नेभिगेसन मेनु

विदेशी मुद्रा सञ्चिति तीन वर्षयताकै उच्च
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-11-11 14:08

dollor2022-10-09-07-44-42

विदेशी विनिमय सञ्चिति तीन वर्षयताकै उच्चतम अंकमा पुगेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी विनिमय सञ्चिति १२ अर्ब ३३ करोड डलर (१६ खर्ब ४३ अर्ब रुपैयाँ) पुगेको छ । 

आर्थिक वर्ष ०७७/७८ को पहिलो त्रैमासमा विदेशी मुद्रा सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर (१४ खर्ब ७० अर्ब रुपैयाँ) पुगेको थियो । त्यसपछिका लगातार आर्थिक वर्षहरूको सो अवधिमा विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा रह्यो । तर, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी विनिमय सञ्चिति तीन वर्षयताकै उच्च रहेको छ । अहिलेको सञ्चितिले १० महिना नौ दिनको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।  

विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा पुगेको समयमा हामीले पूर्वाधार निर्माण र भूकम्पपछिको पुनर्निर्माणमा सदुपयोग गर्नुपर्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनले भने, ‘विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि भएर सुविधाजनक स्थितिमा छ । यस्तो अवस्थामा पूर्वाधार निर्माण र भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने हो भने यो सुविधाको सदुपयोग गर्न सकिन्छ ।’ गत असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११ अर्ब ७१ करोड डलर (१५ खर्ब ३९ अर्ब रुपैयाँ) पुगेको थियो । 

बाह्य क्षेत्रमा सबै सूचक सकारात्मक

चालू आवको तीन महिनामा बाह्य क्षेत्रमा सबै सूचक सकारात्मक देखिएका छन् । विदेशी मुद्रा भित्रिने र बाहिरिनेबीचको अन्तर शोधनान्तर स्थितिमा ९९ अर्ब सात करोडले बचतमा पुगेको छ । पोहोर यही अवधिमा यस्तो स्थिति १२ अर्ब ४३ करोडले बचतमा थियो । लामो समय घाटामा रहेको चालू खाता क्रमशः बचतमा जान थालेको छ । तीन महिनामा यस्तो खाता ५९ अर्ब नौ करोडले बचतमा छ । पोहोर यो अवधिमा चालू खाता ३५ अर्ब २४ करोडले घाटामा थियो । 

सबैभन्दा चिन्ताजनक अवस्थामा रहेको प्रत्यक्ष विदेशी लगानी पनि बढ्न थालेको छ । विदेशी लगानी भित्रिने र लाभांश वा रोयल्टीका रूपमा बाहिरिने रकमबीचको अन्तरलाई सूचित गर्ने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ३७ करोड रुपैयाँले धनात्मक छ । पोहोर यो अवधिमा सात करोड ९६ लाख रुपैयाँले बचतमा थियो ।

चाडबाडकेन्द्रित व्यापारले आयातमा समेत वृद्धि भएको छ । ०८०/८१ को तीन महिनामा कुल वस्तु आयात १.७ प्रतिशतले वृद्घि भई चार खर्ब सात अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.२ प्रतिशतले कमी आएको थियो । तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युतीय उपकरण, लत्ताकपडालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ । तर, निर्यातमा भने सुधार हुन सकेको छैन । 

पछिल्लो तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले कमी आएको थियो । 

मासिक रेमिट्यान्स एक खर्ब नाघ्दै

मासिक रूपमा भित्रिने रेमिट्यान्स आप्रवाह एक खर्ब रुपैयाँ नाघ्न थालेको छ । असोजमा मात्र एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत साउनमा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो भने भदौमा एक खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ भित्रिएको थियो । तीन महिनाको अवधिमा तीन खर्ब ६५ अर्बको रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो । 

पछिल्लो दुई वर्षमा धेरै मानिस श्रम अवसरको खोजीमा बिदेसिँदाको परिणाम अहिले रेमिट्यान्स बढेको प्रवक्ता भट्टको भनाइ छ । उनले भने, ‘रेमिट्यान्समा उत्साहजनक वृद्धि भएको छ । दुई वर्षमा धेरै मानिस नेपाल बाहिर गएका छन् । अन्तर्राष्ट्रिय बजारमा श्रम शक्तिको माग बढ्दो छ । आगामी दिनमा पनि रेमिट्यान्स वृद्धि उत्साहजनक नै रहने अपेक्षा छ ।’

बैंकका अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख १३ हजार तीन सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार दुई सय ९७ पुगेको छ ।  

पर्यटनमा सुखद सन्देश

केन्द्रीय बैंकको तीन महिनाको तथ्यांकबाट पर्यटन क्षेत्रमा सुखद सन्देश प्रवाह भएको छ । सेवा खाताअन्तर्गतको भ्रमण आय ५१.३ प्रतिशतले बढेर १७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ११ अर्ब २४ करोड रुपैयाँ पुगेको थियो । तर, नेपालीले विदेश भ्रमणमा गएर हुने खर्च भने बढेको छ । यस्तो खर्च ७६.१ प्रतिशतले बढेर ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जसमा शिक्षातर्फ मात्रै ३२ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । 

मूल्यवृद्धि चुनौतीपूर्ण

बाह्य क्षेत्र र कर्जा विस्तारमा सुधार आए पनि मूल्यवृद्धि नियन्त्रण भने चुनौतीपूर्ण नै रहेको राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले बताए । केन्द्रीय बैंकका अनुसार असोज महिनामा उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो । पोहोरभन्दा मुद्रास्फीति घटेको भए पनि उपभोक्ताका लागि भने असह्य अवस्था हो । 

चाडपर्वमा चिनी, खाद्यान्नजस्ता आवश्यक वस्तुको आपूर्ति शृंखलामा आएको अवरोधले मुद्रास्फीति नियन्त्रण चुनौतीपूर्ण रहेको डा. भट्टको भनाइ छ । उनले भने, ‘आपूर्ति शृंखलाको व्यवस्थापन र बजार नियमनलाई सुदृढ बनाएर लैजानुपर्ने हुन्छ । अहिलेको मूल्यवृद्धि माग पक्षबाट नभई आपूर्ति पक्षबाट सिर्जित हो । आवश्यक वस्तुको कृत्रिम अभाव सिर्जना भइरहेका घटनाहरू बाहिर आइरहेका छन् । यसमा नियमन गर्न सकियो भने मूल्यवृद्धि पनि नियन्त्रण गर्न सकिन्छ ।’ असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

विदेशी मुद्रा सञ्चितिलाई सदुपयोग गर्नुपर्छ : डा. गुणाकर भट्ट, प्रवक्ता, नेपाल राष्ट्र बैंक

अहिलेको सकारात्मक सूचक भनेको बाह्य क्षेत्रमा सुधार र कर्जा विस्तार हो । तर, मूल्यवृद्धि चुनौतीपूर्ण छ । रेमिट्यान्समा उत्साहजनक वृद्धि भएको छ । दुई वर्षमा धेरै मानिस नेपालबाहिर गएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा श्रम शक्तिको माग बढ्दो छ । विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि भएर सुविधाजनक स्थितिमा छ । यस्तो अवस्थामा पूर्वाधार निर्माण र भूकम्पपछिको पुनः निर्माणलाई तीव्रता दिने हो भने यो सुविधाको सदुपयोग गर्न सकिन्छ । ब्याजदर पनि क्रमशः घट्दै गइरहेकाले बजार चलायमान हुने अवस्था बन्दै गइरहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर