दुईदिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पहिलो दिन शीर्ष राजनीतिक नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता गरेका छन् । नेपालमा राष्ट्रपति निर्वाचनको तयारी भइरहेका वेला भारतीय विदेशसचिवले गरेका भेटवार्ताका विषयवस्तु विस्तृत रूपमा सार्वजनिक भएका छैनन् । विदेशसचिवको कार्यभारपछि क्वात्राको पहिलो नेपाल भ्रमण हो ।
काठमाडौं उत्रिएलगत्तै भेटवार्तामा जुटेका विदेशसचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन् । यसबाहेक भ्रमणको पहिलो दिन उनले परराष्ट्रसचिवसँग भेटवार्ता, परराष्ट्रसचिवस्तरीय वार्ता र पशुपतिनाथको दर्शन पनि गरे ।
राष्ट्रपति भण्डारीसँगको भेटमा क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पठाएको शुभेच्छा सन्देश सुनाएका थिए । परराष्ट्रका अनुसार दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ । भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गरेकी थिइन् । राष्ट्रपति भण्डारीले ‘छिमेकी पहिलो’ भन्ने नीतिअनुसार नै भारत अघि बढेको विश्वास व्यक्त गरेकी थिइन् ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिलगायतका विषयमा नेपाल–भारत सहकार्यबारे छलफल भएको छ । ‘प्रधानमन्त्री प्रचण्ड र विदेशसचिव क्वात्राबीच नेपाल–भारत आर्थिक तथा विकास साझेदारीलगायत विभिन्न विषयका द्विपक्षीय विषयमा फलदायी छलफल भएको छ,’ भेटपछि भारतीय राजदूतावासले भनेको छ ।
भारतीय विदेशसचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका लागि प्रधानमन्त्री मोदीको निमन्त्रणा स्मरण गराएका थिए । स्रोतका अनुसार क्वात्राले प्रधानमन्त्री प्रचण्डको अनुकूलता कहिले हुन्छ भन्नेबारे सोधेका थिए । प्रधानमन्त्रीले राष्ट्रपतिको निर्वाचनपछि भारत भ्रमण गर्ने जनाउ दिएका थिए । ‘प्रधानमन्त्रीज्यूको अनुकूल समय कुन हुन्छ, त्यही आधारमा कूटनीतिक च्यानलबाट निमन्त्रणापत्र हामी पठाउँछौँ भन्ने कुरा भारतीय विदेशसचिवको थियो, आज निमन्त्रणापत्र हस्तान्तरण भएन,’ बालुवाटार स्रोतले भन्यो ।
परराष्ट्रमन्त्री पौड्यालले भेटमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा छलफल भएको बताइन् । ‘मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भयो,’ पौड्यालले भनिन्, ‘जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने विषयमा पनि कुराकानी भयो ।’
कांग्रेस सभापति देउवासँगको भेटमा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषय र दुई देशका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ । ‘हामीले जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत आपसी हितका विभिन्न विषयमा छलफल गर्यौँ,’ भेटपछि देउवाले ट्विटरमा भनेका छन्, ‘हाम्रा जनताको हितमा नेपाल–भारत सम्बन्ध थप गहिरो बनाउने हाम्रो साझा लक्ष्य हो ।’ देउवानिवास धुम्बाराहीमा भएको भेटमा क्वात्राका साथ भारतीय राजदूत नवीन श्रीवास्तव थिए भने देउवा एक्लै थिए ।
क्वात्राले सोमबार साँझ एमाले अध्यक्ष ओलीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा दुई देशका आपसी हित तथा जनस्तरको सम्बन्धबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको तथा अध्यक्ष ओलीले कुनै समस्या भए वार्ता र सहमतिका आधारमा समाधान गरेर अघि बढ्नुपर्ने बताएका थिए । भेटमा एमाले परराष्ट्र विभाग प्रमुख राजन भट्टराई तथा भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अधिकारी सहभागी थिए । देउवा र ओलीसँग क्वात्राको भेटमा परराष्ट्र मन्त्रालयका अधिकारी थिएनन् ।
क्वात्राले उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ ।
के–के भयो नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठकमा ?
परराष्ट्रसचिवस्तरीय बैठकमा लिम्पियाधुरा कालापानी सीमालगायत कनेक्टिभिटी, पूर्वाधार विकास, विद्युत् व्यापार, क्षेत्रीय सहकार्य तथा भारतीय लगानीका परियोजनाहरू कार्यान्वयनमा छलफल भएको छ । नेपालले औपचारिक (परराष्ट्रसचिवस्तरीय) संयन्त्रमार्फत कालापानी, लिम्पियाधुरा तथा सुस्ताको सीमा विषयमा छलफल गर्न गरेको प्रस्तावमा भारतले सहमति जनाएको छ ।
‘दुवै परराष्ट्रसचिवले सीमासम्बन्धी विषयमा पनि छलफल गरे । यस सम्बन्धमा स्थापित द्विपक्षीय संयन्त्रहरूमार्फत सीमांकनसम्बन्धी बाँकी कार्य (सुस्ता र कालापानी–लिम्पियाधुरा) सम्पन्न गर्ने विचार आदान–प्रदान गरेका छन्,’ परराष्ट्र मन्त्रालयले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा छ । नयाँदिल्लीमा गत २९ भदौमा भएको परराष्ट्रसचिवस्तरीय बैठकमा पनि यही विषयमा सहमति भएको थियो । ‘अहिले परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक नभएर भारतीय विदेशसचिवको नियमित नेपाल भ्रमण भएकाले ठोस कुरा भएन,’ एक कूटनीतिक अधिकारीले भने ।
प्राविधिक अधिकारीबीच आपसी छलफलबाट नेपाललाई हवाई प्रवेश रुट उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रसचिव पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एयर इन्ट्री रुट उपलब्ध गराउन आग्रह गरेकी थिइन् । ‘एयर इन्ट्री रुटका विषयमा प्राविधिकहरूको बैठक चाँडै नै गर्ने र थप प्रक्रिया अघि बढाउने भन्ने सहमति भएको छ,’ बैठकबारे जानकार अधिकारीले नयाँ पत्रिकासँग भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा शीर्ष तहमा यो सहमति भएको थियो । अहिले अलिकति ठोस रूपमा कुराकानी भएको छ । भारत विगतमा भन्दा एक कदम अगाडि र सकारात्मक रहेको हामीले पायौँ ।’ भारतले महेन्द्रनगरबाट नेपाल प्रवेशका लागि हवाई विन्दु दिने विषयमा यसअघि सकारात्मक संकेत देखाएको थियो ।
नेपालले भारतमा निर्वाध रूपमा विद्युत् व्यापारको वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । नेपालमा विदेशी लगानीकर्ता तथा ठेकेदारले उत्पादन गरेको बिजुली भारतीय बजारमा व्यापार गर्न नपाइने अवरोध हटाउन नेपालको जोड थियो । परराष्ट्रका अनुसार भारतीय बजारमा त्यहाँको बजार विनिमयका सबै उत्पादनको उपभोगका आधारमा दीर्घकालीन रूपमा ऊर्जा निर्यात गर्ने नेपालको प्रस्तावमा भारतले सहमति जनाएको छ ।
सीमापार विद्युत् प्रसारण लाइनहरूको स्तरोन्नति तथा भारतीय ऋणमा निर्माण हुने प्रस्तावित चार विद्युत् प्रसारण लाइनको शीघ्र स्वीकृतिका विषयमा पनि छलफल भएको परराष्ट्रले जनाएको छ । परराष्ट्रका अनुसार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा क्षेत्र सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र तथा जनस्तरको सम्बन्धबारे छलफल भएको छ । ‘रेल्वे, ट्रान्समिसन लाइन, पुल, एकीकृत जाँच चौकीजस्ता परियोजना निर्माणको पुनरावलोकन भयो,’ परराष्ट्रले भनेको छ, ‘नवीकृत पारवहन सन्धि चाँडै टुंग्याउने, व्यापार सन्धिको पुनरावलोकन गर्ने तथा व्यापारसम्बन्धी अन्तरसरकारी समितिको बैठक यथाशीघ्र राख्ने विषयमा छलफल गरेका छन् ।’ भारतीय सेनामा नेपालीको भर्तीका विषयमा बैठकमा छलफल भएन । ‘भारतीयले पनि कुरा उठाएनन्, हामीले पनि कुरा गरेनौँ,’ परराष्ट्र स्रोतले भन्यो ।