काठमाडौँ — बर्लिन पर्खाल ढलेको केही साता बितिसकेको थियो । पूर्वी जर्मनीको साम्यवाद आफ्नै खुट्टामा ढल्दै थियो । जनताको शक्तिलाई कसैले छेक्न सक्ने अवस्था थिएन । १९८९ डिसेम्बर ५ को कुरा हो, ड्रेस्डेन सहरस्थित स्टासी (पूर्वी जर्मनीको गुप्तचर प्रहरी) मुख्यालयमा प्रदर्शनकारीले आक्रमण गरेसँगै प्रहरी आफैं असहाय देखिएको थियो ।
त्यसै क्रममा केही प्रदर्शनकारी बाटोपारि रहेको सोभियत संघको गुप्तचर संस्था केजीबी कार्यालय पुग्छन् । सुरक्षा चुनौतीको आकलनपछि मूल गेटका सुरक्षाकर्मीले कार्यालयमा रहेको समूहलाई बोलाउँछन् । लगत्तै समूहको नेतृत्व गर्दै आएका एक अधिकारी भन्छन्, ‘यो सम्पत्तिमा जबर्जस्ती घुस्ने प्रयास नगर्नु होला । हाम्रा साथीहरू हातहतियारले सुसज्जित छन् र आपत्कालीन अवस्थामा ती हतियार प्रयोग गर्ने अधिकार हामीलाई छ ।’
ती अधिकारीको भनाइ सुनेपछि प्रदर्शनकारी केजीबी कार्यालयबाट अन्यत्र लाग्छन् । तर समस्या टरिनसकेको निर्क्योलमा पुगेका केजीबीका ती अधिकारीले सहयोगका लागि रेड आर्मीको मुख्यालयमा फोन गरे । तर त्यसमा उनले पाएको जवाफ भने निकै अप्रत्याशित थियो, ‘मस्कोको आदेशबिना हामी केही गर्न सक्ने अवस्थामा छैनौं र मस्को शान्त छ ।’
सोभियत संघको सत्तामा थिए– मिखाइल गोर्भाचोभ । १९८९ नोभेम्बर ९ मा बर्लिन पर्खाल ढलेसँगै सोभियत संघले ‘स्याटेलाइट स्टेट’ गुमाउँदै मात्र थिएन, आफैं विघटनको संघारमा पुगेको थियो । त्यसका साथै, दुई जर्मनी एकीकरणको बाटोमा थिए । त्यतिबेला दुई देशमा विभाजित जर्मनीलाई छुट्याएको थियो– ‘बर्लिनको पर्खाल’ले । पूर्वी जर्मनीमा सोभियत संघ र पश्चिम जर्मनीमा अमेरिकी प्रभाव थियो ।
खासमा, त्यतिबेला आफ्नै समस्यामा रहेको मस्कोका लागि पूर्वी जर्मनीस्थित केजीबी कार्यालय प्राथमिकतामा पर्ने कुरै भएन । मस्कोबाट सहयोग नपाएपछि ती अधिकारीले कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात प्रदर्शनकारीको हात लाग्नुअघि नै नष्ट गरिदिएका थिए । ‘मस्को शान्त छ’ भन्ने वाक्यांशले भने ती अधिकारीलाई बेलाबेला पछ्याइरहन्छ । कारण, ती अधिकारी अहिले आफैं ‘मस्को’ भएका छन् । र ती हुन्, रुसी राट्रपति भ्लादिमिर पुटिन ।
सन् १९५२ अक्टोबर ७ मा रुस (तत्कालीन सोभियत संघ) को सेन्ट पिटर्सबर्गस्थित एक सामान्य परिवारमा जन्मिएका हुन्, पुटिन । त्यसताका युवाका लागि अनिवार्य सैन्य तालिममा सहभागी भएका पुटिन १९७५ मा रुसी गुप्तचर विभाग केजीबी (राष्ट्रिय सुरक्षा समिति) मा प्रवेश गरे ।
पूर्वी जर्मनीको ड्रेस्डेन सहरमा उनले दोभाषेको परिचयमा १९८५ देखि १९९० सम्म सोभियत संघको जासुसका रूपमा काम गरेका थिए । डेढ दशकभन्दा लामो गुप्तचर सेवाका क्रममा पुटिनले विभिन्न देशको भ्रमण गरे । तर पूर्वी जर्मनीको पाँचवर्षे कार्यकाल भने उनको राजनीतिक भविष्यका लागि निकै महत्त्वपूर्ण सावित भयो । त्यसको मुख्य कारण हो, उच्च अधिकारीसँगको नियमित सम्पर्क । त्यतिबेला नै हो, पुटिनले सत्ता, शक्ति र रणनीतिबारे सिक्न र अभ्यास गर्न पाएको । सोभियत संघको विघटन भएसँगै अर्मेनिया, अजेरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, कजखस्तान, किर्गिस्तान, लात्भिया, लिथुवानिया, मोल्दोभा, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेन र उज्बेकिस्तान गरी १५ वटा स्वतन्त्र राज्य बने । अराजनीतिक पहुँच, प्रभाव र भूगोलका आधारमा सबैभन्दा ठूलो देश बन्यो रुस ।
खासमा, पुटिनको राजनीतिक करिअर भने त्यसपछि सुरु भएको हो । रुसको लेनिनगार्ड विश्वविद्यालयको बाह्य सम्बन्ध विस्तारको जिम्मेवारीका लागि उनले १९९१ मा केजीबीको लेफ्टिनेन्ट कर्नेल पदबाट अवकाश लिए । तर त्यसको केही समयमै उनी सेन्ट पिटर्सबर्गका पहिलो जननिर्वाचित मेयर सोब्चकको सल्लाहकार बने । १९९४ मा सहरको उपमेयर बनेका पुटिन दुई वर्षपछि मस्को पुगे ।
सेन्टपिटर्सबर्गमा भ्रष्टाचार र अव्यवस्था अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण चर्चामा आएका पुटिन रुसी राष्ट्रपति कार्यालयम क्रेमलिनको उपप्रमुख प्रशासक भएर काम गरे । सोभियत संघको विघटनसँगै मिखाइल गोर्बाचोभले राजीनामा दिएपछि सत्तामा थिए– बोरिस यल्तसिन । यल्तसिनले पुटिनलाई १९९८ मा संघीय सुरक्षा सेवा (एफएसबी) को निर्देशक बनाए । त्यतिबेला रुसमा एक प्रकारको भद्रगोलको अवस्था थियो । पश्चिमाहरूले भद्दा मजाक उडाइरहेको रुसले कठोर तर इमान्दार शासकको खोजी गरिरहेको थियो । भ्रष्टाचार कम गर्ने मिसनका साथ यल्तसिनले पुटिनलाई १९९९ मा प्रधानमन्त्री पदमा नियुक्त गरे । १९९९ डिसेम्बर ३१ मा यल्तसिनले अप्रत्याशित रूपमा राजीनामा दिएपछि पुटिन चार महिना कार्यवाहक राष्ट्रपति बने ।
पुटिनको राष्ट्रपतीय कार्यकालको सुरुआत नै चेचेन्यासँगको द्वन्द्वबाट भएको हो । व्यवस्थित सैन्य कारबाहीसँगै चेचेन्या विद्रोहीलाई तह लगाएपछि भने उनी रुसभर छाए । आक्रमणका क्रममा पुटिन २००० मार्चमा चेचेन्यामाथि एक युद्धक विमानमा उडेका थिए । सोही महिना भएको निर्वाचनमा पुटिन पहिलो पटक रुसी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
२००० मे ७ देखि लगातार दुई कार्यकाल राष्ट्रपति भएका पुटिन कानुनी प्रावधानका कारण पदबाट बाहिरिएका थिए । तर सत्ताको नियन्त्रण कायमै राख्ने रणनीतिअनुसार उनले २००८ मा आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपतिमा निर्वाचित गराई प्रधानमन्त्री भए । त्यसको चार वर्ष पुटिनको ‘रबर स्ट्याम्प’ राष्ट्रपति रहेका मेदभेदेभको कार्यकालमा राष्ट्रपतिको पदावधि बढाएर ६ वर्ष पुर्याइएको थियो । २०१२ मा तेस्रो पटक राष्ट्रपति बनेका पुटिन २०१८ मा चौथो पटक निर्वाचित भएका थिए ।
२०१८ मा अन्तिम ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका पुटिनले २०२१ मा नयाँ कानुनमार्फत थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गरेका थिए । ७१ वर्षीय पुटिन कानुनतः अझै दुई कार्यकाल (१२ वर्षसम्म) राष्ट्रपति हुन पाउनेछन् ।
राष्ट्रपति पुटिनले २०१९ को डिसेम्बर १९ मा पत्रकार सम्मेलन गर्दै संविधानमा आवश्यक संशोधन गर्ने घोषणा गरेका थिए । जसअनुसार उनले संसद्बाट आफू अनुकूलको संविधान संशोधन प्रस्ताव पारित गराएका थिए । संसद्बाट स्वीकृत प्रस्तावमाथि उनले २०२० मा जनमतसंग्रह समेत गराएका थिए । रुसी केन्द्रीय निर्वाचन आयोगका अनुसार ‘संवैधानिक सुधार जनमतसंग्रह’मा ६५ प्रतिशत मतदाताले भाग लिएका र पुटिनको प्रस्तावको पक्षमा ७७.९२ प्रतिशत मत खसेको थियो । यद्यपि, अधिकांश अन्तर्राष्ट्रिय पर्यवेक्षकले उक्त जनमतसंग्रहको नतिजामाथि प्रश्न उठाएका थिए । उनीहरूले मतदातालाई डर–त्रासमा पारिएको, एउटै मतदाताले पटक–पटक मत दिएको र मतदान प्रभावित गर्न सुरक्षाकर्मीलाई परिचालन गरिएको दाबी गरेका थिए ।
राष्ट्रपतिको पहिलो कार्यकालमै सञ्चार माध्यम, इन्धन व्यापारीमाथि नियन्त्रण कायम गर्दै कुलीनतन्त्रको विरोधमा उत्रिएपछि पुटिनसँग शक्ति र पैसा सबैमा पहुँच छ । पछिल्लो समय पुटिन आफ्ना हरेक क्रियाकलापलाई सरकारी निर्णय र कानुनी प्रक्रियाको खोल ओढाइदिन सक्षम देखिन्छन् । उदारवादी सोचको प्रविधितन्त्र र राजनीतिलाई अर्थतन्त्र जिम्मा लगाउनु भनेको केजीबीका पूर्वअधिकारीलाई आँखा चिम्लेर विश्वास गर्नुसरह भएको पुटिन बताउने गर्छन् । त्यसका साथै, ‘पुटिन नभए रुस रहन्न’ भन्ने समर्थकको दाबी ठीक रहेकामा जनतालाई आश्वस्त पार्न पनि सफल देखिन्छन् उनी । आवश्यक परेको खण्डमा दमन र सैनिक शक्तिमार्फत आफ्नो शक्ति सुदृढ गर्छन् उनी ।
उमेरले सात दशक नाघिसेकका पुटिन तन्दुरुस्त छन् ।कहिले साइबेरियाको चिसो तालमा नुहाउँदै गरिरहेका वा माछा मारिरहेका देखिने पुटिनका लागि जंगलमा सिकार गर्नु, घोडा दौडाउनु, आइस हक्की तथा जुडो खेल्नु, लडाकु विमान उडाउनु, पन्डुब्बी चलाउनु, हेभी गाडी कुदाउनु सामान्य हो । अचुक निसानेबाज पुटिन कुकुर र घडीका पनि सौखिन छन् । ५ फिट ७ इन्च उचाइका पुटिन फेसनप्रति निकै सचेत छन् ।
चेचेन विद्रोह दबाएका पुटिनले क्राइमियालाई रुसमा गाभे । लेबनानमा आक्रमण मात्र होइन, सिरियामा सैन्य हस्तक्षेप पनि गरे । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउन चुनावमा साँठगाँठ गरेका समाचारहरू पनि बाहिरिए । अमेरिकी गुप्तचर संस्थाले त चुनावमा साँठगाँठ गरिएको निष्कर्ष समेत निकालेको थियो । पछिल्लो समय युक्रेनमाथिको आक्रमण त छँदै छ ।
नेतृत्व कमजोर हुँदा देशले सामना गर्नुपर्ने समस्याबारे राम्ररी बुझेका पुटिन शक्तिका लागि कसैसँग सम्झौता गर्न जान्दैनन् । पुटिनको यही बानीलाई भने अमेरिका लगायतका पश्चिमा देशहरूले ‘अटेरी शासक’ को संज्ञा दिएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः विश्वकै एकमात्र शक्तिशाली तानाशाह हुन् । पश्चिमाहरू रूसलाई सोभियत संघको अवयवका रूपमा हेर्छन् भने राष्ट्रपति पुटिनलाई स्टालिनपछिको सबैभन्दा शक्तिशाली शासकका रूपमा लिइन्छ । सन् १९९० को दशकमा रुसलाई अराजकताबाट निकालेर पुनः विश्व शक्तिका रूपमा स्थापित गर्न सकेकाले मात्र पुटिनले यो उपाधि पाएका हुन् ।
सार्वजनिक कार्यक्रममा भने पुटिनले अठारौं शताब्दीका रुसी सम्राट् ‘पिटर द ग्रेट’ को प्रशंसा गर्छन् । निर्मम र स्वेच्छाचारी शासक भए पनि पिटर द ग्रेट पश्चिमा सोच, विज्ञान र संस्कृतिका प्रशंसक थिए । पछिल्लो समय भने उनले युक्रेन युद्धलाई तीन शताब्दीअघि पिटरले देशको भूमि विस्तार गर्न लडेको युद्धसँग तुलना गरेका छन् । पिटरले बल्टिकबाट ब्ल्याक सीसम्मको भूभाग नियन्त्रण गर्ने क्रममा रुसले २१ वर्षसम्म ‘ग्रेट नर्द वार’ लडेको थियो । त्यसका साथै, पिटरले सेन्ट पिटर्सबर्गलाई युरोपको आँखीझ्यालका रूपमा विकसित गर्दै रुसलाई आधुनिक बनाउने प्रयत्न गरेका थिए । तर पुटिनको दमनकारी शासन र युक्रेन युद्धका कारण उक्त आँखीझ्याल बन्द गरिदिएको आलोचकहरू बताउँछन् ।
रुस–युक्रेन तनावबीच रुसमा राष्ट्रपतीय चुनाव हुँदै छ । खासगरी, पछिल्लो समय अमेरिका र उसका सहयोगी देशहरूसँग तनावग्रस्त सम्बन्ध रहेका बेला हुन लागेको चुनावलाई निकै महत्त्वका साथ हेरिएको छ । मार्च १५ देखि १७ सम्म हुने चुनावलाई युक्रेनमाथि आक्रमण गर्ने पुटिनको निर्णयको जनमतसंग्रहका रूपमा पनि हेरिएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेको फेब्रुअरी २४ दुई वर्ष पुगिसकेको छ । यस अवधिमा रुसले नियन्त्रणमा लिएका युक्रेनी भूभाग दोनेत्स्क, लुहान्स्क, जापोरिजा र खेर्सनका बासिन्दाले पनि पहिलो पटक रुसी राष्ट्रपतिका लागि मतदान गर्दै छन् ।
रुसमा राष्ट्रपतिका लागि १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउँछन् । तर जेलमा रहेका वा आपराधिक गतिविधिमा दोषी ठहर भएकालाई मतदान गर्न रोक लगाइएको छ । आगामी शुक्रबार सुरु हुने चुनावमा रुसभित्रका ११ करोड २३ लाख र अतिक्रमित युक्रेनी क्षेत्रका १९ लाख मतदाताले मतदान गर्न पाउने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने प्रावधान छ । यसअघि २०१८ मा भएको राष्ट्रपतीय चुनावमा ६७.५ प्रतिशत मतदान भएको थियो ।
राष्ट्रपति पदका लागि पुटिनसहित लियोनिड सुलुत्स्की, निकोलाई खारितोनोभ र भ्लादिस्लाभ दाभान्कोभ उम्मेदवार रहेको मस्को टाइम्सले उल्लेख गरेको छ । सुलुत्स्की लिबरल डेमोक्रेटिक पार्टी (एलडीपीआर), खारितोनोभ कम्युनिस्ट पार्टी र दाभान्कोभ न्यु पिपुल पार्टीका हुन् । पुटिन भने स्वतन्त्र उम्मेदवार हुन् । तर यी तीनै जना उम्मेदवार नाम मात्रका प्रतिद्वन्द्वी हुन् । यिनीहरू पुटिनलाई नै समर्थन गर्ने तर बाह्य विश्वका लागि देखाउन तयार पारिएका उम्मेदवार मानिन्छन् । किनकि, रुसको पुटिनराजमा राजनीतिक प्रतिपक्षका लागि कुनै स्थान छैन ।
यसको उदाहरण हुन्, एलेक्सी नाभाल्नी । रुसी प्रतिपक्ष दलका नेता तथा पुटिनका कट्टर आलोचक नाभाल्नीलाई २०२० अगस्टमा रहस्यमय ढंगले विष दिइएको थियो । त्यसलगत्तै जर्मनीमा उपचार गराएर स्वदेश फर्किएका नाभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी मुद्दा लगाइएको थियो । निलम्बन गरिएको सजायका सर्तहरू उल्लंघन गरेको आरोपमा उनलाई साढे तीन वर्ष जेल सजाय सुनाइएको थियो । त्यस्तै, २०२२ फेब्रुअरीमा उनीविरुद्ध राजनीतिक संगठनलाई दिएको ४७ लाख डमेरिकी डलर चोरेको आरोपमा मुद्दा लगाइएको थियो । ती मुद्दामा दोषी ठहर गर्दै अदालतले नाभाल्नीलाई पेनल कोलोनीमा ९ वर्षको सजायका लागि आदेश दियो । तर गत अगस्टमा उनको जेल सजाय बढाएर १९ वर्ष पुर्याइएको थियो ।
नाभाल्नीलाई गत डिसेम्बरमा मात्रै ठाउँ सारेर रुसकै कठोरमध्येको जेल साइबेरियास्थित आर्कटिक पेनल कोलोनीमा राखिएको थियो । २०२१ यता जेलमा रहेका नाभाल्नीको ४७ वर्षको उमेरमा गत फेब्रुअरी १६ मा जेलभित्रै रहस्यमय मृत्यु भएको थियो । समर्थकहरूले नाभाल्नीलाई झूटा अभियोग लगाइएका र ती राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन् । आफ्नो शासनविरुद्ध कडा रूपमा प्रस्तुत हुने र सत्तालाई खतरा महसुस हुने गतिविधि नियन्त्रणका लागि पुटिन जुनसुकै हदसम्म पनि जान सक्ने आलोचकहरूको भनाइ छ ।
कमजोर प्रतिस्पर्धी रहेको चुनावले वैधानिक रूपमा रुसी सत्ता २०३० सम्म पुटिनलाई सुम्पने निश्चित छ । विभिन्न सर्वेक्षणहरूले त पुटिन करिब ८० प्रतिशत जनमतसहित निर्वाचित हुने देखाएका छन् । तर अमेरिकालगायत पश्चिमा मुलुकका लागि भने रुसी राष्ट्रपतिमा पुटिनको निरन्तरता ‘खानु कि ओकल्नु’ जस्तै हो । खासगरी उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध देशका लागि पुटिन थप आक्रामक र निर्दयी हुने विश्लेषकहरू बताउँछन् ।
अमेरिकालगायतका पश्चिमा देशहरूले युक्रेनविरुद्धको युद्धका कारण रुसी अर्थतन्त्र समस्याग्रस्त हुने र त्यसको प्रत्यक्ष असर पुटिनमाथि पर्ने आकलन थियो । तर युद्धको असर अनुमान गरिएभन्दा फरक देखिएको छ । युद्ध अझै लम्बिँदै गएको खण्डमा रुस चीनसँग थप नजिकिँदै जाने चिन्ता पश्चिमा देशहरुलाई छ । जसका कारण उनीहरू रुस–युक्रेन युद्ध अन्त्यको पक्षमा देखिएका छन् । तर पुटिन भने आफ्नो अनुकूलतामा मात्रै युद्ध अन्त्य गर्न चाहन्छन् ।
अढाई दशकयता पुटिनका कारण व्यक्तिवादी अधिनायकवादी शासन विश्वका अन्य देश/समुदायमा पनि फैलिइरहेको छ । त्यस्ता शासकले लोकतन्त्रलाई नै नियन्त्रणमा लिएका छन् । टर्कीका रेसेप तैइप एर्दोगान, भेनेजुयलाका निकोलस मडुरो, बंगलादेशकी शेख हसिना मात्र होइन, विश्वकै ठूलो लोकतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताले पनि आफूहरूले जनताको चाहनाअनुसार विशेष अधिकार उपभोग गरेको दाबी गर्न थालेका छन् । यो एक अर्थमा उनीहरूले पुटिनराजबाट नै सिकेका हुन् ।
सोभियत संघको विघटनपछि विश्वभरका राजनीतिज्ञ र अर्थशास्त्रीले रुस विश्वमञ्चमा प्रभावशाली देशका रूपमा नरहने ठोकुवा नै गरेका थिए । त्यसका साथै, अमेरिकालाई चुनौती दिन सक्ने देश कुनै नहुने दाबी पनि थियो उनीहरूको । तर पुटिनले आफ्नो नेतृत्वमा रुसलाई फेरि उठाएनन् मात्र, अमेरिका र उसका सहयोगी देशका लागि मुख्य चुनौतीका रूपमा समेत उभ्याएका छन् ।