नेभिगेसन मेनु

द्वन्द्वले छ पालिका बजेटविहीन
सम्पादक:南亚网络电视
समय:2023-07-23 15:49

ण

सर्लाही, साउन ७ गते । जनप्रतिनिधिबिचको विवादका कारण सर्लाहीको छ वटा पालिका बजेटविहीन बनेका छन्। यहाँको २० मध्ये १९ वटा पालिकाले गाउँ तथा नगर सभाको उद्घाटन सत्र सम्पन्न गरे पनि बजेट पारित गर्न सकेका छैनन्। चरम विवादमा फसेको हरिपूर्वा नगरपालिकाले नगर सभाको उद्घाटन सत्र नै गर्न सकेन। 

उद्घाटन सभा गरेका बाँकी १९ वटा पालिकामध्ये हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका र बसबरिया गाउँपालिकाले जनप्रतिनिधिबिचमै टकराव बढ्दा बजेट पारित गर्न नसकेका हुन्। बसबरिया गाउँपालिकामा गाउँ सभाको उद्घाटन सत्रमा झडप नै हुन पुगेको थियो। यहाँ एउटै पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षबिच टकराव बढ्दा बजेट ल्याउन नसकिएको हो। लामो समय तालाबन्दीपछि आर्थिक वर्षको अन्तिममा आएर दुई साताअघि मात्रै तालाबन्दी खुलेको हरिपूर्वा नगरपालिकाले जनप्रतिनिधिबिच टकराव जारी रहँदा नगर सभा प्रारम्भ नै गर्न सकेको छैन। 

यहाँ अघिल्ला जनप्रतिनिधिको कार्यकाल पाँच वर्षसम्म विवादमै रुमलिएर बितेको थियो। नगर प्रमुख विनोदकुमार साह एकलौटी ढङ्गले चलेको भन्दै अन्य जनप्रतिनिधि र राजनीतिक दलका नेता आन्दोलित हुँदा हरिपूर्वामा बजेटबारे अन्योलता देखिएको छ। अनेक मिथ्या आरोप लगाएर कामै गर्न नदिइ नगरपालिकालाई असफल बनाउने प्रयत्न भइरहेको गुनासो नगर प्रमुख साहले गर्नुभयो। 

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले असन्तुष्ट अन्य जनप्रतिनिधिलाई सहमतिमा ल्याइ नगर सभाको उद्घाटन सत्र सम्पन्न गरे पनि बजेटमाथिको छलफल प्रारम्भ गराई पारित गराउन सक्नुभएको छैन। असन्तुष्ट वडाध्यक्ष र बहुमत कार्यपालिका सदस्यले गएको बुधबार नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारणा सार्वजनिक गर्ने अन्तिम तयारी गरेकोमा प्रमुख बुढाथोकीले नगरभित्रका शीर्ष नेतासँग समन्वय गरी असन्तुष्टि बाहिर ल्याउनबाट रोक्नुभएको थियो। बुढाथोकीले जतिसक्दो चाँडो बजेट ल्याउने गरी समन्वय गरिरहेको दाबी गर्नुभयो। 

चन्द्रनगर र बसबरिया गाउँपालिकामा उपाध्यक्षसहित बहुमत सदस्य विरोधमा हुँदा बजेट पारित हुन सकेको छैन। पालिका प्रमुखको नेतृत्वमा युवा रहेको बलरा नगरपालिका र रामनगर गाउँपालिकाले पनि सहमति जुटाउन नसक्दा बजेट पारित गर्न नसकेको अवस्था छ। यसरी जनप्रतिनिधिबिचको मनमुटावले पालिकाको बजेटसहित अन्य काम कारबाही प्रभावित भएको गुनासो स्थानीयवासीले गर्दै आइरहेका छन्। स्थानीय बासिन्दाका अनुसार प्रत्येक पालिकामा मुख्य गरी बजेट बाँडफाँटकै विषयमा जनप्रतिनिधिबिच विवाद देखिन्छ।     

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर