वासिङ्टन/मिन्स्क — युक्रेनमाथि रुसी आक्रमण लगभग निश्चित भएको अमेरिकी दाबीपछि विभिन्न देशहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेका छन् । अमेरिका, क्यानडा, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटाली, नेदरल्यान्ड्स, लात्भिया, जापान, दक्षिण कोरिया, इजरायल र इराकले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न भनेका छन् । केहीले कूटनीतिक निकायका कर्मचारी अनि तिनका परिवारलाई फिर्ता लगिसकेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले दूतावासमा अत्यावश्यक काममा खटिएकाबाहेकका कर्मचारीलाई राजधानी किभ छाड्न आदेश दिएको छ । क्यानडा र अस्ट्रेलियाले पनि अमेरिकाले जस्तै निर्णय लिएका छन् । अमेरिकाले आपत्कालीन अवस्था व्यवस्थापन गर्न युक्रेनको पश्चिमी सहर लिभिभमा सामान्य उपस्थिति रहने जनाउँदै आइतबारबाट कन्सुलर सेवा बन्द गरिसकेको छ ।
त्यस्तै, क्यानडाले पनि दूतावासका कर्मचारीलाई लिभिभमा स्थानान्तरण गरेको जनाइएको छ । बेलायती राजदूतले भने ट्वीट गर्दै आफू र दूतावासको मुख्य टोली किभमै बस्ने जनाएकी छन् ।
रुसले युक्रेनी सीमामा बख्तरबन्द गाडी, तोप तथा अन्य हतियारसहित एक लाख सैनिक तैनाथ गरेको छ । त्यस्तै छिमेकी देश बेलारुससँगको संयुक्त सैन्य अभ्यासमा ३० हजार रुसी सेना सहभागी छन् । तर युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको उसको दाबी छ ।
पछिल्ला दिनहरूमा रुसी सेनाले युक्रेनलाई तीनतिरबाट घेरेका छन् । दक्षिणतर्फ क्राइमिया र उत्तरदेखि पश्चिम हुँदै दक्षिणसम्म रुसी भूभाग र उत्तरतर्फ बेलारुसमा रहेका रुसी सेनाले युक्रेनमाथि पूर्णरूपमा दबाब दिइरहेका छन् ।
युक्रेनको पूर्वी क्षेत्र डोनेत्सक र लुहान्स्कमा युक्रेनी सेना र रुस समर्थित पृथकतावादीबीच सन् २०१४ यता लडाइँ जारी छ । जसका कारण ती क्षेत्रबाट रुसले हस्तक्षेप सुरु गर्न सक्ने अनुमान गरिएको छ ।
त्यस्तै यल्न्यामा रुसी सेनाका ठूलो संख्यामा ट्यांक, तोप र अन्य हतियारसहित तैनाथ रहेको भू–उपग्रह तस्बिरहरूमा देखिन्छ । उक्त क्षेत्रमा सन् २०२१ को अन्त्यदेखि नै ठूलो संख्यामा हतियार ओसारिएको थियो ।
त्यस्तै, बेलारुस पुगेका रुसी सेनाको संख्या पनि युक्रेनका लागि टाउको दुखाइ बनेको छ । गत बिहीबारदेखि दुई देशले १० दिने संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । बेलारुसमा रुसी सेनाको उपस्थिति शीतयुद्धयताकै ठूलो हो ।
नाटो महासचिव जेन्स स्टोलटनबर्गका अनुसार एसयू–३५ क्षेप्यास्त्र र एस–४०० हवाई प्रतिरक्षा प्रणालीसहित ३० हजार रुसी सेना तथा विशेष फौज सैन्य अभ्यासमा सहभागी छन् । कतिपयले भने रुसी सेना उत्तरतर्फबाट युक्रेनी राजधानीतर्फ अघि बढ्न सक्ने अनुमान गरेका छन् ।
युक्रेनले नाटोको सदस्यता लिने तयारी गरेपछि रुस रुष्ट बनेको हो । युक्रेनलाई नाटोको संलग्न नगराउन तथा पूर्वी युरोपमा नाटोको थप विस्तार रोक्न रुसले माग गर्दै आएको छ । तर अमेरिकालगायत राष्ट्रहरूले रुसी मागमा असहमति जनाउँदै आएका छन् । यद्यपि, तनाव कम गर्नका लागि भने कूटनीतिक पहल जारी रहेको अधिकारीहरूको भनाइ छ । पछिल्ला दिनहरूमा अमेरिका र रुसले एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने तथा चेतावनी दिने गरिरहेका छन् । पश्चिमा देशले आफ्नो सुरक्षा चासोलाई बेवास्ता गरेको दाबी गर्दै युक्रेनलाई नाटोमा सामेल गरिए युद्धको अवस्था आउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिँदै आएका छन् ।
त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनसँग शनिबार टेलिफोन संवाद गर्दै ‘युक्रेनमाथि आक्रमण गरे ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका बीबीसीले जनाएको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आक्रमणको चेतावनीले त्रास बढाउने बताउँदै आएका छन् । ‘तत्कालका लागि त्रास नै जनताको सबैभन्दा ठूलो शत्रु हो,’ जेलेन्स्कीले भनेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कुनै पनि बेला रुसले युक्रेनमाथि आक्रमण सुरु गर्न सक्ने बताएको थियो । रुसले हवाई बम आक्रमण गर्न सक्ने भएकाले युक्रेनबाट सर्वसाधारणहरू बाहिरिन कठिन हुने र उनीहरूको ज्यान जोखिममा पर्ने अमेरिकी अधिकारीहरूको दाबी छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले यदि रुसले हमला गरेको खण्डमा उद्धारका लागि सेना पठाउन नसकिने भन्दै नागरिकहरूलाई सजग गराएका
हुन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले पनि रुसले ठूलो सैन्य आक्रमणका लागि तयारी पूरा गरिसकेको जनाएका छन् । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुन सक्ने बताएका थिए ।
रुसले भने अमेरिकालगायत पश्चिमी देशले लगाएका आरोप ‘उक्साहटपूर्ण अनुमान’ भएको बताएको छ । रुसी राष्ट्रपतिका विदेश नीति सल्लाहकार युरी उसाकोभले अमेरिकी चेतावनी आधारहीन भएको भन्दै ‘अनियन्त्रित उत्तेजना शिखरमा पुगेको’ बताए ।
युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ अमेरिकी रक्षा मन्त्रालयले गत साता युरोपमा थप सेना पठाउने निर्णय गरेको थियो । त्यसमध्ये ३ हजार अमेरिकी सेना पोल्यान्ड पुगिसकेका छन् । अमेरिकी सैनिकहरूले युक्रेनमा युद्ध नलड्ने तर उसका साझेदारको सुरक्षा गर्न बताइएको छ ।
रुसले युक्रेनको दक्षिणी क्राइमिया द्वीपमाथि नियन्त्रण कायम गरेको र डनबास क्षेत्रमा रक्तपातपूर्ण आक्रमणको करिब ८ वर्षपछि दुई देशबीच तनाव पुनः चर्केको हो । सन् २०१४ यता त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार जनाको ज्यान गइसकेको छ ।