नेभिगेसन मेनु

हेइटीमा जेलबाट झन्डै चार हजार कैदी भगाइयो
सम्पादक:南亚网络电视
समय:2024-03-04 13:45

e723a4e0-d9cd-11ee-8f28-259790e80bba

सशस्त्र समूहहरूले हेइटीको राजधानी पोर्ट-अ-प्रिन्सस्थित प्रमुख जेलमाथि आक्रमण गरी थुप्रै कैदीलाई भगाएका छन्।

एकजना स्थानीय पत्रकारले बीबीसीलाई बताएअनुसार जेलमा राखिएका करिब चार हजार व्यक्तिमध्ये अधिकांशलाई भगाइएको पाइएको छ।

जेलबाट भगाइएकामध्ये सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भई सजाय काटिरहेका व्यक्तिहरू पनि रहेका छन्।

अमेरिकी देशमध्ये निकै विपन्न हेइटीमा पछिल्ला वर्षमा हिंसा बढ्दै गएको छ।

'हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै हत्या' हेइटी: यौन दुर्व्यवहारपछि अक्सफामलाई स्थायी प्रतिबन्ध बलियो पकड

प्रधानमन्त्री एरिअल हेनरीलाई पदबाट मुक्त गर्न चाहिरहेका समूहहरूले राजधानीको ८० प्रतिशत हिस्सामाथि नियन्त्रण कायम गरेका छन्।

पछिल्लो हिंसामा बिहीवारबाट वृद्धि भएको छ जब नैरोबी भ्रमणका क्रममा प्रधानमन्त्रीले केन्याली नेतृत्वको बहुराष्ट्रिय सुरक्षा फौज हेइटीमा परिचालन गर्नुपर्ने विषयमा छलफल गरे।

बार्बीक्यू उपनामले पनि चिनिने सशस्त्र समूहका नेता जिमी सेरेजिअरले प्रधानमन्त्रीलाई पद च्युत गर्नका लागि सङ्गठित हमला गरिने घोषणा गरेका छन्।

“प्रान्तीय नगरहरू र राजधानीमा सक्रिय रहेका हामी सबै सशस्त्र समूहहरू एकढिक्का भएका छौँ,” पूर्वप्रहरी अधिकारीसमेत रहेका उनले भने।

राजधानी पोर्ट-अ-प्रिन्समा गराइएका थुप्रै नरसंहारमा उनको संलग्नता रहेको ठानिन्छ।

गोली हानाहानका घटनामा चार प्रहरी अधिकारी मारिएका छन् भने पाँचजना घाइते भएका छन्।

हेइटीस्थित फ्रेन्च राजदूतावासले राजधानी र आसपासका क्षेत्रमा यात्रा नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ।

रातमा धावा

हेइटीको प्रहरीले जेलको सुरक्षा बढाउनका लागि सघाउन सेनालाई आग्रह गरेको पृष्ठभूमिमा शनिवार अबेर राति कारागार परिसरमाथि सशस्त्र समूहहरूले धावा बोले।

समाचार संस्था रोयटर्सका अनुसार आइतवार जेलका ढोकाहरू खुलै देखिए र त्यहाँ सुरक्षाकर्मी रहेको कुनै सङ्केत पाइएन।

विवरणमा जनाइएअनुसार भाग्ने क्रममा तीनजना कैदीको ज्यान गएको पाइएको छ।

राष्ट्रपति मोइजको हत्या अभियोगमा सजाय काटिरहेका पूर्वकोलम्बियाली सैनिकहरूसहित ९९ जना गोली हानाहानमा मारिन सक्ने आशङ्कामा नभागेको एक स्वयंसेवकले रोयर्टसका पत्रकारहरूलाई बताए।

मोइजको हत्यापश्चात्‌ हेइटीमा हिंसा बढ्दै गएको छ। उनको रिक्त स्थान पूर्ति भएको छैन र सन् २०१६ यता चुनावसमेत भएको छैन।

एउटा राजनीतिक सहमति अनुसार चुनाव हुने र फेब्रुअरी ७ सम्म प्रधानमन्त्री हेनरीले पद छोड्नुपर्ने कुरा थियो। तर त्यो भएन। हेनरी निर्वाचित प्रधानमन्त्री होइनन्।

संयुक्त राष्ट्रसङ्घले ज्यानुअरीमा बताएअनुसार गत वर्ष हेइटीको हिंसाबाट ८,४०० जनाभन्दा बढी व्यक्ति पीडित भएका थिए।

त्यसमा मृत्यु, घाइते र अपहरण लगायतका घटना थिए। उक्त सङ्ख्या सन् २०२२ को तुलनामा दोबरले बढी हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर