नेभिगेसन मेनु

महराको बयान सकियो
सम्पादक:南亚网络电视
समय:2024-03-22 13:36

maharaa

सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएका छन् । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले महराको बयान सकिएको अनलाइनखबरलाई बताए ।

‘सरकारी वकिल कार्यालय र सीआईबी दुबैतर्फबाट बयान तथा सोधपुछका कामहरु सकिएका छन्,’ एसपी बोगटीले भने ।

कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो । उक्त म्याद बिहीबार सकिएको छ । आज शुक्रबार महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्ने सीआईबीले जनाएको छ ।

अदालतले समेत महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अस्पताल भर्ना गर्नु भन्ने आदेश दिएको थियो । अहिले पनि महरा बिरामी नै रहेकाले हाजिरी जमानीमा छाड्नुपर्ने महराका वकिलहरुले तर्क राखेका छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई कपिलवस्तुबाट गत सोमबार पक्राउ गरेर काठमाडौं ल्याएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनी बिरामी भएकाले नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

जाँचबुझ आयोगले सुन तस्करीमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँगको फोन सम्पर्क र अन्य परिस्थितिजन्य प्रमाण भेटिएको भन्दै महरामाथि कारबाही गर्न सफारिस गरेको थियो । १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आयोगले बुझाएको ४८५ पृष्ठ लामो प्रतिवेदन अहिले सीआईबीले अध्ययन गरिरहेको छ ।

यसअघि आयोगले २५ माघमा सिंहदरबारस्थित कार्यालयमा बोलाएर महरासँग बयान लिएको थियो । उक्त बयानका क्रममा समेत महराले दाओजिन वाङसँग आफ्नो सम्पर्क रहेको समेत स्वीकार गरेका थिए ।

त्यस्तै विद्युतीय चुरोट भेपमार्फत भएको ९ किलो सुन तस्करीमा समेत विमानस्थलका कर्मचारीलाई फोन गरेको विषय महराले स्वीकार गरेका थिए । भेपमार्फत भको सुन प्रकरणमा समेत महराले गत १५ असोजमा सीआईबीमा बयान दिएका थिए । दाओजिनसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्वीकारेका थिए ।

महराले वाङलाई आफूले फलफूल व्यापारीको रूपमा चिनेको र उनले भन्सारमा सामान रोकियो भनेपछि तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको तर सुन तस्करीबारे जानकारी नै नभएको बयान दिएका थिए ।

भेपमार्फत नै भएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले महराका छोरा राहुललाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी अहिले पुर्पक्षमा थुनामा छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर