नेभिगेसन मेनु

नागरिकता पाउँदाको हर्ष
सम्पादक:南亚网络电视
समय:2023-06-26 16:07

thumb (32)

जनकपुर/ पर्सा — धनुषाको गणेशमान चारनाथ नगरपालिका–३, भरतपुरका इन्द्रजित साफी नागरिकता प्राप्तिको लडाइँमा अग्रपंक्तिमा थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि उनीसहितका नागरिकताविहीन युवाले काठमाडौंको माइतीघर मण्डलमा दिनहुँजसो धर्ना र विरोधका कार्यक्रम गरेका थिए ।

सर्वोच्चले गत बिहीबार ऐन कार्यान्वयनका लागि बाटो खोलेपछि इन्द्रजितले त्यो संघर्षको मीठो फल आइतबार प्राप्त गरेका छन् ।

आमा सोनावतीसँगै जिल्ला प्रशासन कार्यालय पुगेका इन्द्रजितका चार दाजुभाइले आइतबारै जन्मका आधारमा वंशजको नागरिकता पाएका हुन् । ‘यो क्षणले मलाई माइतीघर मण्डलमा आन्दोलन गर्दाको सबै कष्ट खुसीमा बदलिदियो,’ उनले कान्तिपुरसँग भने, ‘पढ्ने–नोकरी गर्ने उमेरमा अब कसैलाई नागरिकताका लागि फेरि संघर्ष गर्नु नपरोस् ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हातबाट नागरिकता पाएपछि चारै दाजुभाइले आमा सोनावतीलाई साक्षी राख्दै तस्बिर खिचे र सामाजिक सञ्जालमा पोस्ट गर्दै खुसी साटासाट गरे । नागरिकताविहीन संघर्ष समितिका राष्ट्रिय अध्यक्षसमेत रहेका इन्द्रजित अहिले ३१ वर्षका भए । माइला भाइ रञ्जित २९, काइँला छोटु २२ र कान्छो रविन २१ वर्षका छन् । उमेर पुग्नासाथै नागरिकता नपाउँदा उनीहरूले पाएका सास्ती र भोग्नुपरेका पीडा बयान गरिसाध्य छैन ।

इन्द्रजितको नागरिकता प्राप्तिको संघर्ष लामो छ । उनले ०७२ सालदेखि नागरिकताका लागि दौडधुप थालेका थिए । ‘ममी–बुवाको नागरिकता छँदै छ, जहिले बनाए पनि बनिहाल्छ नि भनेर वास्ता गरिनँ,’ उनले भने, ‘एसएलसी सकेर ०६८ सालमा प्लस २ पढ्न काठमाडौं गएँ । प्लस २ सकेर इन्जिनियरिङमा नाम लेखाउन खोज्दा नागरिकता मागियो । ०७२ सालमा धनुषा प्रशासन पुगेर नागरिकता बनाउन खोज्दा सर्वोच्च अदालतले रोकेको भन्दै फर्काइदिए ।’ उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाका कर्मचारीले एक–दुई महिनामै कानुन बनेर आउने अनि नागरिकता बन्ने भनेका थिए । ‘तर मैले दुई वर्ष कुर्दा पनि नागरिकता बनेन,’ उनले भने, ‘भारतमा नागरिकता नहुँदा नि पढ्न पाइने रहेछ, उतै गएर इन्जिनियरिङ गरें ।’

नागरिकता पाएपछि उनलाई बल्ल नेपाली नागरिक भएको महसुस भएको छ । ‘अब देशमै केही गर्छु,’ उनले भने । इन्द्रजित सिभिल इन्जिनियर हुन् । बुवा विक्रम धोवीको नागरिकता जन्मसिद्ध भएका कारण उनी नागरिकताबाट वञ्चित हुनुपरेको थियो ।

सिरहा, विष्णुपुरकी रेणुकुमारी यादवले पनि आइतबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएकी छन् । आफ्नो नागरिकता नहुँदा उनले बच्चाको जन्मदर्तासमेत गराउन पाएकी थिइनन् । ‘सबै प्रक्रिया पुर्‍याएर गएको आधा घण्टामै हातमा नागरिकता आयो,’ उनले भनिन्, ‘खुसीको सीमा नै छैन, ठूलो युद्ध जितेजस्तो लागेको छ ।’

वीरगन्ज–६ का २३ वर्षीय भीम चौबेले गत वर्ष पर्सा–बारा औद्योगिक करिडोरस्थित एक बहुराष्ट्रिय कम्पनीमा लेखापालमा जागिर पाए । तर, नागरिकता नहुँदा उनले जागिर गुमाउनुपर्‍यो । वीरगन्जमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत भीम आइतबार जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मसिद्धका आधारमा नागरिकता पाउँदा दंग थिए । ‘अब नागरिकता नभएकै कारण जागिर नपाउने चिन्ता रहेन,’ उनले भने, ‘नेपाली नागरिक हुन पाइयो, फेरि जागिरको खोजीमा लाग्छु ।’

भीमले यसो भनिरहँदा सँगै उभिएका उनका भाइ २२ वर्षीय वरुणको अनुहार चहकिलो देखिन्थ्यो । वरुणले पनि आइतबारै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका छन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत वरुणले ६ वर्ष कुरेपछि नागरिकता पाएको बताए ।

जन्मसिद्धका आधारमा नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार कार्यालय खुल्नुअगाडि नै नागरिकता लिन आउनेको घुइँचो लागेको थियो । फेरि कुनै माथिल्लो आदेश वा अदालतले नागरिकता वितरण रोकिने संशयका कारण उनीहरू हतारमा देखिन्थे । जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता विनयकुमार श्रीवास्तवले आइतबार जन्मसिद्धका आधारमा ७० वटा नागरिकता वितरण भएको बताए । श्रीवास्तवले नागरिकता लिन आउनेको भीडलाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताए । ‘भीडभाड नबढोस् र सहजै काम होस् भनेर टोकन प्रणालीबाट सेवा दिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘अनलाइनबाटै टोकन लिने व्यवस्था मिलाइएको छ ।’

नागरिकता पाउँदा खुसी

रूपन्देहीको सिद्धार्थनगर–४ का १९ वर्षीय साविर अली वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान भाषा कक्षा लिन चाहन्थे । नागरिकता नभएका कारणले उनले कोरियन भाषा कक्षा लिन पाएनन् । नेपालमै जन्मे, हुर्के र पढे पनि नागरिकता नभएकै कारणले भाषा कक्षालगायत अन्य विभिन्न अवसर गुमाउनुपर्दा उनी दुःखी थिए । आइतबार भने उनको हर्षको सीमा थिएन । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको हातबाट वंशजको नागरिकता प्रमाणपत्र लिँदा उनका आफन्तसमेत खुसी थिए । ‘तीन वर्षदेखि नागरिकता भन्दै जिल्ला प्रशासन धाउँथें,’ भैरहवा माविमा कक्षा १२ मा अध्ययनरत उनले भने, ‘यसबारे नियम नै बनेको छैन भन्ने कर्मचारीको जवाफ सुन्दै फर्किने गर्थें ।’

नागरिकता नहुँदा बैंकमा खाता खोल्नसमेत नपाएको उनले सुनाए । रूपन्देहीका प्रजिअ भरतमणि पाण्डेले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयन आइतबारदेखि सुरु गरिएको बताए । पाण्डेका अनुसार २०७२ सालअघि जन्मका आधारमा रूपन्देहीमा १४ हजार ८ सय ७९ जनाले नागरिकता प्राप्त गरेका थिए । उक्त ऐन कार्यान्वयनमा नआउँदा नागरिकता पाउनबाट करिब २५ देखि ३० हजार जना उनीहरूका सन्ततिले अब नागरिकता पाउनेछन् । नागरिकता वितरणका लागि भैरहवास्थित जिल्ला प्रशासन, बुटवल र मर्चवारमा रहेका इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रमा पर्ने स्थानीय तहमा बारअनुसार आलोपालोको व्यवस्था मिलाइएको छ ।

सिद्धार्थनगर–४ दोगराका १७ वर्षीय गणेश धोबी आइतबार नागरिकता हात परेको खुसीमा साथीभाइलाई मिठाई खुवाउने तयारीमा थिए । ‘नागरिकता नहुँदा मोबाइल सिमसमेत आफ्नो नामबाट निकाल्न पाएको थिइनँ,’ उनले भने, ‘नागरिकता नभएकाले छिमेकी र साथीभाइले अनागरिक भन्दै होच्याउँदा अति दुःख लाग्थ्यो ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर