
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १५ गते । भक्तपुरमा च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा ख्वपः’ आयोजना हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा सल्लाघारीमा कार्यक्रम हुन लागेको जानकारी दिइयो ।
सो अवसरमा अहिलेको प्रसिद्ध भक्तपुरे सांगीतिक समूह ‘कुमा सागर एन्ड द ख्वपः’ ले प्रस्तुति दिने भएको छ । गृहजिल्लामा ब्यान्डको यो पहिलो लाइभ प्रस्तुति हुनेछ ।
मुक्ति एन्ड रिभाइभल तथा निभाः डंगोल एन्ड चबाही दबुले पनि प्रस्तुति दिने जनाइएको छ । कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।
सङ्गीतसँगै स्थानीय मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ ।
मुख्य प्रायोजकमा एक्सट्रीम एनर्जी ड्रिंक रहेको छ । कार्यक्रममा संकलन हुने रकमको ५० प्रतिशत हिस्सा भक्तपुरको समुदायमा आधारित पुनस्र्थापना संस्था ९सीबीआरओ०लाई प्रदान गरिने भएको छ । यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत संस्थालाई प्रदान गरिने आयोजकले जनाएको छ ।












