नेभिगेसन मेनु

आशा जगाउँदै महिला फुटबलर
सम्पादक:南亚网络电视
समय:2024-03-03 13:05

football_ZHxfkC5OPw

काठमाडौँ — ‘हामी धेरै नजिक त पुग्यौं तर भाग्य हाम्रो पक्षमा रहेन,’ साउदी अरेबियाको जेद्दामा भएको वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित भएपछि सावित्रा भण्डारीले शुक्रबार सामाजिक सञ्जालमा लेखेकी छन् । शुक्रबार राति भएको फाइनलमा नेपाल खाडी क्षेत्रकै सबैभन्दा बलियो टिम जोर्डनसँग टाइब्रेकरमा पराजित रह्यो । 

साउदी अरेबियाको जेद्दामा भएको वाफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलमा जोर्डनविरुद्ध पहिलो गोल गरेपछि नेपालका खेलाडी (नीलो) । तस्बिर सौजन्य : वाफ

वाफमा पहिलो पटक सहभागी नेपाल यही प्रतियोगिताबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि जित्ने यात्राको निकै नजिक त पुग्यो, तर सफल हुन भने सकेन । सावित्रा लेख्छिन्, ‘हामी फर्कनेछौं । अझ बलियो र राम्रो भएर ।’ भण्डारीले फाइनल खेल्न पाइनन् । त्यसअघि नै उनी फ्रान्स फर्किनुपर्‍यो । उनको अनुपस्थितिका बाबजुद पनि फाइनलमा नेपालको प्रदर्शन कमजोर थिएन । सविता रानाको गोलले खेलमा अग्रता पनि लिएको थियो । पछि गीता रानाको गोलले खेलमा फर्कन पनि सफल रह्यो ।

तर टाइब्रकेर भनेकै भाग्यको खेल थियो, त्यो नेपालको पक्षमा रहेन । यस सँगै नेपालको महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा हुन सकेन । सन् १९८६ देखि हो, नेपाली महिलाले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको । त्यसयता नेपालले विभिन्न प्रतियोगितामा गरी ११ पल्ट फाइनल खेलिसकेको छ । तर प्रत्येकपल्ट असफलता नै चुमेको छ । उपाधि जित्न नसकेपछि यसपल्ट पनि असफल रहेकै मानिनेछ । तर यसको दोष खेलाडी, प्रशिक्षक र टिमलाई जाने छैन ।

बरु नेपाली खेलाडीलाई बधाई दिनुपर्नेछ, अझ धेरै राम्रो गर्‍यौ भनेर स्याबासी दिनुपर्नेछ । यो प्रतियोगिताले फेरि एकपल्ट सावित गरेको छ, अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको सम्भावना अत्यधिक छ । समूह चरणमा नेपालले सबै तीनै खेल जितेको थियो, त्यो पनि सहजै । समूह चरणमा प्यालेस्टाइन, सिरिया र इराक नेपालसामु निरीह देखिए । सेमिफाइनलमा भने लेबनानले नेपाललाई गाह्रैगाह्रै पार्‍यो । अन्त्यमा नेपाल यस खेलमा पनि जितको पूर्ण हकदार थियो ।

सम्भवतः फाइनलमा पनि सावित्राले खेलेको भए, निर्णायक मोडमा प्रीति राई घाइते नभएको भए, अमृता जैसी पेनाल्टीमा नचुकेको भए, फाइनलको कथा बेग्लै हुने थियो । तर फुटबलमा ‘यदि’ र ‘तर’ भन्ने हुन्न । हाम्रा खेलाडीले सक्दो खेले र देशको इज्जत राखे । महिला फुटबल नै त्यस्तो विधा हो, जसमा टेकेर हामी एसियाकप खेल्ने आधार तयार पार्न सक्छौं । अनि विश्वकपकै पनि सपना बुन्न सक्छौं । त्यो तुरुन्तै हुने छैन । धैर्य र मिहिनेत धेरै चाहिनेछ । नेपाली टिमको प्रदर्शनलाई लिएर अहिले खाडी क्षेत्रमा व्यापक चर्चा छ, विशेषतः साउदी अरेबिया र जोर्डनमा । विश्व फुटबलमा महाशक्ति भएर आउने सपना बोकेको साउदी अरेबिया महिला फुटबलका लागि पनि विस्तारै खुल्दै छ । अहिलेको प्रतियोगिता नै साउदी भूमिमा भएको महिलाको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो, यो देश सबै क्षेत्रमा खुल्ने प्रयासमा छ ।

आजभोलि त्यहाँ महिलाको आफ्नै लिग चल्छ, साउदी वुमेन्स प्रिमियर लिग । साउदी चाहन्छ, कम्तीमा एसियाका राम्रा खेलाडीहरू त्यहाँका क्लबबाट खेलुन् । नेपाली टिमभित्रबाट आएका समाचारलाई आधार मान्ने हो भने साउदी क्लबहरू केही नेपाली खेलाडीलाई अनुबन्ध गर्न चाहन्छ । अहिले नै सावित्रा युरोपमा खेल्छिन् । गोलरक्षक कप्तान एन्जिला सुब्बासहित ६ खेलाडी भारतको महिला लिगमा खेल्छन् । खेल्छन् मात्र होइन, आफ्नो क्लबका लागि उपाधि नै जित्छन् ।

राम्रो मात्र खेल्न सक्नुपर्छ, विदेशमा व्यावसायिक सम्भावना प्रचुर छन् । अहिलेसम्म जतिले विदेशमा खेले, सबैले मन जितेकै छन् । महिला फुटबललाई लिएर सबैभन्दा ठूलो समस्या नेपालमै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएयता दुई वर्षको समयमा महिलाको एउटै घरेलु प्रतियोगिता गर्न सकेको छैन । अझ यसले चलिरहेको लिगलाई नै रोकेर बीचै सकिएको घोषणासमेत गर्‍यो ।

अझै पनि एन्फासँग महिला फुटबललाई लिएर ठोस कार्यक्रम छैन । यस्तोमा नेपाली महिला फुटबल भनेको त हिलोमा फुलेको कमल हो । नेपाली महिला फुटबल आफैंमा सुन्दर छ । यो जहाँ उम्रेको छ, त्यो भने हिलो नै छ । त्यसमा फोहोर मात्रै छ । अहिले नेपाली फुटबलका संघसंस्था भन्नु नै आरोपप्रत्यारोप, अनियमितता, असमक्षता र आफ्नो जिम्मेवारीबाट भाग्ने पदाधिकारीको समूह बनेको छ । त्यसैले नेपाली महिला फुटबलले अहिले तय गरेको यात्राको श्रेय एन्फालाई जाँदैन । जे जति भएका छन्, खेलाडी, प्रशिक्षक र तिनका सहयोगीको मिहिनेतले भएका छन् । अझ पनि सावित्राले दाबी गरे जस्तै खेलाडीले भनिरहेका छन्, ‘अझ अगाडि जानु छ, हामीलाई ।’ यस्तोमा अब नेपाली महिला फुटबललाई सहयोग नगरे कसलाई गर्ने त ? औपचारिक कुराकानीमै कप्तान एन्जिाले भनेकी छन्, ‘हाम्रो समस्या भनेकै खेल्न नपाउनु हो । खेल्न नपाएकै कारण कतिपय प्रतिभाशाली खेलाडी विस्थापित हुँदै छन् । हामीले खेल्ने प्रतियोगिता किन हुन्न ?’

फ्रेन्च लिगमा सावित्राको पहिलो गोल

त्यसैगरी, वाफ वुमन्स च्याम्पियनसिपमा राष्ट्रिय टिमको फाइनल खेल गुमाएकी नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा व्यक्तिगत पहिलो गोल गरेकी छन् । एन अभान्ट ग्वेंगाम्पबाट खेलिरहेकी भण्डारीले शनिबार राति लिलविरुद्ध उक्त गोल गरेकी हुन् । वैकल्पिक खेलाडीको रूपमा ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी भण्डारीले त्यसको ५ मिनेट अर्थात् इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरेकी थिइन् ।

सहयात्रीले विपक्षीबाट खोसेको बलमा पास पाएकी भण्डारीले काउन्टरमा गोल गरेकी थिइन् । त्यसैगरी उनले ८८ औं मिनेटमा पनि गोल गर्ने राम्रो अवसर बनाएकी थिइन्, तर त्यो गोलमा परिणत हुन भने सकेन । लिलविरुद्ध खेल २–० ले जितेपछि भण्डारीको क्लब ग्वेंगाम्प १६ खेलबाट १५ अंकसहित तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर