मङ्सिर ५ गते । पहिलो पटक छोरा जन्माउने परिवारले तिहारका बेला भैलो खेल्न आउनेलाई खसी दिने परम्परा अनुसार यो वर्ष यस जिल्लाको असुरगाउँमा १४ वटा खसी काटेर प्रसादका रूपमा बाँडिएको छ ।
मेलौली नगरपालिका–९, असुरगाउँमा द्वितीया मेलाका दिन बाजागाजासहित छोरा जन्मेको घरमा भैलौ खेल्दै खसी मागेर छालाको भकुन्डो खेल्ने चलन छ । पहिलो पटक छोरा जन्माउनेले द्वितीयाका दिन प्रसादका रूपमा अनिवार्य खसी दिने परम्परा छ । स्थानीय भट्ट, लोहार र दमाई जातिको बसोबास रहेको असुर गाउँमा पहिलो छोरा जन्माउने परिवारले तिहारको भैलोमा खसी दिने परम्परा रहेको स्थानीय मुखिया वीरभद्र भट्टले बताउनुभयो ।
छोरा जन्माउने घरपरिवारको आँगनमा सबै जातिका मानिस भेला भएर बाजागाजा बजाउँदै आशिष् दिने र वर्षभरि गाउँमा बढी छोरा जन्मेको भए पनि कुनै जुठो नपरेको घरबाट यो वर्ष १४ वटा खसी सङ्कलन गरेर गाउँका दुई सय घरपरिवारलाई प्रसादका रूपमा बाँडिएको उहाँले बताउनुभयो ।
‘देऊ है ! भैलारुलाई भैलो
शिवलिङ्ग पूजा चढ् भैलो
काखीको बालो जिरौँ भैलो
पाण पुरुष, घरकी घरिना जिरौँ भैलौ !’
काखमा बसेको बालक, आमा र पुरुषको आयु बढोस् भन्ने कामना गर्दै माथि उल्लिखित शुभ आशिष् वचन दिँदै बाजा बजाएर भैलो भट्याउने चलन छ । भैलो खेल्दा भट्ट जातिले भट्याउने, दमाई जातिले बाजा बजाउने र लोहार जातिले छालाको भकुन्डो बनाउने चलन रहेको बताइन्छ ।
छोरा जन्मेको घरबाट सङ्कलन भएका खसी स्थानीय केदार मन्दिरको छेउमा छालाको भकुन्डो खेल्दै संयुक्त रूपमा काटेर गाउँलेलाई प्रसादका रूपमा बाँडिएको सामाजिक अगुवा महेशदत्त भट्टले बताउनुभयो ।
न्वारनका दिन खसी काट्ने आमचलन भए पनि असुरगाउँमा द्वितीयाका दिन खेलिने भैलोलाई खसी दिने परम्परा रहेको उहाँले बताउनुभयो । न्वारनका दिन गाउँका अगुवालाई मात्रै निम्ता दिने भए पनि भैलोमा सबै जातजाति तथा धनी गरिबलाई समान रूपमा प्रसाद बाँडिने संस्कृति छ ।
पहिलो छोरा जन्मेको घरले सोही वर्ष खसी दिन नसके अर्को वर्ष वा वर्षौंपछि पनि द्वितीयाका दिन खेलिने भैलोमा दिने व्यवस्था रहेको मुखिया वीरभद्रले बताउनुभयो । छोरा जन्मेकै वर्ष दिनमा नसक्ने परिवारले अर्को वर्ष खसी दिन सक्ने भएकाले कसैलाई करकाप नभएको उहाँले बताउनुभयो । छोरा जन्मे खसी खाने परम्परा ठिक नभएको बहस चले पनि चाडपर्वका बेला सिङ्गो असुरगाउँ एक भएर भैलो खेल्ने परम्पराले सांस्कृतिक एकताको सन्देश दिँदै आएको स्थानीय नारद भट्टले बताउनुभयो ।
भैलोमा खसी मागेर मन्दिरमा देउताका धामी काम्ने परम्परासमेत छ । गाउँबाट सङ्कलन भएका खसी कुनै एक समुदाय र जातिले मात्रै नभई प्रसादका रूपमा गाउँका प्रत्येक घरमा बाँडिने परम्परा छ ।