नेभिगेसन मेनु

छ महिनादेखि लगातार बलियो हुँदै अमेरिकी डलर
समय:2022-06-15 05:16

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा छ महिनादेखि लगातार घटिरहेको छ। जनवरीयता मात्र पाँच प्रतिशत घटेको छ। सोमबार भारतीय बजारमा एक डलर बराबर ७८.२० भारूमा कारोबार भयो।

भारतीय सेयर र ऋणपत्र बजारबाट विदेशी मुद्रा बाहिरिँदा र पेट्रोलियम पदार्थको मूल्य अकासिँदा भारूको भाउ घट्न थालेको त्यहाँका सञ्चारमाध्यमहरूले लेखेका छन्।

सन् २००९ देखि २०२२ सम्म विदेशी संस्थागत लगानीकर्ताहरूले जति रकम भित्र्याए, त्योभन्दा धेरै रकम यो वर्ष पाँच महिना (जनवरीदेखि मे) मा फिर्ता लगिएको छ। करिब २१ खर्ब ५० अर्ब भारू फिर्ता गएको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

विश्वभर ब्याजदरमा भइरहेको वृद्धिले पनि भारतबाट संस्थागत लगानीकर्ताहरूले लगानी फिर्ता लगेका हुन्।

अमेरिकामा उच्च दरमा महँगी बढेपछि त्यहाँको केन्द्रीय बैंकले नीतिगत ब्याजदर ०.७५ प्रतिशत वृद्धि गर्ने अनुमान गरिएको छ। अमेरिकामा महँगी ४० वर्षयताकै उच्च ८.६ प्रतिशत छ।

अमेरिकाले नीतिगत ब्याजदर बढाउँदा अमेरिकी डलरमा आधारित सम्पत्तिहरूको प्रतिफल भारतजस्तो उदाउँदो बजारको तुलनामा धेरै हुने गर्छ।

भारूसँग नेपाली मुद्राको समानान्तर विनिमय दर कायम छ। अर्थात् भारू र नेपाली मुद्राको सटही दरमा फरक पर्दैन। तर डलर लगायत अन्य मुद्राको तुलनामा भारू बलियो वा कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा पर्छ।

अहिले एक सय भारू बराबर १६० नेपाली रूपैयाँ छ। छ महिनायता भारूजस्तै नेपाली मुद्रा पनि डलरसँग करिब पाँच प्रतिशत (४.६९ प्रतिशत) अवमूल्यन भइसकेको छ।

गत जनवरीमा एक डलरका लागि ११९.३६ रूपैयाँ तिरिरहेका नेपालीले अहिले १२४.८४ तिरिरहेका छन्। यो नेपाली मुद्रामा भएको हालसम्मकै उच्च अवमूल्यन हो।

सोमबार भारूमा आएको गिरावटसँगै नेपालमा पनि नेरू थप अवमूल्यन हुने देखिएको छ। नेपाली मुद्राको तुलनामा डलर बलियो हुँदा यसको लाभ नेपाल भित्रिने रेमिटेन्समा पर्छ।

राष्ट्र बैंकले गत शुक्रबार मात्रै सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैशाखसम्म रेमिटेन्स अमेरिकी डलरका आधारमा १.६ प्रतिशत घटेको भए पनि नेपाली मुद्रामा ०.२ प्रतिशत बढेर ८ खर्ब ११ अर्ब पुगेको थियो।

डलरको बढ्दो भाउले रेमिटेन्स पठाउन वैदेशिक रोजगारीमा गएकाहरू आकर्षित हुने मानिएपछि मासिक रूपमा भित्रिने रेमिटेन्समा फेरि घट्दो प्रवृत्ति देखिन थालेको छ।

नेपाली मुद्रा कमजोर हुँदा आयातका लागि जाने रकम मात्र बढ्दैन, यहाँ वस्तुको भाउसमेत उकालो लाग्न थाल्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर