रौतहट जिल्लामा रहेको गढीमाई नगरपालिका ऐतिहासिक र धार्मिक महत्त्वको नगरपालिका हो तर पनि यो नगरपालिका विकासमा पछाडि परेको छ। गढीमाई मन्दिरको नामबाट नगरपालिकाको नामकरण गरिएको हो। यस नगरपालिकामा पर्ने समनपुर भन्ने स्थानमा नेपाल र अङ्ग्रेजबिच युद्ध भएको थियो। उक्त स्थानलाई लडैया समनपुर पनि भनिन्छ। बागमती नदीको किनारमा अवस्थित यो नगरपालिकालाई बागमतीको दुःख पनि भनिन्छ। गढीमाई नगरपालिकामा भइरहेको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक गतिविधिलगायतका विषयमा गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवसँग गोरखापत्रका यादवराज पुरीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
नगरपालिका प्रमुखको दोस्रो कार्यकालमा जिम्मेवारी सम्हालिरहनुभएको छ। दोस्रो कार्यकालको एक वर्ष बितिसकेको छ। अहिलेसम्म के कस्ता कामलाई प्राथमिकता दिनुभयो ?
अघिल्लो कार्यकालमा नगरपालिकाको भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइयो। सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भयो। दोस्रो पटक निर्वाचित भएयताको एक वर्षको अवधिमा हामीले स्वास्थ्य, शिक्षा, र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। यो नगरपालिकाका अधिकांश नागरिकको मुख्य पेसा कृषि भएकाले कृषि उत्पादनलाई लामो समय टिकाउन र संरक्षण गर्न तथा राम्रो बजार भाउ भएका बेला बिक्री गर्न सकियोस् भनेर ‘कोल्ड स्टोर’ निर्माण गरिएको छ। व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानको तरकारी बजारीकरण गर्न समनपुर र बरियारपुरमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ।
विकासका दृष्टिले यो नगरपालिका पछाडि नै छ। यहाँका मुख्य समस्या के हुन् र तिनको समाधानका लागि के प्रयास भइरहेको छ ?
गढीमाई नगरपालिकाको मुख्य चुनौती भनेको बागमती नदी हो। नौ वटा वडा रहेको यस नगरपालिकाका वडा नं. १,२,५,६ र ७ का बासिन्दा हरेक वर्ष डुबानबाट प्रताडित हुन्छन्। त्यसका लागि स्थायी समाधान अहिलेसम्म हुन सकेको छैन। नगरपालिकाले पूर्वतयारी र प्रतिकार्यलाई निरन्तरता दिँदै आएको छ। नदी नियन्त्रण आयोजनासँग समन्वय गरी बाढी नियन्त्रणसम्बन्धी कार्य गरेका छौँ तर पनि बर्सेनि बागमती नदीले क्षति पु-याइरहेको छ। अर्को चुनौती शिक्षा क्षेत्रमा रहेको छ। यस नगरपालिकामा पाँच वटा माध्यमिक विद्यालय, तीन वटा निम्न माध्यमिक विद्यालय र ११ वटा प्राथमिक विद्यालय छन्। यिनमा विद्यार्थीको चाप अधिक छ। विद्यार्थी सङ्ख्याको आधारमा शिक्षकको दरबन्दी नभएका कारण पठनपाठन प्रभावित बनेको छ। गुणस्तरीय शिक्षाका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ।
नगरपालिकाको सामाजिक क्षेत्रको विकासका चुनौती र भावि योजना के छन् ?
आउँदो चार वर्षभित्रमा नगरपालिकालाई ‘पूर्ण खोप’ नगर बनाउने योजना छ। खोपविहीन बालबालिका नहोऊन् र सबै बालबालिकाले नियमित खोप लगाउन पाऊन भन्ने उद्देश्यले अगाडि बढेका छौँ। स्वास्थ्य क्षेत्रमा पिछडा वर्ग तथा गरिब दलितको पहुँच बढाउने उद्देश्यले सञ्चालन गरिँदै आएको स्थास्थ्य जनचेतना अभिवृद्धिको कार्यक्रम परिणाममुखी भएको छ। उनीहरू खुलेरै परिवार नियोजन तथा यौन स्वास्थ्यबारे जानकारी लिन अगाडि सर्छन्। शिक्षाको क्षेत्रमा बालिबालिकाको पहुँच उल्लेखनीय रहेको छ। सबै वर्ग र जातजातिका बालिबालिका विद्यालय शिक्षाका लागि अभिप्रेरित छन्। सफा र स्वच्छ खानेपानीबाट नगरवासी वञ्चित नहोऊन् भन्नका लागि बरियारपुर, सुन्दरपुर, सङ्ग्रामपुरलगायतका स्थानमा खानेपानीको व्यवस्थापन गरिसकिएको छ। धरमपुर धनाडीमा खानेपानीको व्यवस्थापन कार्य हुँदै छ भने चार वर्षभित्र नै सम्पूर्ण नगरवासीले सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन्।
कृषि यहाँको मुख्य पेसा हो। यस क्षेत्रको विकास नभई आर्थिक समृद्धि हासिल हुनसक्दैन। नगरवासीको आर्थिक समृद्धिका लागि कस्ता योजना ल्याउनुभएको छ ?
कृषि क्षेत्रको विकास भनेकै उत्पादन वृद्धि र किसानले उत्पादन गरेको वस्तुको बजारीकरण हो। हामीले कृषि उत्पादन वृद्धिका साथै उत्पादिन वस्तुले राम्रो मूल्य पाऊन् भन्नेमा हामीले ध्यान दिएका छौँ। कृषि उत्पादन बढाउन सिँचाइको व्यवस्थामा जोड दिइएको छ। नहरको पानी पर्याप्त नहुने र आवश्यक परेको बेलामा उपलब्ध नहुने भएपछि नगरपालिकाले ‘कृषिमा विद्युतीकरण’ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि ५० वटा विद्युतीय पोल र बढी क्षमता भएको ‘ट्रान्सफर्मर’ जडान भइसकेको छ। रोजगारी वृद्धितर्फ खासै काम हुन सकेको छैन तर पनि अहिले बाहिरबाट कृषि मजदुर ल्याउने काम बन्द भएको छ। यसले गर्दा मजदुरीका लागि अन्यत्र जानुपर्ने विगतको बाध्यता अन्त्य भएको छ।
सङ्घीय र प्रदेश सरकारले नगरपालिकालाई कस्तो सहयोग पु-याएको छ ?
नगरपालिकाको विकासमा सङ्घीय सरकारले सहयोग गरेकै छ तर प्रदेश सरकारबाट भने पाउनुपर्ने सहयोग समयमा उपलब्ध नहुने र के कस्ता योजनामा सहयोग आउँदै छ भन्ने कुराको जानकारी नगरपालिकालाई गराउनुपर्ने कुरामा बेवास्ता हुने गरेको छ।