नेभिगेसन मेनु

आयातमा सरकारी कडाइ,बिउ अभाव झेल्दै किसान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-03 13:10

Untitled-1 (2)

विराटनगर, असोज १६ गते  । मनसुन बाहिरिने समय नजिकिएसँगै वर्षा कम हुँदै गएपछि किसानले हिउँदे तरकारी र अन्य बालीका लागि जमिन तयार पार्न थालेका छन् । तराईमा छिटो तयार हुने जातको धान काट्न सुरु भइसकेको छ । धान निकालेपछि खेतमा किसानले हिउँदे तरकारी लगाउँछन् तर यस पटक किसानलाई तरकारी खेती गर्न समस्या हुने देखिएको छ । बजारमा तरकारीको बिउ अभाव भएकाले कसरी तरकारी खेती गर्ने भन्ने समस्यामा किसान परेका छन् । 

तराईमा उत्पादन हुने काउली र बन्दाकोभीको बिउको बजारमा पूर्ण अभाव देखिएको छ । नेपालमा विकास गरिएको काउली पहाडी क्षेत्रका लागि मात्र उपयुक्त रहेको र त्यसबाट तराईमा उत्पादन लिन सकिने अवस्था छैन । काउलीबाहेक तराईमा हिउँदे खेतीका रूपमा लगाइने मुला, रायो, चम्सुर, धनियाँ, पालक आदि जातका तरकारीको बिउ पनि बजारमा भेटिन छाडेको छ । किसानहरू बिउको खोजीमा दिनहुँ पसल चहार्दै हिँडिरहेका दीपिका कृषि केन्द्र विराटनगरका सञ्चालक हरि भट्टराईले बताउनुभयो । 

नेपालमा उत्पादन हुने केही जातका बिउ बजारमा उपलब्ध छन् तर किसानहरू हाइब्रिडमा बानी परेका कारण नेपाली बिउ प्रयोग गर्न रुचाउँदैनन् । कम उत्पादन दिने भएकाले किसानहरू हाइब्रिड बिउतर्फ आकर्षित छन् तर जेठयता भारतबाट तरकारीको बिउ आयात भइरहेको छैन । यसले गर्दा हिउँदे तरकारीको बिउको बजारमा अभाव देखिएको हो । 

नेपाल सरकारले बिउ उत्पादनमा आत्मनिर्भर बन्ने र नेपालमै बढी उत्पादन दिने गरी हाइब्रिड बिउ अनुसन्धान गर्ने भन्दै बिउ आयातमा एकीकृत प्रणाली लागु गरेको छ । सरकारले लागु गरेको एकीकृत प्रणालीको असर बजारमा देखिएको  हो । 

विगतमा राष्ट्रिय बिउबिजन केन्द्रमा दर्ता भएका कम्पनी तथा फर्महरूले एक प्रतिशत र दर्ता नभएका फर्महरूले पाँच प्रतिशत भन्सार महसुल तिरेर भारतबाट बिउ आयात गर्ने गरेका थिए । अहिले पाँच प्रतिशत भन्सार महसुल तिरेर बिउ आयात गर्न बन्द गरिएको छ । यसले गर्दा बिउ बिव्रmीवितरण गर्दै आएका ९० प्रतिशतभन्दा बढी पसलमा हाइब्रिड बिउ भेट्न मुस्किल छ । नेपालमा उत्पादित बिउ छन् तर आवश्यकताअनुसार पाइँदैन । नेपाली बिउप्रति किसान विश्वस्त नहुँदा त्यसको प्रयोग गर्न हिच्किचाइरहेका छन् । यसले हिउँदे तरकारी खेती र उत्पादनमा असर पुग्ने देखिएको छ । 

बजारमा हिउँदे तरकारीको बिउको अभाव देखिएको आंशिक सत्य भएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो । सरकारले नेपाललाई बिउमा आत्मनिर्भर बनाउने र नेपालमै उत्पादित बिउको प्रयोगमा जोड दिने नीति कार्यान्वयनमा लगेका कारण बजारमा किसानले खोजेको कम्पनीको बिउ नभेटेको सिंहको भनाइ छ । “बजारमा नेपाली बिउको खास अभाव छैन तर किसानहरू हाइब्रिडमा बानी परेका छन् र बढी उत्पादन लिन चाहिरहेका छन् । नेपाली बिउबाट त्यो अपेक्षा पूरा गर्न गाह्रो छ,” उहाँले भन्नुभयो, “बजारमा बिउ नै नपाइएको होइन, विदेशबाट आयात गरिएको हाइब्रिड (उन्नत) जातको बिउचाहिँ अभाव भएको हो ।” 

अहिले बजारमा भारतीय कम्पनीले विकास गरेको उन्नत जातको गोलभँेडाको बिउको पनि अभाव छ । राष्ट्रिय बिउबिजन केन्द्रले विकास गरेको हाइब्रिड जातको गोलभेँडाको बिउ बजारमा पाइन्छ तर कम उत्पादन हुने भएकाले किसानहरू त्यो बिउ लगाउन मानिरहेका छैनन् । 

भारतबाट उन्नत जातका तरकारीको बिउ आयात ठप्पै भएको भने होइन । सरकारले तोकेको मापदण्ड पूरा गरेर दर्ता भएका केही कम्पनीले भारतबाट तरकारीको बिउ ल्याइरहेका छन् तर त्यसले बजारको माग पूरा गर्न सकेको छैन । किसानहरू भारतीय बजारमा गएर आफूखुसी लुकाएर बिउ ल्याउन बाध्य भएका छन् । यसले किसानलाई जोखिममा पार्न सक्ने देखिन्छ । 

तरकारी खेतीको सुरक्षणका लागि बिमा गर्ने सुविधा छ । त्यसका लागि अनुमतिप्राप्त फार्म वा कम्पनीले बिव्रmी गरेको र राष्ट्रिय बिउबिजन केन्द्रले सिफारिस गरेको बिउ किसानले लगाउनु पर्छ । अन्यथा बिमा कम्पनीले बिमा नगरिदिने भएकाले कमसल जातको बिउ पर्ने वा फसल नै नलाग्ने जस्ता समस्या आउन सक्ने जोखिम छ । किसानले जोखिम उठाएरै सीमावर्ती भारतीय बजारबाट हिउँदे तरकारीको बिउ ल्याउन थालेको व्यवसायी भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समय भन्सार कार्यालयले बिउ आयातमा कडाइ गरेको छ । अन्य खाद्यवस्तु ल्याउन सर्वसाधारणलाई सहज बनाइदिएको भए पनि तरकारीको बिउ ल्याउन भने रोक लगाइरहेकोे व्यवसायीले बताएका छन् । 

यति बेला तराईमा खेती गर्ने मुसुरोको दालको बिउको पनि चरम अभाव देखिएको छ । तोरी र गहुँको बिउ अभाव भएको नसुनिएको तर तरकारीको बिउ पाइएन भन्ने गुनासो आफूले पनि सुनेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले बताउनुभयो । 

सुनसरीको झुम्कामा अवस्थित बिउबिजन गुणस्तर परीक्षण केन्द्रका प्रमुख गोविन्द आचार्यले कोशी प्रदेशमा तरकारीको बिउको अभाव रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो काम बिउको गुणस्तर परीक्षण गर्ने हो । यसको आपूर्ति व्यवस्था ज्ञान केन्द्रहरूले मिलाउँछन् तर बजारमा तरकारीको बिउको अभाव भएको गुनासो हामीले पनि सुनिरहेका छौँ । हामीलाई आवश्यक पर्ने सबै जातका तरकारीको बिउ हामीसँग पर्याप्त छैन । अहिले सरकारले आयातमा कडाइ गर्दा समस्या भएको हुन सक्छ ।”

कोशी प्रदेशमा सुनसरीको तरहरा, धनकुटाको पाख्रीबास, झापाको चन्द्रडाँगी आदि कृषि अनुसन्धान केन्द्रले तरकारी, फलफूल र अन्न बालीहरूको अनुसन्धान गरी उन्नत बिउ उत्पादनका लागि काम गर्दै आएका छन् । त्यसबाहेक झापा र सुनसरीमा थुप्रै सहकारी र निजी कम्पनीले पनि बिउ उत्पादनमा काम गरिरहेका छन् । किसानको माग र बानी अनुसारको उन्नत जातको बिउ पर्याप्त उत्पादन नहुँदा भने खेती गर्ने समयमा किसानहरू चारतिर भौँतारिनु परेको व्यवसायी भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानहरू त समस्यामा परेकै छन् । सँगै हामी जस्ता बिउ आयात गरेर व्यापार गर्ने व्यवसायीको त व्यवसाय नै बन्द हुने अवस्था भयो ।” 

सरकारले बिउ आयातमा कडाइ गर्दै आयातकर्ताले राष्ट्रिय बिउबिजन केन्द्रमा दर्ता हुनुपर्ने व्यवस्था गरेपछि व्यवसायीहरू समस्यामा परेका हुन् । भट्टराईले भन्नुभयो, “हामी आयातका लागि केन्द्रमा दर्ता हुन तयार छौँ तर व्यवस्था कति कडा बनाइएको छ भने एउटा भेराइटी आयात गर्न नौ लाख रुपियाँ तिर्नु पर्छ; जुन क्षमता हामी जस्ता हजारौँ फर्मसँग छैन ।” शुल्कलाई सहज बनाइएको खण्डमा धेरै फर्म दर्तामा जाने अवस्था रहेको उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर