नेभिगेसन मेनु

पुरातात्त्विक सम्पदा मासिने खतरा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-09 12:54

dohoni-kot-ma-chada-gai

पुस २४ गते । कपिलवस्तु नगरपालिकाले पुरातात्त्विक स्थलमा छाडा चौपाया व्यवस्थापन गर्दा पुरातात्त्विक महत्त्वका सम्पदा मासिने खतरा उत्पन्न भएको छ । नगरपालिकाले दोहोनीकोटमा एक महिनादेखि छाडा चौपाया व्यवस्थापन गर्दै आएको छ । राजा शुद्धोधनको राजप्रासाद तथा भगवान् गौतम बुद्धको क्रीडास्थल तिलौराकोटसँग सम्बन्धित भएको उक्त क्षेत्रमा करिब दुई हजार गाई गोरु राखिएको छ । 

चारैतिरबाट पर्खालले लगाएर सुरक्षित राखिएको सो क्षेत्रमा पालिकाका १२ वडाका छाडा चौपाया जम्मा गरी राखिएको छ। जसका कारण माटोको माथिल्लो सतहमा रहेको सामग्रीमा क्षति पुगेको छ । गोबर र पिसाबले दुर्गन्ध फैलिएको छ । पानी जम्मा भएर प्रवेशद्वार नजिकै खाडल बनेको छ । सूचना दिने उद्देश्यले राखिएको साइन बोर्डको पाता फालिएको छ। 

कपिलवस्तु सङ्ग्रहालयकी प्रमुख शान्ति शर्माले पशुचौपाया हटाउन पुरातत्त्व विभागले पत्राचार गरेको बताउनुभयो। पालिकासँग समन्वय गरी स्थान खाली गराउन नेपाल प्रहरीलाई एक साताअगाडि पत्राचारसमेत भएको शर्माको भनाइ छ । यता नगरपालिकाका प्रशासन अधिकृत विनोद कुँवरका अनुसार नगरपालिकाको कार्यपालिका बैठकमा छलफल भएर छाडा पशुचौपायाको व्यवस्थापन गरिएको बताउनुभयो । पुरातात्त्विक संरचना नबिगार्ने गरी गाई गोरु राखिएको र केही समयपछि अन्यत्र सार्ने पालिकाले जनाएको छ ।  

दोहोनीकोटमा सन् २०१६ मा ‘जियो फिजिक्स’ गर्दा प्राचीन सहरको अवशेष देखिएको थियो। बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले २०७३ सालमा पहिलो पटक उत्खनन गरेको थियो । उत्खनन गर्दा भेटिएका प्रमाणले यहाँ इसापूर्व चार सय वर्षदेखि मानव बसोबास सुरु भएको पाइएको थियो । उत्खननका क्रममा माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिहरू फेला परेका थिए । जसको वैज्ञानिक परीक्षणका आधारले चार सय वर्षअघि मानिसको बसोबास भएको अनुमान गरिएको थियो ।

अहिले सो स्थानमा स्तूपाकार एक अग्लो ढिस्को रहेको छ। एउटा प्राचीन इनार पनि छ। स्तूपाकार ढिस्कोमा हिन्दु धर्मावलम्बीले हात्ती र समयमाई मन्दिर बनाई पूजाआजा गर्दै आएका छन् । उत्खनन गरिएको क्षेत्रलाई पुरिएको छ । लुम्बिनी तौलिहवा खण्ड अन्तर्गत तौलिहवादेखि तीन किलोमिटर पूर्व र लुम्बिनीबाट २० किलोमिटर पश्चिममा रहेको सो पुरातात्त्विक क्षेत्रलाई प्राचीन बौद्ध स्मारकका रूपमा परिचित रहेको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर