नेभिगेसन मेनु

भारतमा लोकसभा चुनावअघि राम मन्दिर उद्घाटनको तयारी
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-19 12:38

thumb

नयाँदिल्ली — भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिर लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा उद्घाटनको तयारी थालिएको छ । पहिलो चरणको निर्माण पूरा भएपछि आगामी जनवरीमा मूर्तिको प्राणप्रतिष्ठाको तयारी गरिएको हो । भारतमा आगामी अप्रिलमा लोकसभाको चुनाव हुँदै छ ।

सन् २०२० अगस्ट ५ मा राम मन्दिरको शिलान्यास गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर : एपी

राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्राले आगामी जनवरी १४ मा सूर्य उत्तरायणमा आएपछि रामको मूर्तिको प्राणप्रतिष्ठा कार्यक्रम सुरु हुने बताएका छन् । १० दिनसम्म चल्ने कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उपस्थित हुने उनले जानकारी दिए । आगामी डिसेम्बरभित्र मन्दिरको भुइँ तलाको निर्माण भएपछि मूर्ति स्थापना गर्न लागिएको मिश्राले दिल्लीस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई बताएका हुन् ।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लोकसभा निर्वाचनअघि उक्त मन्दिर सर्वसाधारणका लागि खुलाउने पक्षमा छ । भाजपाले राम मन्दिर निर्माणको विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाउँदै आएको छ । आफ्नो सरकार बनेपछि भाजपाले मन्दिर निर्माणको प्रतिबद्धतासमेत जनाएको थियो ।

सन् २०१४ मा चुनावी जितसँगै प्रधानमन्त्री मोदीले मन्दिरसँग जोडिएको विषयलाई प्राथमिकता दिँदै आएका थिए । चुनावी राजनीतिमा भाजपाका लागि राम मन्दिरको प्रसंग धेरै सहयोगी मानिँदै आएकाले यस पटक पनि निर्माण पूर्ण रूपमा नसकिँदै मन्दिर खुलाउने तयारी गरिएकोआकलन छ ।

भारत सरकारका पूर्वसचिव तथा प्रधानमन्त्रीका प्रधान सचिव रहिसकेका मिश्राले मन्दिर उद्घाटनको तिथिसँग आगामी चुनावको कुनै सन्दर्भ नरहेको दाबी गरे । ‘हामीले जनवरीमा मन्दिरमा भगवान्को मूर्तिको प्राणप्रतिष्ठा गर्दै छौं, त्यो शुभ समय हो,’ उनले भने ‘यसलाई चुनाव वा राजनीतिसँग जोड्नु उपयुक्त होइन ।’ प्रधानमन्त्री मोदीले २०२० अगस्ट ५ मा मन्दिरको शिलान्यास गरेका थिए ।

मूर्ति निर्माणका लागि भनेर नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिलाको भने प्रयोग गरिएको छैन । गत वर्ष माघमा कालीगण्डकीबाट दुईवटा ठूला शिला अयोध्या पुर्‍याइएको थियो । अध्यक्ष मिश्राले मूर्ति निर्माणका लागि धेरैतिरबाट शिला मगाएर परीक्षण गरिएको बताए ।

प्राविधिकहरूले गरेको अध्ययन र सिफारिसअनुसारको शिलाबाट मूर्तिको निर्माण थालिएको उनले जानकारी दिए । मिश्राका अनुसार कर्नाटकको नेल्लिकारु चट्टानबाट रामको मूर्ति बनाइँदै छ । ‘नेपालको कालीगण्डकी नदीबाट आएको शिला धार्मिक रूपले अत्यन्तै महत्त्वपूर्ण छ,’ उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु, त्यसले मन्दिर परिसरमै उचित स्थान पाउनेछ ।’

भारतमा लामो समयदेखि राम जन्मभूमिका विषयमा विवाद थियो । अयोध्यामा मुस्लिम समुदायको बाबरी मस्जिद रहेको स्थानलाई हिन्दु समुदायले राम जन्मभूमि मान्दै आएका थिए । सन् १९९२ मा हिन्दुवादीहरूको ठूलो संख्याले १६ औं शताब्दीमा बनाइएको बाबरी मस्जिदलाई भत्काएका थिए । त्यसको अगुवाइ भाजपाका नेताहरूले गरेका थिए । त्यसपछि भारतभर भएको साम्प्रदायिक हिंसामा २ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । जन्मभूमिको विवाद लामो समयमा अदालतमा चल्दै आएको थियो । २०१९ नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले मस्जिद अन्यत्र सार्ने र त्यस स्थानमा राम मन्दिर बनाउने फैसला सुनाएको थियो । केन्द्रमा पुनः मोदी नेतृत्वमा सरकार बनेपछि अदालतबाट आएको उक्त फैसलापछि मन्दिर निर्माण कार्यले तत्कालै गति लिएको थियो ।

मन्दिर निर्माणका लागि १५ अर्ब भारु लागत अनुमान गरिएको छ । मिश्राले आम मानिसको सहयोगबाट मन्दिर निर्माण भइरहेको बताए । उनले मन्दिर निर्माणका लागि ४ करोड व्यक्तिले चन्दा सहयोग गरेको दाबी गरे । मन्दिर र परिसर क्षेत्रको निर्माण तीन चरणमा भइरहेको छ । मन्दिरको भुइँ तलाको निर्माणलाई पहिलो चरण मानिएको छ ।

२०२४ डिसेम्बरसम्ममा मन्दिरको निर्माण पूरा हुने लक्ष्य राखिएको छ । २०२५ को डिसेम्बरसम्ममा मन्दिर परिसर पनि निर्माण सम्पन्न हुने उनले जानकारी दिए । तेस्रो चरणमा परिसरमा अन्य मन्दिर, महत्त्वपूर्ण भवन र आवश्यक साजसज्जा लगायत निर्माण हुनेछ । मन्दिर खुलेपछि दैनिक १ लाख भक्तजन आउने अपेक्षा राखिएको मिश्राले बताए ।

मन्दिर निर्माणसँगै अयोध्याको चौतर्फी विकासका विभिन्न प्रोजेक्टहरू पनि एकैसाथ सञ्चालित छन् । सडक फराकिलो गर्ने, विमानस्थलको निर्माण, रेल्वे स्टेसनको आधुनिकीकरणलगायत ५० भन्दा बढी प्रोजेक्टमा काम भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर