नेभिगेसन मेनु

चोयाको सामग्री बुन्ने सिप हस्तान्तरण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-02 12:31

Doko-Bunai-(3)

माघ १९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पुख्र्यौली पेसा संरक्षण गर्नुका साथै सिप हस्तान्तरण गर्न थालेको छ । गाउँपालिकाको वडा नं. ७ घराम्दीमा स्थनीय उत्पादनको प्रयोग गरेर सामग्री बनाउने सिप संरक्षण तथा हस्तान्तरणका लागि कार्यक्रम सुरु गरिएको छ । स्थानीय रूपमै पाइने बाँस तथा निगालोको चोयाबाट वातावरणमैत्री तबरले सामग्री उत्पादन गर्ने सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उक्त सिप संरक्षणका लागि पहल थालिएको छ । 

अन्नपूर्ण गाउँपालिका–७ का अध्यक्ष मइलन पुर्जा पुनले मौलिक र परम्परागत सिप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्य रहेको बताउनुभयो । मण्डली सामुदायिक सिकाइ केन्द्रमा युवालाई चोयाको सामग्री निर्माण तालिममार्फत सिप हस्तान्तरण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको अग्रसरता र मण्डली सामुदायिक सिकाइ केन्द्रको व्यवस्थापन तथा सहआयोजनामा भएको तालिमले सिप संरक्षण साथै हस्तान्तरणमा निकै महत्वपूर्ण टेवा पुगेको अनुभव भएको छ ।”

मण्डली सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष सम्झना पौडेलले ग्रामीण भेकमा हुने सिप लोप भएर जाने खतरा बढ्दो रहेकोले त्यस्ता सिपको संरक्षण गर्न यस पटक निगालोको चोयाबाट सामग्री बनाउने तालिम सुरु गरिएको बताउनुभयो । माघ १४ देखि सुरु भएको पाँच दिने तालिममा छ जना महिलासहित ३० जना सहभागी रहेको उहाँको भनाइ छ । ग्रामीण भेकमा प्रयोग हुने सामग्री तालिममा उत्पादन गर्ने प्रयास गरिएको छ । निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो, डाली, भकारी, नाम्लो, दाम्लो बनाउन सिकाएको पौडेलको भनाइ छ ।

रघुगङ्गा गाउँपालिका–७, चिमखोलाका अनिल पाइजा घराम्दी पुगेर प्रशिक्षण दिनुभएको हो । हाल म्याग्दी जिल्लामै रघुगङ्गा गाउँपालिका–७, चिमखोला बाँस तथा निगालोको चोयाबाट आकर्षक डोका बनाउने सिप भएको समूह निकै ठुलो छ । चोयाबाट निर्मित सामग्री वातावरणीय हिसाबले पनि निकै राम्रो हुने प्रशिक्षक पाइजाको भनाइ छ । चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउने हो भने सिप संरक्षण हुनुका साथै आम्दानी पनि गर्न सकिने प्रशिक्षक पाइजाको भनाइ छ । उहाँका अनुसार एउटा डोकोलाई एक हजारदेखि दुई हजार पाँच सय रुपियाँसम्म मूल्य पर्छ । समुदाय स्तरमा आयआर्जन वृद्धि, क्षमता, नेतृत्व विकास, परम्परागत मौलिक सिप र कलाको संरक्षणका गतिविधि गर्न सामुदायिक सिप विकास केन्द्र निकै फलदायी भएको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर