दाङको घोराही उपमहानगरपालिकाले जलाशय निर्माणमा २० करोड २१ लाख रुपैयाँ खर्च गरेको छ। यो रकम जलाशय बनाउन सात वर्षमा खर्च भएको हो।
जम्मा १९ वटा वडा रहेको घोराहीमा सात वर्षमा १३ वटा वडामा ४२ वटा जलाशय निर्माण गरिएका छन्।
तीमध्ये दुई दर्जन जति घोराहीले आफ्नै बजेटले निर्माण गरेको हो। केही जलाशय प्रदेश सरकारको बजेटबाट र केही बृहत् सिँचाइ परियोजनाबाट निर्माण गरिएका हुन्।
घोराहीको पूर्वाधार महाशाखाका अनुसार सबै जलाशय निर्माणमा कुल ९० बिघा क्षेत्रफल प्रयोग भएको छ। सबैभन्दा धेरै ८ वटा जलाशय वडा नम्बर १७ मा बनाइएका छन्।
वडा नम्बर १ मा पाँच वटा, २ मा तीन वटा, ४ मा पाँच वटा, ५ मा दुई वटा, ६ मा ४ वटा निर्माण गरिएका छन्। यस्तै वडा नम्बर ८, १० र ११ मा एक–एक वटा निर्माण गरिएका छन्। वडा नम्बर १२ मा तीन वटा, १३ र १६ मा दुई–दुई वटा र १८ मा ६ वटा जलाशय निर्माण गरिएका छन्।
खास गरि सिंचाईं सुविधा पुर्याउनका लागि यी जलासय बनाइएको हो। तर यीनले पर्यटन, माछापालन लगायतलाई पनि टेवा पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन्।
घोराही २ बासिन्दा महेश चौधरीका अनुसार केही जलाशयबाट किसानलाई बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। उनले ती जलाशयहरू जल विहारका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको र चराहरू पनि आउन थालेको बताए। यसबाट पनि नगरको आम्दानी हुने अपेक्षा उनको छ।
मेयर नरुलाल चौधरीका अनुसार बढ्दो जनसंख्या वृद्धिसँगै पानीको मुहान सुक्दै जान थालेकोले सिँचाइ सुविधा पुर्याउने, माछापालन गर्ने र पर्यावरण सन्तुलनमा समेत सहयोग पुर्याउने उद्देश्यले उपमहानगरले जलाशय निर्माणको अभियान थालेको हो।
‘पानीबिना जीवन सम्भव छैन। पानीका स्रोत संरक्षणले मात्रै बस्ती र बजार विकास हुन्छ,’ उनले भने ‘उपमहानगरको हरियाली र जैविक विविधता जोगाउनमा हामीले जोड दिएका छौँ।’
घोराही उपमहानगरले परीक्षाणका रूपमा पहिलो चरणमा १२ वटा जलाशय निर्माण गरेको थियो। ती जलाशयबाट स्थानीय बासिन्दालाई लाभ पुगेपछि थप निर्माण गरिएको मेयर चौधरीको भनाइ छ।
‘जलाशयले घोराहीको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘आज जाँगर भएका हरेक किसानले बाह्रै मास व्यावसायिक तरकारी खेती गर्न थालेका छन्।’
बाह्रै मास सिँचाइ हुने भएपछि कृषि क्षेत्रको विकासमा सकारात्मक प्रभाव परेको उनले बताए।
‘जलाशय बनेपछि कृषकहरू उत्साहित छन्, बाह्रै मास खेती गरेर आम्दानी गर्न थालेका छन्। माछापालन फस्टाउँदै छ,’ चौधरीले भने, ‘जलाशय हेर्ने र जलविहार गर्ने पर्यटनको संख्या बढ्दै छ।’
उनले यी जलाशयहरू घोराहीको समृद्धिका लागि कोशेढुंगा हुने उनको विश्वास छ। घोराहीमा कृषि उत्पादन बढेको पनि उनले बताए। उनका अनुसार जलाशयबाट कृषिमा त फाइदा भएकै छ माछापालन पनि बढेको छ।
घोराही ५, ७ र १७ का जलाशय माछा पालनका दृष्टिले उपयोगी भएको स्थानीयवासीको भनाइ छ।
व्यक्तिहरू पनि परम्परागतरूपमा धान खेती हुने ठाउँमा पोखरी बनाएर माछा पालनतर्फ आर्कषित हुँदै गएको स्थानीयवासी वसन्त चौधरीले बताए। जलाशका कारण दाङ जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको र अन्य जिल्लामा पनि माछा पुग्ने गरेको उनको अनुभव छ।
कंक्रिटका आधुनिक संरचनाका कारण जमिनमा पानी पुनर्भरण घटेकोमा कृत्रिम जलाशयले सकारात्मक प्रभाव पारेको उनले बताए।
सुक्दै गएका कुवामा पानी देखिन र डीप बोरिङबाट पनि पानी आउन थालेको मेयर चौधरीको भनाइ छ। यसबाट खाने पानी व्यवस्थापनमा पनि अप्रत्यक्षरूरूपले फाइदा पुगेको छ।
उनले भने, ‘प्रत्यक्षरूपमा सिँचाइ र अप्रत्यक्षरूपमा खानेपानी व्यवस्थापन सहज भएको छ।’
उनका अनुसार ठूला जलाशयमा डुंगा शयर चल्न थालेको छ। आसपासमा होटल र पसल चलाएर स्थानीयवासीले लाभ लिन थालेका छन्।
प्रत्यक्ष र परोक्षरूपमा रोजगारी सृजना भएको उनले बताए।
उनी भन्छन्, ‘पानीको माध्यमबाट घोराही नगरले सधैँ लाभ लिन सक्छ। सिँचाइ, खाने पानी, माछापालन र पर्यटन दीर्घकालीन लाभका क्षेत्र हुन्।’
यी पक्षहरू विचार गरेर नै घोराही उपमहानगरले जलाशय निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए।
सबै जलाशय एकनासका छैनन्। जमिनको सुविधा र पानीको स्रोतका आधारमा कुनै केही ठूला छन् त कुनै पोखरीका रूपमा छन्। यी जलाशयहरूलाई बहुुउपयोगी बनाउन र बढीभन्दा बढी लाभ लिन दिगो व्यवस्थापन आवश्यक रहेको घोराही उपमहानर पूर्वाधार महाशाखाका कर्मचारीहरू बताउँछन्।
जलाशयको संरक्षण, स्तरवृद्धि र पर्यटन विकासका लागि बजेट आवश्यक पर्ने उनीहरूको भनाइ छ।
जलाशयबाट सिँचाइ सुविधा पुगेपछि कृषकहरू उत्साहित भएका छन्।
वडा नम्बर १७, आरोग्य टोलकी सुशीला चौधरी भन्छिन्, ‘जलाशय निर्माणपछि हाम्रा कुवा र इनारमा पानी सुकेको छैन। खेतीमा सजिलो भएको छ। पशुचौपाया पाल्न पनि सहज भएको छ।’
घोराहीमा निर्मित यस्तै कृत्रिम जलाशयकै कारण चौधरी दोस्रो कार्यकालका लागि पनि मेयर पदमा निर्वाचित भएको नेकपा एमालेका एक नेताले बताए।
ती नेताले भने, ‘नरुलालजी नगरवासीको भविष्य सुनिश्चित गर्ने अभियानमा सफलताका साथ अघि बढ्नुभएको छ।’
मेयर चौधरी नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि विजयी भएका हुन्।
नेपाली कांग्रेसका एक नेताले भने मेयरका रूपमा नरुलालले राम्रै काम गरेका भए पनि भ्रष्टचार नियन्त्रण गर्न नसकेको आरोप लगाए।
‘नगरमा हुने संस्थागत भ्रष्टाचारमा उहाँ चुप बस्नु राम्रो होइन,’ ती नेताले भने, ‘यसबाहेक अहिलेसम्म गरेका काम राम्रै मान्नु पर्छ।’
ती नेताले जलाशयमा हुने मानवीय क्षति नियन्त्रणतर्फ पनि ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘साइन बोर्डहरू टाँगिएका छन् तर तारबार गरिएको छैन। नुहाउन गएका मानिस डुबेका घटना पनि भएका छन्।’
केही कमीकमजोरीका बीच पनि कृत्रिम जलाशयबाट घोराहीका बासिन्दा खुसी देखिन्छन्।