एस् ए टी भी १६ असार, काठमाडौँ: नेपाल र चीन बिच औपचारिक दौत्य सम्बन्ध कायम भएको यसै अगस्ट १ तारिखमा ७० वर्ष पुरा हुँदै छन्। जहानियाँ राणा शासनको अन्त्य पश्चात् एक किसिमको सङ्क्रमणकलाका क्रममा सन् १९५५ अगस्ट १ तारिखका दिन नेपाल र चीन बिच यो ऐतिहासिक सम्बन्ध कायम भएको थियो। त्यस भन्दा कयौँ साल अघि देखि नै दुई देशका नागरिक तथा सरकारहरू बिच आदान प्रदानको सम्बन्ध रहेता पनि अन्तर्राष्ट्रिय जगतमा परिचित औपचारिक सम्बन्ध भने आज भन्दा ७० वर्ष अगाडी नै स्थापित भएको थियो।
यसै अवसरको सदुपयोग गर्दै नेपाल चाइना मिडिया फोरमले नेपाल र चीनको मैत्री भावना, एक अर्का प्रतिको सम्मान तथा सहकार्यका पानाहरूलाई शब्दमा उतार्दै 'सुमधुर सम्बन्धका ७० साल' नामक पुस्तक प्रकाशनमा ल्याएको छ।
भूराजनीतिक दृष्टिकोणले अत्यन्तै संवेदनशील स्थानमा रहेको नेपाललाई आफ्नो वरपर रहेका छिमेकी सङ्गको सम्बन्ध कस्तो राख्ने भन्ने कुरामा इतिहास देखिनै स्पष्टता चाहिएको थियो। र त्यो स्पष्टता केही हद सम्म नेपाली शासकहरूमा पहिल्यै देखि देखिँदै पनि आएको छ। लिच्छवी कालमा अंशु वर्माले आफ्नी सुपुत्री भृकुटीको चिनियाँ राजा स्र्ङ चङ गम्पो सङ्ग बिहे गराइदिनु, नेपाली कला कौशलका साथ अरनिको चीन जानुले निकै पहिल्यै देखि नेपाल तथा यहाँका शासकले चीन सङ्गको सम्बन्धलाई विशेष महत्त्व दिने गरेको हामीले इतिहासका पानाहरू पल्टाउँदा भेट्ने नै गरेका छौँ।
'सुमधुर सम्बन्धका ७० साल'ले भने हामीलाई सन् १९५१को जनक्रान्ति तथा त्यस पछि नेपालले लिएको छिमेक तथा विदेश नीति सङ्ग नजिक बाट सयर गराउँदछ। नेपालको दक्षिणी छिमेकी भारत सङ्ग धेरै पहिले देखि नै निकै नै घनिष्ठ सम्बन्ध रहँदै आएको छ। यस प्रसङ्गमा अहिले पनि त्यो समिपता रहिरहेको भन्न नमिल्ने ठाउँ छैन। तर यसका साथसाथै पछिल्ला ७० वर्षमा नेपालको उत्तरी छिमेकी चीन सङ्गको आत्मीय सम्बन्ध बढ्दै मात्रै गइरहेको पुस्तकले बताउँदछ। पुस्तकले मात्र नभएर त्यो हामीले सतहमा देख्न पनि सक्छौँ।
चीन एउटा यस्तो छिमेकी बनेको छ जसले न यहाँको राजनीतिक तथा व्यवस्थापकीय संयन्त्रमा हस्तक्षेपकारी भूमिका खेल्छ न त देशको सिमाना नै मिच्छ बरु नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका कदमहरूको खुलेर समर्थन तथा बचाउ गर्दछ। स्व. राजा वीरेन्द्रले अघि ल्याएको नेपाललाई शान्ति क्षेत्रको रूपमा विकसित गर्ने अवधारणामा चीनले सहमति जनाउनु त्यसको एउटा उत्कृष्ट उदाहरण हो।
पुस्तकले ७० वर्षमा नेपाल चीन सम्बन्धको उछाल तथा गहिराई नाप्ने प्रयास गरेको छ। यसले नेपाली राजनीतिक इतिहासमा चीनले देखाएको सद्भावलाई निकै मिहिन ढङ्गले केलाउन पुगेको छ। पछिल्लो तीस वर्षमा दुई राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई नजिक बाट नियालेर यस किताबमा ती भ्रमणको सकारात्मक पक्षलाई देखाउने प्रयास भएको छ जसले नेपाल चीन सम्बन्धको बारे पढ्न चाहने विद्यार्थीको लागि उपयुक्त पुस्तक बन्ने पक्का छ।
नेपालका तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको सन् १९५६ सेप्टेम्बरको चीन भ्रमण तथा अन्य प्रधानमन्त्री तथा उच्च पदस्थ अधिकारीहरूको पनि भ्रमण तथा सम्झौताहरूको सारगर्भित दस्ताबेज पनि बनेको छ यस पुस्तक। नेपाल राष्ट्र बैङ्क स्थापनार्थ चिनियाँ सहयोग रकम करिब दस करोडले नै जग बसेको कुरा उल्लेख गर्दै चीनले नेपालको आर्थिक उदारीकरणमा खेलेको भूमिकाको बारेमा पनि पुस्तकले प्रकाश पारेको छ। प्रधानमन्त्री चाउ एन्लाईको नेपाल भ्रमणको क्रममा पाँच सय भारतीय रुपैयाँ पशुपतिमा चढाएको कुराले नेपाली नोट चलाउनु पर्ने टड्कारो देखाएको पनि पुस्तकमा उल्लेख छ।
चीनले नेपालमा कुनै पनि समयमा कुनै पनि किसिमको हस्तक्षेप नगरेको र जुन कुनै व्यवस्थालाई स्विकार्दै नेपालको सार्वभौमिकताको सम्मान गरेको कुरा सन् २००८ मा नेपाल आएर चिनियाँ विदेश मन्त्रीले नेपालको गणतन्त्र प्रति विश्वास रहेको बताउँदा स्पष्ट भएको पुस्तकमा जानकारी पनि दिइएको छ।
नेपाली शीर्ष नेताहरू दुवै देशलाई सन्तुलनमा राखेर समृद्धिको बाटो तर्फ जाने उपाय अपनाउने ध्याउन्नमा हुँदा पछिल्लो समयमा नेपालमा चीनको सहकार्य तथा गतिविधिले उल्लेख्य मात्रामा उपस्थिति पाएको कुरा पनि थाहा पाउन सकिन्छ। यसले नेपाल तथा चीन एक अर्काको नीति सङ्ग सहकार्य गर्दा साझा भविष्य तर्फ अग्रसर देखिन थालेका छन् भन्ने गतिलो सन्देश गएको छ। नेपाली विद्यार्थीहरू चिनियाँ विश्वविद्यालयमा पढ्न जाने सङ्ख्या दिनानुदिन बढी रहेको छ, चिनियाँ पर्यटक नेपाल आएर घुम्न खुब ,मन पराउँछन् यसले दुवै देशको मैत्री सम्बन्धमा अझै धेरै टेवा पुगिरहेको छ। नेपालले पनि अन्तर्राष्ट्रिय स्तरमै एक चीन नीतिको खुलेर ऐक्यबद्धता जनाइरहेको हुन्छ। यसले दुई देशलाई एक अर्का प्रति विश्वास र साथ मिलिरहेको छ। राष्ट्रपति सि चिन्फिङले नेपाल जत्तिको छिमेक प्रति गर्व गर्ने गरेको बेला बेलामा सुन्न पाइरहन्छ।
पछिल्ला वर्षहरूमा चिनियाँ लगानी यथेष्ट मात्रामा नेपालमा भित्रिरहेको छ। नेपालले बेल्ट एण्ड रोड इनिसिएटिभ फ्रेम वर्क सम्झौतामा हस्ताक्षर गरी सके पश्चात् त झन् भूपरिवेष्टित राष्ट्र बाट भुपरिवहन राष्ट्र बन्ने तर्फ अग्रसर छ यसको श्रेय कहीँ न कहीँ चीनको क्षेत्रीय विकासको अवधारणालाई जान्छ। पुस्तकले यस्तै गहिरा तथा मनन योग्य कुराहरू समेटेको छ जसले यस पुस्तकलाई चीन नेपाल सम्बन्ध राख्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्ने व्यक्तित्वहरूको रुचिको पुस्तक बनाउने कुरा पनि स्पष्ट छ।
नेपाली तथा चिनियाँ दुवै भाषामा प्रकाशन हुन लागेको पुस्तक यसै जुलाई १ तारिखमा विमोचन हुने छ।