नेभिगेसन मेनु

परराष्ट्रमन्त्री नौदिने चीन भ्रमणमा
सम्पादक:南亚网络电视
समय:2024-03-25 13:50

narayankaji2023-07-08-07-40-54

चैत १२ गते । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिन लामो औपचारिक भ्रमणमा आइतबार चीन प्रस्थान गरेका छन् । नयाँ समीकरणसँगै परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठको यो पहिलो विदेश भ्रमण हो । नयाँ समीकरणसँगै चीनसँगको सम्बन्ध सरकारको प्राथमिकतामा परेको छ । 

उपप्रधानमन्त्री श्रेष्ठको बेइजिङ, छोङछिङ, तिब्बत र सिचुआन प्रान्तमा चीन सरकारका उच्च अधिकारीदेखि चिनियाँ कम्युनिस्ट पार्टीका महत्वपूर्ण नेतासँग नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ । असोज ६ देखि १३ सम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बेइजिङ, छोङछिङ, तिब्बत र सिचुआनको भ्रमण गरेका थिए । यही रुटमा उपप्रधानमन्त्री श्रेष्ठको भ्रमण हुनेछ । 

बेइजिङमा श्रेष्ठको चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरीयताका नेता वाङ हुनिङ, चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हैयानसँग भेटवार्ता तय भएको छ । सोमबार बेइजिङ पुगेलगत्तै उनले चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरीयताका नेता (स्थायी समिति सदस्य) वाङ हुनिङसँग भेटवार्ता तय भएको छ । उनी नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी)का अध्यक्ष हुन् । यो निकाय चीन सरकारको सल्लाहकार निकाय हो । वाङ चिनियाँ राष्ट्रपति सी जिनपिङका अत्यन्तै निकट हुन् । 

सोमबारै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपप्रमुख सुन हैयानसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हैयानले श्रेष्ठको सम्मानमा रात्रिभोज आयोजन गर्नेछिन् । मंगलबार साँझ उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले रात्रिभोजसहित श्रेष्ठलाई स्वागत गर्नेछन् । प्रचण्डको भ्रमणमा बेइजिङमा भएका १२ सहमतिपत्र/सम्झौता कार्यान्वयनका विषयमा उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षी यीसँग बेइजिङमा छलफल गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा मंगलबार रात्रिभोज आयोजना गर्दै छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार बिहान हुवाए रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा सहभागी हुनेछन् । त्यहाँबाट नेपाली राजदूतावास पुगेर उनले लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार उनी नेपाली राजदूतावासद्वारा आयोजित दिवाभोजमा सहभागी भएर अपराह्न छोङछिङ जाँदै छन् । साँझ छोङछिङका मेयर तथा पार्टी सेक्रेटरी युयान जियाजुनले स्वागत गर्नेछन् । उनीसँग श्रेष्ठको रात्रिभोजसहित छलफल हुनेछ । 

बिहीबार बिहान उनी चिनियाँ प्रथम प्रधानमन्त्री चाउ एन लाईको निवासको भ्रमणमा जानेछन् । शुक्रबार उनी ल्हासा जाने कार्यक्रम छ । नेपाली महावाणिज्यदूतावासको भ्रमण गर्ने र साँझ तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टी सेक्रेटरी तिब्बतको ल्हासास्थित सिपिसी पार्टी सेक्रेटरी वाङ छुङछेङसँग भेटवार्ता र रात्रिभोज हुनेछ ।

शनिबार मौसम र श्रेष्ठको स्वास्थ्यले साथ दिएमा कैलाश मानसरोवर जाने कार्यक्रम छ । भोलिपल्ट अर्थात् आइतबार अपराह्न ल्साबाट उनी छेन्दु पुग्ने कार्यक्रम छ । साँझ सिचुआन प्रान्तको छेन्दुमा पार्टी सचिव वाङ सियाओईले श्रेष्ठलाई रात्रिभोजसहित स्वागत गर्ने कार्यक्रम छ । सोमबार बिहान उनी स्वदेश फर्किनेछन् । 

बेइजिङ र ल्हासामा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका सहमति कार्यान्वयनबारे विस्तृत छलफल गर्ने कार्यक्रम छ । तर, भ्रमणमा नेपाल र चीनबीच कुनै पनि विषयमा औपचारिक सहमति वा हस्ताक्षर हुने कार्यसूची छैन ।

श्रेष्ठको प्रतिनिधिमण्डलमा परराष्ट्रको उत्तरपूर्वी महाशाखा हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल, श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, शिष्टाचार अधिकृत, महाशाखाका नोट टेकर तथा बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, नियोग उपप्रमुख सुरेन्द्रकुमार यादव, कन्सुलर सविता नकर्मी सहभागी हुनेछन् । 

उपप्रधानमन्त्री श्रेष्ठले चीन भ्रमणका वेला छलफलमा उठाउने विषय तथा यसअघि प्रधानमन्त्रीको भ्रमणमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे सरोकारवाला अधिकारीसँग परामर्श गरेका छन् । श्रेष्ठले राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, परराष्ट्रसचिव सेवा लम्साल, राजस्वसचिव डा. रामप्रसाद घिमिरे, रक्षासचिव किरणराज शर्मा, ऊर्जासचिव गोपालप्रसाद सिग्देल, सिँचाइसचिव सुशीलचन्द्र तिवारीलगायतसँग छलफल गरेका थिए । 

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा द्विपक्षीय र पारम्परिक सीमानाका क्रमशः खोल्दै जाने, ल्हासा–काठमाडौं उडान सञ्चालन गर्नेलगायत सीमा जोड्ने सडक मर्मत, सीमापार विद्युत् प्रसारणलाइन निर्माण, सुरक्षालगायतका विषयमा छलफल भएको थियो । 

नेपाल–चीन सीमाको संयुक्त निरीक्षण गर्ने सहमति भएको थियो । यसैगरी, चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र नेपालको गृह मन्त्रालयबीच तीन तहमा सीमा सम्पर्क प्रणाली स्थापना गर्ने प्रोटोकलमा छलफल गर्ने भनिएको थियो । चीनको सीमा सुरक्षा हेर्ने प्रहरी र नेपालको सशस्त्र प्रहरीबीच सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि र नेपाली सुरक्षाकर्मीलाई चीनले तालिम दिने विषयमा पनि त्यसवेला छलफल भएको थियो । 

पारस्परिक कानुनी सहायतासम्बन्धी चीन–नेपाल सन्धि अनुमोदन, नेपालमा रहेका चिनियाँ ठेकेदार र कामदारको सुरक्षाका विषयमा पनि छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले यी सहमति कार्यान्वयनका विषयमा छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्रीको चीन भ्रमणमा केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार ऊर्जा प्रसारणलाइन निर्माणसम्बन्धी सहमति भएको थियो । नेपालका उत्तरी सीमावर्ती गाउँमा नेपालको लगानीमा तिब्बतबाट ग्रिड ऊर्जा आपूर्तिमार्फत विद्युतीकरण गर्ने सहमति भएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर