राष्ट्रिय सभामा नौ सिटका लागि १३ सिटको दाबी परेपछि सत्तागठबन्धनमा भागबन्डाको सकस भएको छ । शनिबार दिउँसोदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा लगातार सात घन्टासम्म बैठक बसेका नेताहरू सहमतिमा पुग्न नसकेपछि मध्यरातमा विनानिष्कर्ष उठेका हुन् । दिउँसो ४ बजेदेखि बैठक बसेका नेताहरू मध्यरात १२ बजे बालुवाटारबाट निस्किएका थिए ।
२१ फागुनदेखि राष्ट्रिय सभाका २० सांसद (१९ निर्वाचित र एक राष्ट्रपतिबाट मनोनीत)को पदावधि सकिँदै छ । राष्ट्रिय सभा अध्यक्षसहित एमालेका आठ, कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र एक गरी १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदै छ । सत्तारूढ दलहरूले एमालेका आठ र स्वतन्त्र एक गरी नौ सिटमा भागबन्डा गरेर यसअघि अफूले जितेका सिट आफैँले राख्ने निर्णय गरिसकेका छन् । तर, नौ सिटमा भागबन्डा जटिल बनेको छ ।
राष्ट्रिय सभामा २१ फागुनदेखि रिक्त हुने २० सिट
- गठबन्धन : १० (कांग्रेस ४, माओवादी ३, एकीकृत समाजवादी २ र जसपा १)
- एमाले : ८, स्वतन्त्र : १ र राष्ट्रपतिबाट मनोनीत : १
- ११ माघमा हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता
- यसअघि नै सत्तागठबन्धनमा आफ्ना सिटहरू यथावत् राखेर एमाले र स्वतन्त्र सांसदका सिट भागबन्डा गर्ने सहमति रहेको छ ।
स्रोतका अनुसार छलफलको सुरुवाती चरणमा नौ सिटमा कांग्रेसले सात सिट दाबी गरेको थियो । त्यस्तै, माओवादीले चार तथा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एक–एक सिट दाबी गरेका थिए । छलफलको उत्तरार्धतिर कांग्रेसले ६ र माओवादीले तीन सिट लिने गरी प्रस्ताव गरेपछि एकीकृत समाजवादीले असन्तुष्टि जनायो । उसले कम्तीमा एक सिट चाहिने दाबी गर्यो । कांग्रेस र माओवादीका लागि मात्रै बाँडफाँट गरेर प्रस्ताव आएपछि अध्यक्ष माधव नेपाल बैठक चल्दाचल्दै बाहिरिएका थिए ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति नजुटेपछि बैठक विनानिष्कर्ष टुंगिएको र आइतबार सहमति खोज्न प्रयास हुने जानकारी दिए । ‘दलहरूको आ–आफ्नो दाबी रह्यो । सिटमा कुरा मिलेन,’ उनले भने, ‘हाम्रो दाबीमा सहमत भइसकेको अवस्था भएन, थप छलफल गरेर टुंगोमा पुग्छौँ ।’ अध्यक्ष नेपालसँगै बैठकबाट बाहिरिएका उनका अनुसार त्यतिवेलासम्म तीन दल (कांग्रेस, माओवादी र जसपा)का नेताहरू छलफलमै थिए ।
बैठकमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनले गठबन्धन करिब सहमतिनजिक पुगेको दाबी गरे । आइतबार आ–आफ्नो दलमा छलफल गर्ने र गठबन्धनको बैठक बसेर टुंगो लगाउने बताए । ‘एकसरो संख्या र क्लस्टरको विषयमा छलफल भएको छ । आइतबार आ–आफ्नो दलमा छलफल गर्छौँ र गठबन्धनबाट अन्तिम रूप दिनेछौँ,’ उनले भने, ‘गठबन्धनबाट संख्या टुंगो लागेपछि दलहरूको बैठक बसेर उम्मेदवारको टुंगो लाग्नेछ ।’
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छलफल निष्कर्षमा नपुगे पनि धेरै विषय टुंगिएको दाबी गरे । ‘अत्यन्त सकारात्मक छलफल भएको छ । धेरैजसो विषय टुंग्याएका छौँ, आइतबार बिहान सबै टुंगिन्छ । यसबीचमा दलहरूबीच आन्तरिक छलफल पनि हुन्छ,’ उनले भने ।
नेताहरूका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उम्मेदवारको क्लस्टरको विषय भने टुंगिएको छ । बागमती र गण्डकीमा क्लस्टर टुंगिन बाँकी छ ।
राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस र माओवादीकै दाबी
सत्तागठबन्धनमा कसले कति सिट लिने भन्ने मात्रै होइन, राष्ट्रिय सभा अध्यक्ष कुन दलले लिने भन्ने दाबी पनि सुरु भइसकेको छ । रिक्त हुन लागेको राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस र माओवादीले दाबी गरेका छन् । सिट बाँडफाँटसँगै अध्यक्ष कसले लिने भन्ने पनि एकसाथ टुंग्याएर जाने दलहरूको कसरत छ ।
सर्यो कांग्रेस कार्यसम्पादन समिति बैठक
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न शनिबार डाकिएको कांग्रेस कार्यसम्पादन समितिको बैठक सरेको छ । दलहरूबीच सिटमै भागबन्डा नमिलेपछि कांग्रेसले बैठक आइतबारका लागि सारेको हो । बैठक दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
एकीकृत समाजवादीमा उम्मेदवार टुंग्याउने जिम्मा तीन नेतालाई
एकीकृत समाजवादीले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंग्याउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको छ । शनिबार सम्पन्न केन्द्रीय सचिवालयको ७१औँ बैठकले नेपाल, पाण्डे र भुसाललाई जिम्मेवारी दिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘पार्टीले कति सिट पाउँछ, कुन प्रदेशमा पाउँछ, कुन क्लस्टर पाउँछ, त्यसका निम्ति पार्टी अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सर्वाधिकार दिएको छ,’ उनले भने, ‘बैठकले केही गाइडलाइन दिएको छ, त्यसैअनुरूप नेताहरूले सत्तागठबन्धनको बैठकमा कुरा गर्नुहुन्छ ।’
गठबन्धनसँग प्रतिस्पर्धा गर्दा राष्ट्रिय सभामा एमाले तेस्रो दल बन्ने
सत्तारूढ गठबन्धन एकातिर र एमाले अर्कोतिर प्रतिस्पर्धामा उत्रिँदा मतदान हुन लागेका सबै सिटमा एमालेको हार सुनिश्चित देखिन्छ । एमालेले आफ्नो आठ सिटसमेत गुमाउनेछ । जसले एमालेलाई राष्ट्रिय सभामा पहिलो दलबाट तेस्रो दल बन्ने अवस्थामा पुर्याउनेछ । हाल एमाले १७ सिटसहित राष्ट्रिय सभामा पहिलो दल छ । आठ सिट गुमाउँदा नौ सिटमा खुम्चिन्छ । पहिलो स्थान माओवादीले लिनेछ । हाल १४ सिट रहेको माओवादीले एमालेका आठमध्येबाट दुईदेखि तीन सिट प्राप्त गर्नेछ । त्यस्तै, हाल १० सिटसहित दोस्रो स्थानमा रहेको कांग्रेस एमालेका आठमध्येबाट तीनदेखि चार सिट प्राप्त गरेर राष्ट्रिय सभाको दोस्रो ठूलो दल बन्नेछ । समग्रमा संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा)मा भने एमालेको स्थान दोस्रो दलकै हैसियतमा रहनेछ ।