुँदै आएको छ।

भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा मात्र १४ हजार ९३६ टन सेन्थेटिक र्यान (धागो) निर्यात भएको थियो, जुन ३ अर्ब १६ करोड मूल्य हुन आउँछ। सेन्थेटिक र्यान यो नाका हुँदै भारत तथा टर्कीसम्म निर्यात हुने गरेको छ।

नौ महिनामा चार अर्बको पेट्रोल आयात

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ४ अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको पेट्रोल आयात भएको छ।

भन्सार कार्यालयका अनुसार यो नौ महिना अवधिभर ४६ हजार किलो लिटर पेट्रोल आयात भएको हो। जसबाट राज्यले राजश्व मात्र २ अर्ब ६३ करोड ३९ लाख ९५ हजार प्राप्त गरेको छ।

गत वर्ष यो अवधिमा बेलहिया हुँदै ४७ हजार १ सय किलोलिटर पेट्रोल आयात हुँदा २ अर्ब ६९ करोड ८४ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो।

त्यस्तै डिजेल मात्र नौ महिनामा ४ अर्ब ३ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको आयात भएको छ। ३६ हजार ८ सय ३६ किलो लिटर आयात हुँदा १ अर्ब ५२ करोड २३ लाख २५ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ।

नौ महिनामा पेट्रोल आयात १ हजार १ सय किलोलिटर कम भए पनि डिजेल आयातमा भने गत वर्षको तुलनामा नौ हजार किलोलिटर भन्दा बढी फरक छ।

भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधि नौ महिनामा ४६ हजार २ सय ६४ किलो लिटर डिजल आयात हुँदा १ अर्ब ४५ करोड २४ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

यो नाका हुँदै आउने डिजल, पेट्रोल नेपाल आयल निगमको भलवारीस्थित डिपोमा भण्डारणपछि रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, दाङ, रोल्पा, रुकुम, प्यूठान तथा काठमाडौं पठाइने गरिन्छ। 

facebook sharing button messenger sharing button twitter sharing button viber sharing button sharethis sharing button

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर