
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । बाढीपहिरोका कारण बागलुङका चार स्थानीय तहका एक हजार २९७ बालबालिकाको पठनपाठन प्रभावित भएको छ । असोज ८ देखि ११ गतेसम्म आएको वर्षापछि आएको बाढीपहिरोले विद्यालयका भवन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि बालबालिकाको पढाइ प्रभावित भएको हो ।
बागलुङको निसीखोला गाउँपालिका–४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सन्दीप रेग्मी पनि बाढीपछि विद्यालय जान सक्नुभएको छैन । बाढीले उहाँको घर रहेको स्थानसँगै विद्यालयमा समेत क्षति पुर्याएको छ । घर, कापी–कलम र किताब गुमेपछि उहाँको पढाइ प्रभावित भएको छ ।
आँखैअगाडि घर, विद्यालय, सडक र विभिन्न संरचना बाढीले बगाएको तथा पहिरोले पुरेको देखेका बालबालिकामा अझै पनि खोला बढ्ने र पहिरो खस्ने त्रास कायमै रहेको स्थानीयले बताएका छन् ।
ताराखोला गाउँपालिकाका सहायक शिक्षा अधिकृत युवराज शर्माका अनुसार बागलुङको निसीखोला गाउँपालिकामा बाढी तथा बडिगाड, तमानखोला र ताराखोला गाउँपालिकामा पहिरोका कारण एक हजार २९७ बालबालिका प्रभावित भएका छन् । ताराखोलामा मात्रै पहिरोले पाँच विद्यालयमा क्षति पुर्याउँदा ८४५ बालबालिका प्रभावित भएका छन् ।
पहिरोका कारण ताराखोला–५ का तीन र वडा नं। ४ का दुई विद्यालयका भौतिक संरचनामा क्षति पुगेको छ । वडा नं ५ को २५० बालबालिका अध्ययनरत दुर्गाभवानी माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला पूर्ण रूपमा पहिरोमा पुरिएको छ भने अन्य संरचनामा समेत क्षति पुगेको छ ।
सोही वडाका ७५ बालबालिका अध्ययनरत त्रिशूली प्राथमिक विद्यालय र ४५ बालबालिका अध्ययनरत लावाङ प्राथमिक विद्यालयमा पनि पहिरोले क्षति पुर्याएको छ । वडा नं। ४ का ५५ बालबालिका अध्ययनरत युवावर्षा प्राथमिक विद्यालय र ४२० बालबालिका अध्ययनरत नेपाल माध्यमिक विद्यालयमा समेत पहिरोले क्षति पुर्याएको शर्माले जानकारी दिए ।
पहिरोले क्षति पुगेका पाँचमध्ये दुई विद्यालयमा वैकल्पिक स्थानको खोजी गरी पठनपाठन सुरु गरिएको छ । नेपाल माध्यमिक विद्यालय, लावाङ प्राथमिक विद्यालय र दुर्गाभवानी माध्यमिक विद्यालयमा भने पठनपाठन सुरु हुन नसकेको शर्माले बताए ।
निसीखोला गाउँपालिका–४, झिवाखोलास्थित बोहोरागाउँ लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलका ३७० बालबालिका पनि बाढीबाट प्रभावित भएका छन् । निसीखोलामा आएको बाढीले विद्यालयको संरचनामा ठूलो क्षति पुर्याएको विद्यालय व्यवस्थापन समितिका सदस्य मिलन हमालले जानकारी दिए । तत्काल भवन सञ्चालन गर्न सकिने अवस्था नरहेकाले वैकल्पिक व्यवस्थापन गरेर छिट्टै कक्षा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।
हावाहुरी र पहिरोका कारण बडिगाड गाउँपालिकाका दुई विद्यालयका ७० बालबालिका प्रभावित भएका छन् । वडा नं। ५ को ३० बालबालिका अध्ययनरत भिरकटेराताल प्राथमिक विद्यालय र वडा नं. ३ सिसाखानीको ४० बालबालिका अध्ययनरत कञ्चनादेवी प्राथमिक विद्यालयमा हावा र पहिरोले क्षति पुर्याएको छ । तत्कालका लागि स्थानीय घर तथा सामुदायिक भवनमा बालबालिकालाई व्यवस्थापन गरी पठनपाठन गराउने तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुलराज घिमिरेले जानकारी दिए ।
पहिरोका कारण तमानखोला गाउँपालिका–४ को सन्तर बालविकास केन्द्रको भवनमा समेत क्षति पुगेको छ । भवन पहिरोको जोखिममा रहेकाले त्यहाँ अध्ययनरत ११ बालबालिकालाई तत्काल उक्त स्थानमा लैजान सकिने अवस्था नरहेको गाउँपालिकाका विपद् व्यवस्थापन स्रोत व्यक्ति मुना विश्वकर्माले बताए ।









