नेभिगेसन मेनु

सिनेटमा डेमोक्रेटिकको बहुमत
सम्पादक:南亚网络电视
समय:2022-11-14 13:12

वासिङटन — नेभाडा राज्यमा महत्त्वपूर्ण जित निकालेसँगै डेमोक्रेटिक दलले अमेरिकाको माथिल्लो सदन सिनेटमा बहुमत कायम गरेको छ ।

निकै तीव्र प्रतिस्पर्धा देखिएको राज्यमा डेमोक्रेटिककी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले रिपब्लिकन दलका उम्मेदवार एडम ल्याक्सल्टलाई पराजित गरेकी हुन् । ल्याक्सटलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका थिए । मास्टो ६ वर्षअघि पहिलो ल्याटिन महिलाका रूपमा अमेरिकी सिनेटमा चुनिएकी थिइन् ।

चुनावमा धाँधली भएको दाबी गर्दै एरिजोना राज्यको फोनिक्समा रिपब्लिकन दलका समर्थकले गरेको प्रदर्शन । तस्बिर : एपी

मास्टोको जितसँगै अब डेमोक्रेटिक दलले सिनेटमा ५० सिट पुर्‍याएको छ । रिपब्लिकनहरूसँग हाल ४९ सिट मात्र छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि जोर्जिया राज्यमा डिसेम्बर पहिलो साता पुनः मतदान हुँदै छ । उक्त चुनावको नतिजाले बाँकी एक सिट निर्धारण हुनेछ । तर उक्त सिट रिपब्लिकनले जितेको खण्डमा पनि सिनेटमाथि डेमोक्रेटिकको नियन्त्रण कायम रहनेछ । किनकि, दुवै दलको बराबर सिट आएको अवस्थामा सिनेटमा उपराष्ट्रपति कमला ह्यारिसले मतदान गर्न पाउँछिन् ।

ह्यारिस डेमोक्रेटिक दलबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

पछिल्लो नतिजासँगै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राहत मिलेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । देशको अर्थतन्त्रमा आएका समस्या र चार दशकयताकै ठूलो मूल्यवृद्धिका कारण पछिल्लो समय अलोकप्रिय बन्दै गएका बाइडेनका कारण डेमोक्रेटिक दलले निकै ठूलो हार व्यहोर्ने चुनावी सर्वेक्षणहरूले देखाएका थिए । तर नेभाडा राज्यको नतिजा र सिनेटमाथिको नियन्त्रणसँगै बाइडेनले राहतको सास फेरेका छन् । सिनेटमा बहुमत मात्र होइन, तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) मा पनि डोमोक्रेटहरूको प्रदर्शन उल्लेखनीय हो ।

हालसम्म २११ सिटमा विजयी भइसकेको रिपब्लिकनले प्रतिनिधिसभामा जित हासिल गर्ने देखिएको छ । डेमोक्रेटिक दलले २०४ सिट जितेको छ । प्रतिनिधिसभाका ४३५ सिट र सिनेटका ३५ सिटका लागि अमेरिकीहरूले मंगलबार मतदान गरेका हुन् । यसका साथै कतिपय राज्यमा गभर्नरहरू पनि निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ । यसअघि बहुमत रहेको राष्ट्रपति बाइडेनको डेमोक्रेटिक दलका २२० सदस्य थिए ।

नतिजा सार्वजनिक भएसँगै राष्ट्रपति बाइडेनले चुनावमा देखिएको मतदाताको उत्साहजनक उपस्थितिले आफू निकै सन्तुष्ट बनेको प्रतिक्रिया दिएका छन् । रिपब्लिकनहरूले अब आफू को हो भनेर निर्क्योल गर्नुपर्ने अवस्था आएको बाइडेनको भनाइ छ ।

डेमोक्रेटिक दलको सिनेटका नेता चक सुमरले ‘रिपब्लिकन दलका द्वन्द्व फैलाउने खालका अभिव्यक्तिहरू’ अमेरिकी नागरिकले चुनावमार्फत अस्वीकार गरेका बताएका छन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक दलले ‘सबै प्रकारका मत लुटेको’ आरोप लगाए पनि त्यसबारे ठोस प्रमाण दिन नसकेका बीबीसीले उल्लेख गरेको छ । रिपब्लिकनहरूको प्रभाव रहेका एरिजोनाका कतिपय स्थानमा मतदानमा प्रयोग गरिएका मेसिनले काम नगरेको ट्रम्पको दाबी छ ।

जसका कारण कतिपय कानुन निर्माण गर्ने कार्यमा रिपब्लिकनले राष्ट्रपति बाइडेनलाई नियन्त्रण गर्न सक्छ । तर राष्ट्रपतिको सिफारिसका आधारमा सिनेटमा बहुमत हुने दलले सर्वोच्च अदालतसहित संघीय अदालतहरूमा भने नियुक्ति गर्ने सक्ने व्यवस्था छ ।

रिपब्लिकन दलले प्रतिनिधिसभामा झिनो अन्तरमा बहुमत कायम गर्ने देखिएको भए पनि यो चुनावअघिको आकलनभन्दा निकै फरक परिणाम हो । सामान्यतः अमेरिकी मध्यावधि चुनावमा सत्तारूढ दलको तुलनामा विपक्षी दलले राम्रो नतिजा ल्याउने गर्छ । डेमोक्रेटिक दलको चुनावी परिणाम सत्ताको नेतृत्व गरिरहेको दलले २० वर्षयता ल्याएको सबैभन्दा राम्रो हो । सन् २००२ मा राष्ट्रपति जर्ज डब्लू बुसको रिपब्लिकन दलले संसद्का दुवै सदनमा जित हात पारेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर