एस् ए टी भी २२ जेठ, काठमाडौँ: हिमालय एयरलाइन्सले औपचारिक उडान सञ्चालनको एक दशक पुरा गरेको छ। उक्त अवसरमा काठमाडौँमा एक कार्यक्रम गर्दै एयरलाइन्सले आफ्ना कर्मचारीहरू सङ्ग खुसी साटासाट गरेको छ।
सन् २०१४मा नेपाल चीन संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सले सन् २०१५ मा यती एयरलाइन्स सङ्ग जेटस्टृम ४१ विमान भाडामा लिएर आकाशमा आफ्नो उपस्थिति जनाएको थियो। त्यस पश्चात् मध्य पूर्व तथा दक्षिण एसियाई आकाशमा आफ्नो प्रभुत्व जमाउँदै आफ्नो दस वर्ष पुरा गरेको छ।
पहिलो उडानको दस वर्ष पछि अहिले हिमालय एयरलाइन्स सङ्ग ४ साना ठुला गरी ४ वटा जहाज छन्। जसले संसारका विभिन्न ठाउँमा आफ्नो हवाई सेवा प्रदान गरिरहेका छन्।
हिमालय एयरलाइन्सको ऐतिहासिक दस वर्षको उत्सवमा सहभागी हुन नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङ, आर्थिक तथा व्यावसायिक विभागका काउन्सिलर सी यु , हिमालय एयरलाइन्स बोर्ड अध्यक्ष सिलाङ चपेई, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डङ्गोल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहा निर्देशक देव चन्द्र लाल कर्ण लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। साथै सांस्कृतिक भेसभुसा प्रदर्शनी प्रतियोगिता तथा फोटो प्रदर्शनी पनि सम्पन्न भएको थियो।भेसभुसा प्रदर्शनीमा नेपालका विभिन्न जातजातिका भेसभुसा लगाएर उक्त समुदायको तथा पहिरनको बारेमा वर्णन गरिएको थियो भने फोटो प्रदर्शनीमा विभिन्न समयमा लिइएका तस्बिरहरूलाई छानेर प्रदर्शनीमा राखिएको थियो।
एक दशकमै नेपालका विभिन्न कठिनाइहरूमा समर्पित रहेर आफ्नो सेवा प्रदान गरेकोमा नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङले हिमालय एयरलाइन्सलाई धन्यवाद दिँदै आगामी दिनमा यसको उन्नतिको कामना गरे। उनले दुवै देशका उद्यमीहरूको संयुक्त लगानीमा सञ्चालित एयरलाइन्सको प्रगति भनेको दुई देशको मैत्री सम्बन्ध र साझा भविष्यको जीत रहेको बताउँदै हिमालय एयरलाइन्सको सकारात्मक उपस्थितिको खुलेर तारिफ गरेको थिए।
कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरणका उपमहा निर्देशक श्री देव चन्द्र लाल कर्णले हिमालय एयरलाइन्सलाई नेपालका वर्तमान एयरलाइन्स कम्पनीहरूभन्दा अग्रस्थानमा ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले चीन-नेपाल संयुक्त उपक्रमको प्रशंसा गर्दै यस्ता उपक्रमहरू ठुलो सङ्ख्यामा थपिनुपर्ने आशा व्यक्त गर्नुभयो, जसबाट नेपालको हवाई क्षेत्र राम्रोसँग फस्टाउन सक्नेछ।
स्वागत मन्तव्य प्रस्तुत गर्दै हिमालय एयरलाइन्सका अध्यक्ष चोउ अन्योङले आफ्नो मुख्य उद्देश्य भनेको नेपालको विश्व सङ्ग जोड्ने हवाई सेतु निर्माण गर्ने रहेको र यो दस वर्षमा त्यस तर्फ धेरै काम भएकोमा खुसी व्यक्त गरे। "नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भुजडित राष्ट्र बनाउने योजना सहित थालिएको यो यात्राले पूर्णता पाउँदै गएको छ।" उनले भने।
हिमालय एयरलाइन्सको उडान सञ्चालनको दस वर्ष र नेपाल चीन मैत्री सम्बन्धको ७० वर्ष पुगेको यस अवसरमा नेपाल र चीनको मैत्री सम्बन्ध अझै गाढा र सुमधुर रहने तथा नेपाल तथा विश्वको आकाशमा हिमालय एयरलाइन्सको प्रभाव बढाउँदै जाने विश्वास गर्न सकिने कार्यक्रमको निष्कर्ष रहेको थियो।