फ्रान्समा कर्मचारीहरूको आन्दोलन । तस्बिर : रोयटर्स
चैत्र १, २०७९ पेरिस — फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंको सेवा निवृत्तिभरण विधेयकविरुद्ध फ्रान्समा हडताल भैरहेकै बेला युरोपका स्पेन, जर्मनी, बेलायतलगायतका अन्य मुलुकहरुमा पनि हडताल सुरु भएको छ ।
फ्रान्समा फेब्रुअरीदेखि नै हडतालले अवरोध निम्त्याएइरहेका बेला स्पेन, जर्मनी, फ्रान्स र बेलायतमा समेत इस्टर पर्व (अप्रिल ६) लाई दखल पर्ने गरी यातायात मजदुरहरूले औद्योगिक हडताल गर्ने सार्वजनिक गरेका हुन् ।
स्पेनका केही व्यस्त एयरपोर्टहरूले अहिलेनै ग्राउन्ड सेवाहरू र कार्गो ह्यान्डलिङ कम्पनी खासगरी स्विसपोर्टमा युनियनका कामदारहरूले हडतालको सामना गरिरहेका छन् । त्यसलाई इस्टरसम्म पुग्दा झनै चर्काउने उनीहरूले बताएका छन् । प्रत्येक सोमबार, मंगलबार र बिहीबार २४-घण्टा कामबाट बाहिरिनका लागि आम कर्मचारीहरुलाई आह्वान गरेका छन्।
स्विसपोर्ट ह्यान्डलिङले स्पेनको राजधानी म्याड्रिडदेखि बाराजास, बार्सिलोनादेखि एल प्राट, आलिकान्ते, भ्यालेन्सिया, ग्रेन्ड क्यानारिया लगायत २७ वटा एयरपोर्टहरूमा सेवाहरू प्रदान गर्दछ ।
हडताल जारी राखेपनि युनियनहरुले न्यूनतम सेवा भने प्रदान गर्नुपर्ने छ । त्यसलाई स्पेनी कानुनले निर्दिष्ट गरेको छ । तर कानुनत : न्यूनतम सेवा दिने भनिएकाले बाँकी सेवा हडतालले प्रभाव पार्ने र त्यसले कति असर गर्छ भन्ने स्पष्ठ हुन बाँकी रहेको स्पेनको अल्पाइस अखबारले उल्लेख गरेको छ ।
फ्रान्समा पेन्सन हडताल जारी
फ्रान्सभरका मजदुर युनियनहरूले कानुनी सेवानिवृत्तिको उमेर ६२ बाट ६४ सम्म बढाउने योजनाविरुद्ध हडताल मंगलवारपनि जारि राखेका छन् । बुधबार झनै कडा रुपमा प्रस्तुत हुने फ्रान्सको सर्वाधिक ठूलो मजदुर युनियन सिजिटीले उल्लेख गरेको छ । यो हडतालमा सुरुमा रेलवे कर्मचारी र एयरपोर्ट कर्मचारीहरू थिए जसमा पेरिसको ओर्ली एयरपोर्टबाट ३० प्रतिशत उडानहरू हडतालको अन्तिम दिन रद्द गरिएको थियो ।
बुधवार (१५ मार्च) हडतालको आठौं दिनका दिन झन कडा हडताल गर्ने भनिएको छ र यसैदिन संयुक्त अधिराज्य (बेलायत) का सीमा सुरक्षा कर्मचारीहरुले पनि औद्योगिक कारबाही गर्ने सार्वजनिक गरेका छन् । युरोपभरि तीव्र गतिको रेल चलाउँदै आएको युरोस्टारले यहि हडतालका कारण केही सेवाहरु रद्द गर्दै आएको छ ।
यसैबीच युरोपकै अति व्यस्त विमानस्थलमध्ये एक बेलायतको हिथ्रो विमानस्थलका कामदारहरूले इस्टर हडताललाई मध्यनजर गर्दै हडतालका विषयमा मतदान गर्ने भएका छन् । हिथ्रो एयरपोर्टमा काम गर्ने ३ तीन हजारभन्दा बढी सुरक्षा गार्ड, इन्जिनियर र अग्निनियन्त्रकहरूले हाल कम तलबमा काम गरिरहेकाले हडताल गर्ने कि नगर्ने भन्नेमा मतदान गर्ने भएका हुन् । कामदारहरुले तलब र सेवासुविधा कम रहेकाले हडताल गर्ने सम्भावना बढी रहेको र हडताल भएमा त्यसले आगामी इस्टर पर्वामा यातायातलाई असर गर्ने सामाचारमा जनाइएको छ ।
बुधबार बेलायत आइपुगेका यात्रुहरूले एयरपोर्ट, रेल स्टेसन र फेरी (समुद्री डुंगा) पोर्ट राहदानीको जाँचमा लामो लाइन बस्नुपर्ने छ । किनभने बुधबार बेलायतमा सार्वजनिक तथा वाणिज्य सेवा संघले हडताल आह्वान गरेको छ । यसमा सीमा बलका कर्मचारीहरू समावेश छन् र करिब एक लाख कर्मचारीले हडताल गर्ने बेलायती मिडियाले उल्लेख गरेका छन् । उनीहरुको हडतालले १५ मार्च दिनभर अवरोध सिर्जना गर्ने छ ।
सैनिक कर्मचारी, निजामती कर्मचारी र सरकारी स्वयम्सेवकहरूलाई बेलायतभरका विमानस्थल र बन्दरगाहहरूमा सीमा बललाई सहयोग गर्न तालिम दिइँदैछ। सरकारी कर्मचारीहरुले हडताल गरेको गर्यै गरिरहँदा सरकारले विकल्प सोचेको छ । कर्मचारीहरुले गत क्रिसमस पर्वमा पनि हडताल गरेका थिए ।
फ्रान्सेली कर्मचारीहरुको हडतालले बेलायतमा पनि निकै ठूलो अवरोध निम्त्याउन सक्ने बेलायती गृह मन्त्रालयले चेतावनी दिएको फ्रान्स २४ टिभीले मंगलबार साँझ उल्लेख गरेको छ । फ्रान्सेली सीमा रक्षकहरुले हडताल गरिदिँदा फ्रान्सबाट बेलायततिर धेरै आप्रवाशी अवैध रूपमा प्रवेश गर्न सक्ने सम्भावना रहेको औंल्याइएको छ ।
यसैगरी जर्मन एयरपोर्टका कामदारहरूले तलब कम भएको र काम गर्ने समय र तरिका असजिलो भएको भन्दै हडताल सुरु गरेका छन् । सोमबार १३ मार्चमा उनीहरुले बर्लिन, ह्याम्बर्ग र ब्रेमेनमा हडताल गरेका थिए जसबाट ४५ हजार यात्रु प्रभावित हुनेगरि उडान रद्द गरिएको थियो । उनीहरुले यो हडताल जारी राख्ने चेतावनी दिएको जर्मनीको डि डब्ल्यु न्युजले उल्लेख गरेको छ ।
कर्मचारी युनियनहरूले हालसम्म रोजगारदाताहरूले गरेका प्रस्तावहरू अपर्याप्त रहेको भन्दै हडताल फिर्ता लिन अस्वीकार गरेका छन्। अर्को चरणको वार्ता मार्च २७ मा हुने तय भएको छ र त्यस दिनसम्म हडताल जारि रहने उल्लेख छ । वार्ता असफल भए थप हडताल हुने सम्भावना छ । त्यसैगरी इटालीको बिभिन्न एयरपोर्टका कर्मचारीहरू पनि राष्ट्रव्यापी हड्तालमा सहभागी हुने भएका छन् । जोर्नाली इटालियानी अखबारका अनुसार १७ मार्चमा इटालीका एयरपोर्टहरूमा सामान ह्यान्डलिङ, सुरक्षा र मर्मतसम्भार कर्मचारीहरूले हडताल गर्ने घोषणा गरेका छन् ।
यस औद्योगिक हडतालको समय र प्रभाव एयरपोर्टहरू अनुसार फरक फरक समयमा हुनसक्ने उल्लेख गरिएको छ । इटालीको औध्योगिक सहर मिलानको एयरपोर्टका कर्मचारीले भने मिलानको लिनेट एयरपोर्टमा सुरक्षा कर्मचारीहरूसहित २४ घण्टा हडताल गर्ने बताएका छन् ।