इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभमा रहेको कृषि फार्मबाट उद्धार गरेर सुरक्षित स्थानमा राखिएका नेपाली विद्यार्थी । तस्बिर सौजन्य : नितिन भण्डारी
काठमाडौँ — ‘राति बस्दा मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ?’ तीन दिनदेखि लगातार इजरायलको त्रासदीमा बाँचिरहेका दाङका विपिन सुवेदीले आफ्नो भिडियो सार्वजनिक गर्दै भने, ‘आज (सोमबार) दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् । आज पनि त्यहीँ रात कटाउनपर्यो भने रातले नै लग्ने भयो हामीलाई । साथीहरूलाई पनि लग्यो । अब हामीलाई नलगोस् ।’
उनीसहित ५ जनाको टोली दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभमा थिए । आफूसँगै इजरायल गएका १० जना साथी मारिएको पुष्टि भएपछि उनीहरू निकै विक्षिप्त भइसकेका थिए । विपिन बसेको फार्मबाट करिब २० किलोमिटर टाढा अलुमिन किबुजमा १० जना मारिएका हुन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायबाट गएका ४९ जना विद्यार्थीका उनी टोली नेता हुन् । ‘१० जना साथी गुमाइसक्यौं । अझै आफू पनि गुम्छौं कि भन्ने डर छ,’ उनले भने, ‘राति मिसाइल पर्दा बंकर थरर हल्लिन्छ । १० जना साथीको त्यो चिच्चाहट, उनीहरूले गरेको हारगुहार याद आइरहेको छ । रातभर निद्रा लाग्दैन । यहाँ आएर राति हमलाकारीले साथीहरूलाई जस्तै हामीलाई पनि क्रूरतापूर्वक मार्यो भने ? बिन्ती छ– अब अझै पनि पर्खन सक्दैनौं ।’
उनीहरूलाई तेलअभिभस्थित नेपाली दूतावासले आइतबारदेखि नै उद्धार गर्न आउने आश्वासन दिएको थियो । त्यही आसमा विपिनसँगै बैतडीका प्रमोद भट्ट, सिन्धुलीका अनुप अधिकारी, कैलालीका विशाल पाण्डे र दाङका समर्पण आचार्य उद्धारको पखाईमा थिए । दूतावासको पहलपछि दिउँसो उद्धारका लागि सेनाको गाडी उनीहरू बसेको कृषि फार्ममा पुग्यो र सेदोत नेगेभको बेतकाम क्षेत्रमा लगेर राखियो । जहाँ उनीहरूभन्दा केही समयअघि मात्रै कञ्चनपुरका नितिन भण्डारीको समूहलाई पुर्याइएको थियो । भण्डारीको समूह सारसेरेट कृषि फार्ममा काम गर्थ्यो, जुन इजरायलको सबैभन्दा ठूलो कृषि फार्ममध्येमा पर्छ । भण्डारीसँग डडेलधुराका लोकेन्द्र विष्ट, बजुराका रमेशबहादुर कार्की, रौतहटका नीरञ्जन कुशहवा, रौतहटका विनोद शाह, कैलालीका उपेन्द्र जीसी, अरविनकुमार चौधरी, आवाज भट्टराई र रोहित नायक पुगेका थिए ।
‘हामी थाइल्यान्डका नागरिकसँगै ५० जना बसेका थियौं । हाम्रो सुपरभाइजरले काम गर्न सकिन्छ भन्दै थिए । हामी मानसिक रूपमा विक्षिप्त भइसकेका थियौं । कतिखेर के हुन्छ थाहा छैन,’ उनले भने, ‘दिउँसो खुला आकाश हुन्छ । मान्छे आएको देखिन्छ । राति चकमन्न हुन्छ, चम्चा खस्दा पनि आवाज आउँछ कि भन्ने डर लाग्छ । राति धेरै तनाव हुन्छ । जति सकिन्छ साथीहरू छिटो एक ठाउँमा बस्ने योजना थियो । बल्ल पूरा भयो ।’
विपिन र साथीहरू पुगेको केहीबेरमा बर्दियाका लुइस रिजालसहित ११ जनालाई पनि पुर्याइयो । उक्त टोलीमा तीन छात्रा थिए । यो टोलीमा दाङका नवीन घिमिरे, चितवनकी श्रेया तिवारी, दाङका बादल सुवेदी, गुल्मीकी मनीषा खनाल, पर्वतका नारायण भुसाल, कैलालीका गणेश साउद, विपना जोशी, ओमप्रकाश उपाध्याय, कञ्चनपुरका गणेश जोशी र सुर्खेतका प्रवीन बीसी थिए । ‘हामीलाई साथीहरू गुमाएको पीडा असाध्यै छ । सुरक्षित हुन्छ भन्ने तत्काल केही आशा जागेको छ,’ रिजालले भने, ‘नेपाल नपुग्दासम्म आफूहरू सुरक्षित भएको अनुभव गर्दैनौं । हामीलाई जतिसक्दो छिटो नेपाल पठाइदिने व्यवस्था गर्नुपर्छ ।’
यो टोलीमा नजिकै रहेको कृषि फार्मबाट चितवनकी विभुषा अधिकारी, कैलालीका रचना चौधरी, आशा मिश्र र सुष्मा रेग्मी पनि मिसिए । सेदोत नेगेभस्थित मिभ्टाहिममा रहेकी कल्पना जोशी, साधना बोहरा, शिलाकुमारी यादव आउन भने समय लाग्यो । यी चार जनासँगै कृषि वन विश्वविद्यालयका १५ जना नेपाली विद्यार्थी थिए । उनीहरू इजरायलको अर्को विश्वविद्यालयमार्फत फार्ममा खटिएका थिए । उनीहरूलाई लिन छुट्टै गाडी आउने भएपछि कल्पनाहरू सुदूरपश्चिमकै टोलीमा आए । ‘बितेको तीन दिनमा बंकरमा बस्दा खानाको मतलव भएन । बंकर चिसो हुँदो रहेछ । मृत्युको मुहानबाट निस्केको जस्तो अनुभूति भएको छ,’ कल्पनाले भनिन् ।
इजरायलका लागि नेपाली दूतावासले निकै जोखिम रहेको क्षेत्रबाट ३२ जना विद्यार्थीलाई बाहिर ल्याउन सफल भएको जनाएको छ । ‘इजरायलको अझ सुरक्षित रहेको स्थान रमाद नेगेभ भन्ने ठाउँमा राख्ने योजना छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले कान्तिपुरसँग भनिन्, ‘जोखिममा परेका सबै विद्यार्थीहरूलाई त्यहाँ नै राखिनेछ ।’ रमाद नेगेभ मरुभूमिको एउटा सहर हो । जहाँ हमासको प्रभाव छैन । गैरआवासीय नेपाली संघका अध्यक्ष श्रीकृष्ण भण्डारीले सुदूरपश्चिमका ३२ जना विद्यार्थीबाहेक रमत नेगेभका थप २३ जना विद्यार्थीहरूलाई उद्धार गरिएको बताए ।
२३ जनामा प्रज्वल कोइराला, रविन चन्द, रविन भट्टराई, रामु ठाकुर, टेकनारायण, सुदीप यदुवंशी, सुशान्त न्यौपाने, उन्से नेपाली, विष्णु काफ्ले, एन्जल कुमार, योदित ढकाल, अमन भण्डारी, मनोज भुजेल, महेश आचार्य, अनिशा गिरी, पूजाकुमारी विक, ऋषि गौतम, शोभा पासवान, प्रतिभा आचार्य, सुनिता आचार्य, दीपिका देवकोटा, आशा थापा र ममता सिन्जाली छन् । ‘५५ जना नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको छ । अब उच्च जोखिम क्षेत्रमा नेपाली छैनन्,’ भण्डारीले भने ।
विपिनले सबै साथीहरू जमन फार्ममा सुरक्षित रूपमा पुगेका बताए । ‘यो इजिप्ट बोर्डर रहेछ । अब नेपाल फर्काउनका लागि छिट्टै कदम चालियोस् भन्ने हामी सबैको आशा भरोसा र कामना छ,’ उनले भने । इजरायलमा हाल केयर गिभरसहित ४ हजार ५ सय नेपाली छन् । जसमा २ सय ६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विभिन्न कृषि फार्ममा रहेका छन् । यसमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिविबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।