मुगु, भदौ १२ गते । हिन्दुमार्गीले पवित्र तीर्थस्थलका रूपमा मान्दै आएको छायानाथ तीर्थस्थललाई बौद्धमार्गीले समेत उत्तिकै श्रद्धापूर्वक दर्शन गर्दै आएका छन्। जनैपूर्णिमाका दिन मोक्ष प्राप्तिका लागि छायानाथको दर्शन गर्न जुम्ला, कालीकोट, दैलेख, जाजरकोट हुम्लालगायत जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्।
मुगु जिल्लाको मुगमकार्मारोङ गाउँपालिकाको डोल्पुगाउँको वन क्षेत्रभित्र छायानाथ तीर्थस्थल रहेको छ। सो मन्दिरमा बौद्धमार्गी पनि जाने गरेका छन्। उनीहरू छायानाथप्रति अगाध आस्था राख्छन्। बौद्ध धर्मका अध्येता लामागुरु दर्जी लामाका अनुसार हरेक वर्ष छायानाथको हिमालमा रहेका तीन वटा रङका अलग अलग टुप्पोमा अवस्थित रङलाई बौद्धमार्गीले मञ्जुश्री बुद्ध, अवलोकेतेश्वर बुद्ध र वज्रपाने बुद्धको स्वरूप मान्छन्।
तिनलाई बौद्धमार्गीले पूजा गर्छन्। छायानाथ धामको यात्रा पनि सुरु भइसकेको छ। छायानाथमा पाप पखालेमा मोक्ष प्राप्ति हुने, पितृ सिद्धिका लागि पिण्डदान, प्रत्येक वर्ष धामी छायानाथको शुद्ध जलले नुहाएमा सिद्ध हुने जनविश्वास रहेको पुजारी पूर्णप्रसाद चौलागाईंले बताउनुभयो।
उहाँका अनुसार छायानाथमा हरेक वर्ष जनैपूर्णिमाका बेला मन्दिर खुला हुने भएकाले ठुलो घुइँचो लाग्छ। अरू बेला भने यो धाम सुनसान हुन्छ। छायानाथ तीर्थस्थल पुग्न सदरमुकाम गमगढीदेखि पैदल यात्रामा दुई दिन लाग्छ। चिसोका कारण पनि डोल्पुगाउँको छायानाथ मन्दिरमा अरू बेला भक्तजन पुग्न सक्दैनन्। दुर्गमको छायानाथकै प्रतिमा जिल्ला सदरमुकाम गमगढीबाट नजिकै पर्ने चैनागाउँमा मन्दिर बनाएर स्थापना गरिएको छ।
नित्य पूजाआजा सदरमुकामकै चैनागाउँको छायानाथ मन्दिरमा हुन्छ। हरेक वर्ष जनैपूर्णिमा, औँसी र सप्तमीका दिनमा चैनागाउँको प्रतिमा मन्दिरबाट प्राचीनकालका ती बहुधातुले निर्मित भएका शिवपार्वतीका साथमा गणेश, बुद्ध र देवीका मूर्ति (गाथ) छायानाथ तीर्थस्थलमा लैजानका लागि मन्दिरबाट बाहिर तामझामका साथ निकालिन्छ। छायानाथ तीर्थस्थलमा लगिएका ती मूर्तिलगायत पुजारी जनैपूर्णिमाका दिन छायानाथ तीर्थस्थलबाट फर्किने गर्छन्।
सोरु गाउँपालिका–५ का धनकर्ण मल्लका अनुसार भारत वनारसको काशीमा समेत पहिला छायानाथलाई पिण्ड दिएर त्यहाँ पिण्ड चढाइन्छ। छायानाथ मन्दिरका अर्का पुजारी असिने हमालका अनुसार छायानाथ तीर्थस्थलको प्रचार नहुँदा कतिपय भक्तजनलाई यहाँको विषयमा जानकारी छैन।
मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार छायानाथ तीर्थस्थलको विकासका लागि डिभिजन वन कार्यालयले हरेक वर्ष पूर्वाधारका संरचनाहरू निर्माण गरेको छ।