नेभिगेसन मेनु

वर्षासँगै विभिन्न नदीमा बाढी,दुई दर्जन बस्ती डुबानमा
सम्पादक:南亚网络电视
समय:2023-08-09 12:46

Untitled-1

जनकपुरधाम, साउन २४ गते । दुई दिनदेखि परेको अविरल वर्षाका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका गरी एक दर्जन बस्ती डुबानमा परेको छ । लगातारको वर्षाले विभिन्न खोलामा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । विभिन्न नदीमा बाढीको बहाव उच्च रहेको जनाइएको छ ।

महोत्तरी समाचारदाताका अनुसार सोमबारदेखि लगातार परिरहेको वर्षाले गर्दा बलवा, बञ्चौरीलगायतका क्षेत्र डुबानमा परेको छ । रातु नदीमा पानीको बहाव उच्चसँगै बाँधहरू कटान गर्न थालेपछि डुबानको समस्या बढेको हो । बर्दिबास, भगवानपुर, भ्रमरपुरा बलवा नगरपालिकाको लेउरी, भल्गी, धमौरा, तिलगढ, भगवतीपुर, सङ्ग्रामपुर, कविलाशा, दोस्तिया, हतिसर्वाजस्ता ठाउँ डुबानमा परेको छ । रातो, माढा, जङ्गहा, कुटमेश्वरी, बिग्ही, गेरुका नदीमा पानीको बहाव उच्च छ । पूर्व बाढी सूचना क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले अहिलेसम्म डुबान र कटानको समस्या बढे पनि क्षतिको थप विवरण आउन नसकेको बताउनुभयो । उहाँले नदीहरूमा जलस्तर बढेकोले सबैलाई सतर्क रहन आग्रह गर्नुभयो । 

नदीहरूमा जलस्तर बढेर बर्दिबासको पाटुमा धान खेत बगाएको छ भने आधादर्जन गाउँमा डुबानको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले रातो नदीमा जलस्तर बढेर लोहारपट्टीको डठौरा तथा बलवा नगरपालिका–१ मा नदीको बाँध फुटेर खेतहरू जलमग्न भएको र गाउँबस्ती डुबानमा परेको बताउँदै निरन्तर अनुगमनमा रहेको र डुबानबाहेक खासै क्षति नभएको बताउनुभयो । 

उहाँले पानी पर्ने व्रmम नरोकिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई सजग हुन आग्रहसमेत गर्नुभयो । स्थानीय युवा मुकेश पासमानले कहिले खडेरी त कहिले डुबानको समस्याले सधँै पिरोलिएको बताउनुभयो । हिजोसम्म खडेरीको मारमा रहेका जिल्लावासीले सुक्खा क्षेत्र घोषणा माग गर्दै आएको बताउँदै उहाँले दुई दिन परेको पानीले जिल्लाको केही ठाउँ डुबानमा परेर जनजीवन असहज बनेको बताउनुभयो । 

गौर समाचारदाताका अनुसार अविरल वर्षाका कारण बागमती, लालबकैया तथा झाँझ खोलामा पानीको सतहमा वृद्धिसँगै तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बागमती तथा झाँझ खोलामा आएको बाढीले दुर्गा भगवती गाउँपालिकाको बडहर्वास्थित प्रहरी चौकी डुबानमा पर्नुका साथै भलोहिया, पिपरा बडहर्वा, पचरुखीलगायतका क्षेत्रमा बाढीले हजाराँै बिघा धान खेती डुबानमा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नितेशकुमार झाले बताउनुभयो ।

लालबकैया नदीमा आएको बाढीले गौर–चन्द्रनिगाहपुर सडकखण्डको सबगढा डाइभर्सनमा पानी बहाव तीव्र गतिमा भइरहेकाले आवतजावत अवरोध हुनुका साथै गौर बजारभित्र बाढी पस्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । पानीस्तरसँगै आउने बाढीबाट उत्पन्न हुने सम्भावित खतराबाट जोगाउन एवं समस्यामा परेका व्यक्तिका उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।

खानेपानीको मुहान जोखिममा

बर्दिबास समाचारदाताका अनुसार रातु खोलामा आएको बाढीले बर्दिबास–३, पाटु गाउँका सार्वजनिक संरचनालाई कतै क्षति कतै जोखिममा परेको छ । अविरल वर्षाका कारण पश्चिमबाट सडक नालाको पानी र पूर्वतर्फबाट धान खेतको भँगालो बस्तीतर्फ उर्लिएपछि वडा नं २ र १४ जलमग्न भएका हुन् । पीडितका अनुसार ती वडाका करिब १५० परिवार रातिदेखि नै डुबानमा छन् । सार्वजनिक सडकबाट वर्षे भल बग्नाले बिहानैदेखि सहज आवागमन पनि बाधित छ । 

सक्रौँलमा बाँध भत्कियो 

सर्लाही समाचारदाताका अनुसार लखन्देही खोलाले बाँध कटान गरेर बस्तीतर्फ बाढी पसेपछि सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौँल गाउँ जोखिममा परेको छ । खोलामा आएको बाढी बाँध भत्काएर बस्तीतर्फ सोझिएको कौडेना गाउँपालिकाका अध्यक्ष रूपेशकुमार यादवले जानकारी दिनुभयो । “बाढी बढिरहेकाले तत्काल बाँध कस्न सक्ने अवस्था नै छैन्,” उहाँले भन्नुभयो, “फेरि वर्षा थपियो भने पूरै बस्ती नै खाली गरेर स्थानीयवासीलाई अन्यत्र सार्नुपर्ने हुन सक्छ ।” खोला छेउमै होचो स्थानमा रहेको सक्रौँल गाउँमा बर्सेनि बाढी पसेर बस्ती डुबानमा पार्ने गरेको छ । बाढीले खोलाको बाँध कटान गरेर बस्ती डुबानमा पर्न थालेपछि स्थानीयवासी त्रसित छन् । खोलाले बाँध भत्काएपछि ५० भन्दा बढी घर जोखिममा परेका छन् । उहाँले बाढी पसेर बस्तीसम्म पुग्न सक्ने अवस्था नरहेको बताउनुभयो । 

यस्तै बागमती नदीले बरहथवा नगरपालिका–१, हजरिया खर्साल घाटमा बाँध भत्काएको छ । बाढी आएर बाँध भत्काएको स्थानमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँग समन्वय गरी तत्काल अस्थायी रूपमा बाँध कस्ने काम गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पुनः भारी वर्षा भई नदीमा बाढी आए किसानको खेत र बस्तीमा क्षति गर्ने अवस्था रहेको छ । बाढी पसेर हजरिया क्षेत्रमा उखु र मकै बालीमा क्षति पु-याएको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हजरिया र सक्रौँलमा बाँध कटान गरेर डुबानको जोखिम रहे पनि जिल्लामा अन्यत्र सामान्य अवस्था रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी यादवसहितको टोली मङ्गलबार दिउँसोबाट बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको छ । अविरल वर्षापछि जिल्लाको चुरेभेगका नारायण खोला, पिपलदमार, शिर कालिञ्जोरलगायत खोलाको बगर भएर आवतजावत गर्नुपर्ने क्षेत्रमा आउजाउ बन्द भएको छ । 

दाउरा निकाल्न व्यस्त 

बोदेबरसाइन समाचारदाताका अनुसार सप्तकोशी नदी किनारमा बसोबास गर्दै आएका नदी तटीय क्षेत्रका बालबालिका बाढीले बगाएर ल्याएको दाउरा निकालेर जम्मा गर्ने काममा व्यस्त छन् । नदीमा दाउरा निकाल्दै गरेका बालबालिकामध्ये १० वर्षीय काजल राउत भन्नुहुन्छ, “नदीमा जति धेरै बाढी आयो हामीलाई त्यति धेरै दाउरा भेटिन्छ । धेरै दाउरा भेटेको बेला औधी खुसी हुन्छौँ ।” नदीमा बाढी आउने सम्भावना देखेपछि तटीय क्षेत्रका अभिभावकहरू अरू काममा गए पनि बालबालिका एकजुट भएर बिहानैदेखि बल्छी लिई नदीको दाउरा छान्न हिँड्छन् । सप्तकोशीको पूर्वपश्चिमी तटबन्धमा रहेका पुलमाथिबाटै मुनिसम्म फाल्न सक्ने गरी लामो बल्छी अभिभावकले नै बनाइदिएर बालबालिकालाई दाउरा निकाल्न पठाउने गरेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ की जितनी माझी बताउनुहुन्छ । 

अन्य समयमा बालबालिकालाई मात्रै पठाउने गरे पनि धेरै बाढी आएको बेला मोटो मोटो मुढा तथा काठहरू र धेरै दाउरा आउने हुनाले अभिभावक दाउरा निकाल्न पुग्ने गरेको भारदहका सतन माझी बताउनुहुन्छ । नदीमा बाँढी रहुञ्जेलसम्म दाउरा निकाल्नुबाहेक ती बालबालिका न विद्यालय जान्छन् न त अरू कुनै काम गर्छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर