नेभिगेसन मेनु

उत्तर–दक्षिण कोरिया क्षेप्यास्त्र हानाहान
सम्पादक:南亚网络电视
समय:2022-11-04 12:14

 उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रक्षेपण गरेको छ । यो उत्तर कोरियाले यस वर्ष परीक्षण गरेको सातौं क्षेप्यास्त्र हो । बिहीबार गरिएको आईसीबीएम क्षेप्यास्त्र करिब १ हजार ९ सय २० किलोमिटरको उचाइसम्म पुगेर असफल भएको दक्षिण कोरियाली सेनाको दाबी छ ।

दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको सैन्य अभ्यासबीच उत्तर कोरियाले गरेको यो प्रक्षेपणलाई चासोका साथ हेरिएको छ । चुनावी अभ्यासलाई उत्तर कोरियाले ‘आक्रामक र भड्काउपूर्ण कार्य’ को संज्ञा दिँदै आएको छ ।

यसका साथै प्योङयाङले दुईवटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र पनि प्रक्षेपण गरेको छ । ती क्षेप्यास्त्र प्रक्षेपणलाई लिएर जापान सरकारले देशको उत्तरी भूभागमा रहेका स्थानीयलाई घरमै बस्न आग्रह गरेको थियो ।

जापानी रक्षामन्त्री यासुकाजु हामादाले उत्तर कोरियाले गरेको उक्त क्षेप्यास्त्र परीक्षणको भर्त्सना गरेका छन् । उक्त क्षेप्यास्त्र आफ्नो देशको आकाशको बाटो हुँदै नगए पनि जापानी समुद्री क्षेत्रमा खसेको उनको भनाइ छ । उत्तर कोरियाली कदमले कोरियाली द्वीप र अन्तर्राष्ट्रियस्तरमा शान्ति तथा सुरक्षालाई खलल पुर्‍याएको अमेरिकाको दाबी छ ।

उत्तर र दक्षिण कोरियाले बुधबार एकअर्कातर्फ प्रहार गरेका दर्जनौं क्षेप्यास्त्र दुवै देशका तटस्थित पानीमा खसेका थिए । कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन् । पछिल्लो घटनासँगै उक्त क्षेत्रमा दुई देशबीचको तनाव निकै बढेको आकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिण कोरियाले त्यसको जवाफ दिएको हो । दक्षिण कोरियाली अधिकारीका अनुसार उत्तर कोरियाले बुधबार मात्रै २३ वटा विभिन्न क्षेप्यास्त्रहरू प्रहार गरेको थियो ।

त्यसको तीन घण्टापछि दक्षिण कोरियाले प्रतिउत्तरमा उत्तर कोरियाली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको हो । त्यसमा दक्षिणी सहर सोक्चोभन्दा ६० किलोमिटरभन्दा कम दूरीमा खसेको क्षेप्यास्त्र पनि सामेल छ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले गरिरहेका सैन्य अभ्यासको प्रतिक्रिया स्वरूप ती प्रहार गरेको जनाएको छ । त्यस्ता सैन्य अभ्यासले कोरियाली द्वीपमा ‘उत्तेजना’ बढाउने उसको दाबी छ ।

दक्षिण कोरियाली सेनाले भने आफ्नो भूमिमाथि उत्तर कोरियाले अतिक्रमणको प्रयास गरेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएको छ । उसले उत्तर कोरियातर्फ हावाबाट जमिनमा प्रहार गर्न मिल्ने तीनवटा क्षेप्यास्त्र प्रहार गरेको छ । अधिकारीहरूका अनुसार त्यो क्षेप्यास्त्र उत्तर कोरियाले दक्षिणतर्फ प्रहार गरेकै जति दूरीमा नर्दन लिमिट लाइन (एनएलएल) भन्दा अगाडि खसेको थियो । उक्त सीमारेखाले उत्तर र दक्षिण कोरियाबीचको समुद्रको मध्यबिन्दुलाई जनाउँछ ।

तर उत्तर कोरियाले भने उक्त सीमा अस्वीकार गर्दै आएको छ । उत्तर कोरियाले मंगलबार एक चेतावनी जारी गर्दै ‘संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिए दक्षिण कोरिया र अमेरिकाले इतिहासकै सबैभन्दा डरलाग्दो मूल्य’ चुकाउनुपर्ने’ बताएको थियो । त्यसलाई उत्तर कोरियाको परमाणु अस्त्र प्रयोग गर्न सक्ने चेतावनीका रूपमा हेरिएको छ ।

उत्तर कोरियाले पाँच वर्षपछि चाँडै नै परमाणु अस्त्र परीक्षण पुनः सुरु गर्ने ठानिएको छ । अमेरिका र दक्षिण कोरियाली गुप्तचरहरूले प्योङयाङले त्यसका लागि सबैखाले आवश्यक तयारी पूरा गरिसकेको दाबी गरेका छन् । दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियाली प्रहारलगत्तै ती प्रहारको निन्दा गरेका थिए । राष्ट्रपति युन शुक–योलले उक्त प्रहारलाई आफ्नो भूमिमाथिको अतिक्रमण भन्दै त्यसको तत्कालै कडा प्रतिक्रिया दिने बताएका थिए ।

कोरोना भाइरसको महामारीका कारण लामो समय शान्त रहेको उत्तर कोरियाले गत जनवरी महिनादेखि क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको हो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई क्षेप्यास्त्र तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले त्यसको बेवास्ता गर्दै क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिएको हो ।

त्यसैगरी, अमेरिका र युरोपेली संघले पनि उत्तर कोरियामाथि नाकाबन्दी लगाउँदै आएका छन् ।उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण तीव्र पारेपछि दक्षिण कोरिया, जापान र अमेरिकाले त्यसको निन्दा गर्दै आएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर