नेभिगेसन मेनु

चन्द्रमामा ‘सुतेको सुत्यै’ भए विक्रम र प्रज्ञान
सम्पादक:南亚网络电视
समय:2023-09-24 18:17

ण

भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान ३ मा राखेर पठाएका विक्रम ल्यान्डर प्रज्ञान रोभर सम्पर्कविहीन भएका छन्।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का अनुसार सेप्टेम्बर २ देखि विक्रम र प्रज्ञानलाई ‘स्लिप मोड’ मा राखिएको थियो।

चन्द्रमामा रात परेपछि इसरोले विक्रम र प्रज्ञानको ऊर्जा बचत गर्न स्लिप मोडमा पठाएको थियो। रातभरि ऊर्जा जोगाएर फेरि सूर्योदय भएपछि उनीहरूलाई जगाएर काममा खटाउने इसरोको योजना थियो।  अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार चन्द्रमामा एक दिन पृथ्वीको लगभग साढे २९ दिनजति लामो हुन्छ। रात पनि त्यति नै लामो हुन्छ।

सेप्टेम्बर २२ मा इसरोले सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै विक्रम र प्रज्ञानलाई जगाउन पठाएको सन्देशको जवाफ नआएको जानकारी दिएको छ।

‘अहिलेसम्म उनीहरूबाट कुनै संकेत प्राप्त भएको छैन। सम्पर्कको प्रयास जारी रहनेछ,’ इसरोले भनेको छ।

भारतीय सञ्चारमाध्यम लाइभमिन्टका अनुसार इसरोले अक्टोबर ६ सम्म विक्रम र प्रज्ञानसँग सम्पर्कको प्रयास जारी राख्नेछ।

द न्युयोर्क टाइम्सका अनुसार चन्द्रमाको रात धेरै चिसो हुने भएकाले स्लिप मोडमा राखिएका विक्रम र प्रज्ञानमा समस्या आएको हुनसक्छ।

चन्द्रमामा राति तापक्रम माइनस १०० डिग्री सेल्सियसभन्दा तल झर्छ। न्युयोर्क टाइम्सका अनुसार विक्रम र प्रज्ञानका पाटपुर्जा त्यति चिसोमा चल्ने गरी डिजाइन गरिएको थिएन।  चन्द्रयान-३ मिसन कम खर्चमा गरिएकाले विक्रम र प्रज्ञानमा हिटर राख्ने वा त्यति चिसोमा चल्ने पाटपुर्जा जोडिएको थिएन।

गत अगस्ट २३ मा नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेट भारतले पठाएको चन्द्रयान-३ को विक्रम नाम ल्यान्डर चन्द्रमाको सतहमा पुगेको थियो।

विक्रम चन्द्रमामा ल्यान्ड भएसँगै भारत चन्द्रमामा यान पठाउने संसारको चौथो मुलुक बनेको थियो भने चन्द्रमाको दक्षिण ध्रुवमा यान पठाउने पहिलो मुलुक बनेको थियो।

गत जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो।

चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग थिए।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो।

विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ।  प्रज्ञानको तौल २६ किलो छ।

सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो।

इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले २०१९ मा अवतरणका क्रममा भएका प्राविधिक गल्तीलाई यसपालि सच्याइएको बताएका थिए।

चन्द्रमामा भारत, कसले जित्ला अन्तरिक्ष प्रतिस्पर्धा

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले पठाएको चन्द्रयान-३ को विक्रम नामक ल्यान्डर अगस्ट २३ को साँझ चन्द्रमामा अवतरण भयो।

विक्रमले चन्द्रमामा गरेको अवतरण टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। जसै ल्यान्डरले चन्द्रमाको सतह छोयो भारतभरि हर्षोल्लास मनाइयो!  

चन्द्रमामा विक्रमको अवतरणसँगै भारतले अन्तरिक्ष यात्रामा नयाँ इतिहास रच्यो। भारत चन्द्रमामा यान अवतरण गराउने विश्वकै चौथो मुलुक बन्यो भने चन्द्रमाको दक्षिणी ध्रुवमा त सबैभन्दा पहिलो यान उसैले पठायो। 

यसअघि तत्कालीन सोभियत संघ, अमेरिका र चीनले मात्र चन्द्रमामा यान अवतरण गराएका थिए।

सन् १९५९ मा पहिलो पटक चन्द्रमामा यान पठाएको रूसले पछिल्लो समय चन्द्रमाका लागि लुना-२५ यान पठाएको थियो। भारतको चन्द्रयान-३ भन्दा केही दिनअघि नै चन्द्रमामा पुग्ने गरी उडेको रूसी यान गन्तव्यमा पुग्न सकेन। भारतको चन्द्रयानभन्दा केही दिन ढिला जमिनबाट उडेको लुना-२५ अगस्ट १९ मा दुर्घटनामा पर्‍यो।

उक्त दुर्घटनाले कुनै बेला पहिलो पटक चन्द्रमामा पुग्ने विरासत भएको रूस अहिले अन्तरिक्ष यात्रामा कमजोर भएको देखिन्छ। शीतयुद्धकालमा आर्थिक र अन्तरिक्ष विज्ञान लगायत प्रविधिमा सहयोग गरेको गरीब भारतभन्दा रूस पछि परेको छ।

चन्द्रयानको सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने पहिलो देश बनेको छ। द इकोनोमिस्ट पत्रिकाले चन्द्रयान-३ दक्षिणी ध्रुवबाट लगभग ६ सय किलोमिटर टाढा अवतरण भएको औंल्याएको छ। यो ठाउँ कुनै पनि देशले अहिलेसम्म यान अवतरण गरेको चन्द्रमाको सबैभन्दा दक्षिणी भाग हो।

अब कुरा गरौं, अन्तरिक्ष यात्राको इतिहासबारे।

आकाशमा देखिने सूर्य, चन्द्रमा, तारा, ग्रह र अरू चम्किला वस्तुले मानव जातिलाई सुरूदेखि नै लोभ्याउँथे। यातायातको विकास नभएको त्यो युगमा आफू बस्ने ठाउँकै अलिक पर समुद्रपारि वा हिमालपारि के छ भनेर नदेखेका मान्छे राति आकाश हेरेर गम्थे, रोमाञ्चित हुन्थे। तारा र चन्द्रमा खासमा कति टाढा छन् भनेर भेउ नपाएका उनीहरू चराझैं उड्न सक्ने भए चन्द्रमा छुन सकिन्थ्यो कि भनेर कल्पना गर्थे।

विस्तारै विज्ञानको विकास हुँदै गयो। अरू धेरै कुरासँगै मान्छेले चन्द्रमा र ताराहरू हामीबाट कति टाढा छन् भन्ने मेसो पाउन थाले। केही शताब्दी पहिलेका मान्छेलाई त्यति टाढाका चन्द्रमा र ताराहरूमा पुग्न असम्भव छ भन्ने लाग्थ्यो।

विज्ञानको विकाससँगै बीसौं शताब्दीमा भने मान्छेले चन्द्रमामा पुग्ने सपना देख्न थाल्यो।

अन्तरिक्ष युगको सुरूवात भने सैन्य क्षमताको विकासको क्रममा भएको हो।

दोस्रो विश्वयुद्धपछि अमेरिका र तत्कालीन सोभियत संघ सैन्य शक्ति आर्जन गर्ने होडमा लागे। विभिन्न बम र ती बम टाढा-टाढा खसाउनका लागि मिसाइलको विकास गर्न थाले।

मिसाइलमा प्रयोग हुने र अन्तरिक्ष यान प्रक्षेपण गर्न प्रयोग हुने रकेटको प्रविधि उस्तै हुन्छ। विध्वंशका लागि विकास भएको मिसाइल प्रविधिकै कारण अन्तरिक्ष यात्रा पनि सम्भव भएको हो।

अहिले अन्तरिक्ष अभियानलगायत प्राय: सबै क्षेत्रमा रूसभन्दा अमेरिका धेरै अघि भए पनि अन्तरिक्षको होडमा भने तत्कालीन सोभियत संघले सुरूमा अमेरिकालाई धेरै पछाडि पारेको थियो।

पुँजीवादी र साम्यवादी विचारधारामध्ये कुन राम्रो भन्ने होड चलिरहेको त्यो बेलामा कम्युनिष्ट सोभियत संघले पहिलो पटक अन्तरिक्षमा यान पठाएको देखेर अमेरिका तिलमिलाएको थियो।

४ अक्टोबर १९५७ मा सोभियत संघले स्पुतनिक यानलाई अन्तरिक्षमा पठाएको हो। रूसी भाषामा स्पुतनिकको अर्थ यात्री हुन्छ। नामअनुसार नै अन्तरिक्ष यात्राको पहिलो यात्री स्पुतनिक भयो।  

एक महिनापछि ३ नोभेम्बर १९५७ मा सोभियत संघले एउटा कुकुर राखेर स्पुतनिक- २ पृथ्वीको कक्षमा प्रक्षेपण गर्‍यो। लाइका नाम गरेको त्यो कुकुर अन्तरिक्षमा प्रवेश गर्ने पहिलो प्राणी बन्यो।

३१ जनवरी १९५८ मा अमेरिकाले पनि एक्सप्लोरर-१ प्रक्षेपण गरेर अन्तरिक्ष होडमा औपचारिक रूपमा प्रवेश गर्‍यो। तर सोभियत संघ अमेरिकाभन्दा धेरै अघि बढिसकेको महसुस गरेर तत्कालीन अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावरले अन्तरिक्षसम्बन्धी काम गर्ने बेग्लै संस्था चाहिन्छ भन्ने ठाने। २९ जुलाई १९५८ मा अमेरिकी अन्तरिक्ष संस्था नासाको स्थापना भयो।

तर पनि अमेरिका सोभियत संघभन्दा पछाडि नै रह्यो। १२ सेप्टेम्बर १९५९ मा सोभियत संघले चन्द्रमाको सतहमा यान अवतरण गरायो। 

लुना-२ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने पहिलो यान बन्यो। चन्द्रमामा मात्र नभएर पृथ्वी बाहिरको ठाउँमा अवतरण गर्ने पहिलो मानवनिर्मित वस्तु बन्यो।

यसरी अमेरिकालाई पछि पार्दै सोभियत संघले अन्तरिक्ष र चन्द्रमामा लगालग कीर्तिमान बनाउन थालेपछि अमेरिकी सरकार दबाबमा पर्‍यो।

सन् १९६० को अमेरिकाको राष्ट्रपति निर्वाचनमा अन्तरिक्ष होड प्रमुख मुद्दा नै बन्यो। सोभियत संघसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै डेमोक्र्याटिक उम्मेदवार जोन एफ केनेडीले तत्कालीन उपराष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार रिचर्ड निक्सनको चर्को आलोचना गरे।

अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार चलिरहेकै बेला १९ अगस्ट १९६० मा सोभियत संघले बेल्का र स्ट्रेल्का नामका दुई वटा कुकुरसँगै एउटा खरायो, केही मुसा, झिङ्गा र वनस्पतिसहित  स्पुतनिक-५ प्रक्षेपण गर्‍यो। यी जनावरहरू अन्तरिक्षमा एक दिन बसेर सकुशल पृथ्वीमा फर्किए।

चुनाव जितेर केनेडी राष्ट्रपति बनेको १०० दिन पनि नबित्दै १२ अप्रिल १९६१ मा सोभियत संघले युरी गगारिनलाई अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बनायो। गगारिनले १०८ मिनेट अन्तरिक्ष यात्रा गर्दै पृथ्वीको फन्को मारे।

५ मे १९६१ मा अमेरिकाले पनि एलन सेपर्डलाई अन्तरिक्षमा पठायो। अन्तरिक्ष होडमा लगातार दोस्रो भएर आजित भएका लोकप्रिय राष्ट्रपति  केनेडीले २५ मे १९६१ मा अमेरिकी संसदमा भाषण गर्दै दशकको अन्त्य हुनुअघि नै चन्द्रमामा मान्छे पुर्‍याउने घोषणा गरे।

त्यसपछि अन्तरिक्ष यात्रामा अमेरिकाले पैसा खन्यायो।

१९६३ मा केनेडीको हत्या भयो। तर चन्द्रमामा पुग्ने उनको योजनामा काम रोकिएन। केनेडीले घोषणा गरेझैं सन् १९६० को दशक नसकिँदै २० जुलाई १९६९ मा अमेरिकाका निल आर्मस्ट्रङ चन्द्रमामा हिँड्ने पहिलो व्यक्ति बने।

सोभियत संघले पहिलो पटक चन्द्रमामा यान अवतरण गराएको १० वर्षमै अमेरिकाले चन्द्रमामा मानव पाइला राखेर अन्तरिक्ष होडमा उसलाई पछि पार्‍यो। 

सन् १९७२ सम्म त १२ जना अमेरिकी अन्तरिक्ष यात्री चन्द्रमामा पुगेर फर्किए। 

त्यसपछिका ५० वर्षमा भने कुनै पनि मुलुकले चन्द्रमामा मान्छे पठाएका छैनन्।

अमेरिका र तत्कालीन सोभियत संघको अन्तरिक्ष होडमा सहभागी मुख्य व्यक्तिहरूको कथा पनि रोचक छ। तत्कालीन सोभियत संघको युक्रेन प्रान्तमा जन्मेका सर्गेई कोरोलेभ सोभियत संघको अन्तरिक्ष होडमा सफलताका मुख्य सुत्रधार थिए।

उनले नै डिजाइन गरेको मिसाइलको प्रविधि प्रयोग गरेर सोभियत संघले अन्तरिक्षमा फड्को मारेको हो। पहिलो अन्तरिक्ष यान स्पुतनिकदेखि चन्द्रमामा पहिलो अवतरण गर्ने लुना-२ सबैमा उनकै सबैभन्दा ठूलो भूमिका थियो।

कतिपयले त सन् १९६६ मा ५९ वर्षको उमेरमै उनको निधन भएकाले मात्र अमेरिका चन्द्रमामा मान्छे पठाउने पहिलो मुलुक बनेको ठान्छन्।

अति शंकालु र गोप्य कम्युनिस्ट शासकले कोरोलेभलाई आफ्नै जनताबाट पनि लुकाएको थियो। उसै पनि तानाशाही शासनमा शासकबाहेक अरू कसैको पनि धेरै तारिफ गरिन्न। उनको मृत्युपछि मात्र सोभियत जनताले उनीबारे थाहा पाउन थाले। उनको मृत्युको तीन दशक पछि नासाका पूर्वकार्यकारी निर्देशक जेम्स हार्फोर्डले कोरोलेभको जीवनी लेखेका छन्।

त्यसअनुसार स्टालिन शासनका बेला सन् १९४१ मा कारबाहीमा परेर कोरोलेभ साइबेरियाको गुलागमा थिए। दोस्रो विश्वयुद्ध चलिरहेको सो समयमा एउटा प्रविधिमा दक्षहरूको शिविरमा उनको क्षमता देखेपछि उनको प्रतिभाको प्रयोग गर्न थालियो। उनले  सोभियत युद्ध प्रयासमा योगदान दिए र १९४४ मा रिहा भए। उनको आपराधिक रेकर्ड हटाइयो। 

युद्धपछि उनी लामो दूरीको मिसाइल बनाउने स्पेसल डिजाइन ब्युरो १ को प्रमुख डिजाइनर बने। दोस्रो विश्वयुद्धको अन्तिम दिनहरूमा कब्जा गरेका जर्मन रकेट विशेषज्ञहरूको प्रयोग गरेर उनले रकेटहरू डिजाइन गरे। उनले र उनका सहकर्मीले १९५० को दशकमा रकेटहरूको विकास गर्दै आर-७ भन्ने संसारको पहिलो अन्तरमहादेशीय बलिस्टिक मिसाइल बनाए। त्यही रकेटमा केही परिवर्तन गरेर सोभियत संघले अन्तरिक्ष होडमा अग्रता हासिल गर्‍यो।

अमेरिकी अन्तरिक्ष कार्यक्रमका मुख्य वैज्ञानिक वेर्नहर भन ब्राउनको भने कालो इतिहास थियो।

द इकोनोमिस्टले लेखेअनुसार उनी नाजी जर्मनीका लागि काम गर्थे। उनले श्रम शिविरमा दासहरूको प्रयोग गरेर बनाएका रकेटहरूले नाजी जर्मनीले लन्डनमा दोस्रो विश्वयुद्धताका बमबारी गरेको थियो। युद्ध सकिएपछि अमेरिकीहरूले भन ब्राउनलाई जर्मनीबाट सुटुक्क लगे र उनको नाजी विगतका रेकर्ड लुकाए।

कोरोलेभको जस्तै भन ब्राउनको विगतबारे पनि उनको मृत्यु पछि मात्रै थाहा भयो।

सन् १९७० को दशकसम्म अन्तरिक्ष होडमा रहेका अमेरिका र सोभियत संघ बिस्तारै अन्तरिक्षका मामिलामा सहकार्य गर्न थाले। सन् १९९८ मा त इन्टरनेसनल स्पेस स्टेशन (आइएसएस) बनाउन थाले। अरू १३ राष्ट्रहरूसँग मिलेर अमेरिका र अहिलेको रूसले बनाएको आइएसएस अन्तरिक्षमा सबैभन्दा ठूलो संरचना हो। गत वर्ष रूसले युक्रेनमा आक्रमण गरेपछि रूस र पश्चिमा राष्ट्रको सम्बन्ध चिसिए पनि आइएसएस चलाउन सहकार्य गरिरहेका छन्।

सन् १९७० को मध्यतिरबाट मत्थर भएको अन्तरिक्ष होड पछिल्ला केही वर्षमा फेरि सुरू भएको छ। यो दोस्रो चरणको होडमा भने अमेरिकाको मुख्य प्रतिद्वन्द्वी चीन छ। चीनले सन् २०१३ मा चन्द्रमामा यान अवतरण गराइसकेको छ। त्यसको ६ वर्षपछि चीन चन्द्रमाको अँध्यारो पाटोमा यान अवतरण गराउने पहिलो राष्ट्र बन्यो।

भर्खरै चन्द्रमामा पुगेको भारतले शनिबार मात्रै सूर्यको अवलोकन गर्न आदित्य-एल१ प्रक्षेपण गर्‍यो। तर अन्तरिक्ष यात्रामा भारत अमेरिका र चीनभन्दा धेरै पछि छ। चीनले यो होडमा आफूलाई जित्ला भनेर डराएको अमेरिकाले फेरि चन्द्रमामा मान्छे पठाउन ठूलो लगानी गरेर आर्टेमिस कार्यक्रम सुरू गरिसकेको छ। २०२४ मा चन्द्रमामा मान्छे पठाउने आर्टेमिस २ मिसनका लागि ४ अन्तरिक्ष यात्रीको छनौट पनि गरिसकेको छ। अहिलेसम्म चन्द्रमामा पुगेका सबै १२ जना गोरा पुरूष थिए। आर्टेमिस-२ का लागि अमेरिकाका एक महिला र एक अश्वेत पुरूष छनौट गरिएको छ।

पहिलेका मिसनमा प्रयोग भएकाभन्दा शक्तिशाली रकेट प्रयोग हुने आर्टेमिस प्रोग्रामलाई अमेरिकाले मंगल ग्रहमा मान्छे पठाउने तयारीको रूपमा लिएको छ।  

तर मंगल ग्रहमा पुग्नु धेरै गाह्रो हुनेछ। मंगल ग्रह चन्द्रमाभन्दा सयौं गुणा टाढा छ र रातो ग्रहमा पुगेर फर्कन महिनौं लाग्नेछ।

मंगल ग्रहमा सुरक्षित अवतरण गराएर, महिनौं अन्तरिक्षमा मान्छेलाई राखेर सुरक्षित रूपमा घर फर्काउनु चुनौतीपूर्ण हुनेछ।

मंगल ग्रहमा मान्छे हिँडाउन को पहिले सफल हुनेछ भन्ने कुराले अमेरिका र चीनको अहिलेको नयाँ अन्तरिक्ष होड कसले जित्यो भनेर टुङ्गो लगाउने छ।

देशहरूबीच मात्र नभएर अर्बपतिहरूबीच पनि अहिले समानान्तर अन्तरिक्ष होड चलिरहेको छ। अमेरिकाले निजी कम्पनीलाई पनि अन्तरिक्षमा जान अनुमति दिए पछि संसारका सबैभन्दा धनी अर्बपतिहरू एलन मस्क र जेफ बेजोसको होड सुरू भएको छ।

मस्कको कम्पनी स्पेस एक्स र बेजोसको ब्लु ओरिजिन अहिले शक्तिशाली रकेट बनाउने र नासाको ठेक्का जित्ने होडमा छन्। पृथ्वीमा अथाह सम्पत्ति जोडेका दुबैको पृथ्वीबाहिर मानव बस्ती बसाउने धेरै मुस्किल लक्ष्य छ। मस्कले मंगल ग्रहमा मानव बस्ती बसाउने घोषणा गरेका छन् भने बेजोसले पृथ्वीको नजिकै तैरिरहेने कृत्रिम ट्युब-जस्तो संरचनामा बस्ती बसाउन चाहन्छन्। 

यत्रो धेरै खर्च गरेर विभिन्न देशहरूले अन्तरिक्ष कार्यक्रम किन चलाइरहेका छन्?

चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेपछि बिबिसी वर्ल्ड न्युजका प्रस्तोताले २०१९ मा चन्द्रयान-२ प्रक्षेपण गरेको बेला एक भारतीयलाई सोधेको प्रश्न सामाजिक सञ्जालमा भाइरल भएको थियो। ७० करोड भारतीयको शौचालयमा पहुँच पनि नभएको बेला चरम गरिबीमा रहेको भारतले अन्तरिक्ष मिसनमा त्यत्रो खर्च गर्नु कति जायज हो भन्ने खालको प्रश्न ती प्रस्तोताले सोधेका थिए।

चार वर्षअघि सोधिएको भए पनि त्यो प्रश्न अहिले पनि सान्दर्भिक छ। अमेरिकासँग अन्तरिक्ष होडका बेला तानाशाही कम्युनिष्ट व्यवस्था रहेको सोभियत संघमा यस्ता प्रश्न वर्जित हुन्थे। तर प्रजातान्त्रिक अमेरिकामा भने अनेक कोणबाट प्रश्न सोधिन्थे। सोभियत संघसँगको जुँगाको लडाइँका लागि खासै केही उपयोगिता नभएको अन्तरिक्ष होडमा पैसोको खोलो बगाउनु कतिलाई सही लाग्दैन थियो।

कौतुहल र कहिले नअघाउने ज्ञानको भोकले नै मानव जातिले यति प्रगति गरेको हो। तर कौतुहलताभन्दा बढी महंगो होडका रूपमा सुरू भएको खर्चिलो अन्तरिक्ष कार्यक्रम अहिले हेर्दा आर्थिक रूपमा पनि फाइदाजनक लगानी सावित भएका छन्।

भू-उपग्रहबिना अहिलेको आधुनिक प्रविधिको युग कल्पना पनि गर्न सकिँदैन। सञ्चारलगायत भू-उपग्रहको प्रयोग गर्ने प्रविधिले जीवन सजिलो मात्रै नबनाएर ‘राम्रो मौसम पूर्वानुमान’ हरेक वर्ष गरेर प्राकृतिक विपत्तिबाट लाखौं मान्छेको ज्यान बचाउँछ।

चन्द्रमा, मंगल अरू ग्रहको इतिहासको अध्यनले पृथ्वीको आफ्नै इतिहास बुझ्न पनि सजिलो भएको छ। ग्रह र अन्तरिक्षमा धेरै शक्तशाली दूरबिन पठाएर अहिले मान्छेले धेरै टाढाका तारा मण्डलबारे पनि अध्ययन गर्न सक्ने भएको छ। त्यहाँ जीवन छ कि छैन भनेर खोज्न सकिने भएको छ। ब्रम्हाण्ड सुरू हुनेबित्तिकैका घटनासमेत देख्न सक्ने भएको छ।

एस्टेरोइड वा पुच्छ्रेतारा पृथ्वीमा ठोक्किएर डायनोसर युगको समाप्त भएजस्तो प्रलय नहोस् भनेर अहिले वैज्ञानिकले निरन्तर निगरानी गर्छन्। कुनै पिण्ड ठोक्किनै लाग्यो भने त्यसलाई पृथ्वीबाट तर्काउने कोशिश गर्न सक्छन्। २६ सेप्टेम्बर २०२२ मा वैज्ञानिकहरूले डबल एस्टेरोइड रिडाइरेक्सन टेस्ट गर्दै पृथ्वीभन्दा झन्डै १ करोड १० लाख किलोमिटर टाढा रहेको एउटा पिण्डमा यानले ठक्कर दिएर त्यसको बाटो परिवर्तन गराए। यो प्रविधि विकास हुँदै गएर कुनै दिन साच्चै कुनै पिण्ड पृथ्वीमा ठोक्किन लाग्यो भने पृथ्वीलाई जोगाउन सकिनेछ।

सकिएन र प्रलय भयो भने वा जलवायु परिवर्तन वा अरू कुनै कारणले पृथ्वी मानव बस्न योग्य रहेन भने पनि संसारका धनाढ्यहरू मस्क र बेजोसले देखेको सपनाजस्तै अर्को ग्रहमा वा पृथ्वीको नजिकै तैरिरहेने कृत्रिम ट्युबमा मानव जातिको निरन्तरता हुन सक्नेछ

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर