एस् ए टी भी ०८ वैशाख, काठमाडौँः कर्णाली र सुदूरपश्चिमका दुर्गम भेगका युवाका लागि गाउँघरमै उद्यम गर्नु सपना बराबर हो । उनीहरूमध्ये अधिकांश रोजगारीका लागि भारतका दिल्ली, मुम्बईजस्ता ठूला सहर पुग्छन् या हिमाचलमा स्याउको भारी बोक्न र कालापहाडमा बाटो खन्न जाने गर्छन् । तर, जुम्ला तिला गाउँपालिका–१ का रावत दाजुभाइ भने आफ्नै ठाउँमा आइसक्रिम उद्यम गरेर स्थानीय युवाका लागि प्रेरणा बनेका छन् ।
जेठा धनबहादुर, माइला मोहनराज, साइला नन्दु र कान्छा वीरेन्द्र गरी चार दाजुभाइको आइसक्रिम व्यवसाय निकै लोभलाग्दो छ । उनीहरू एकाबिहानै ठेलामा आइसक्रिम सजाउँछन् ।
अनि खलंगाका चोक र गल्लीमा दिनभर ठेला गुडाउँदै आइसक्रिम बेच्छन् । एक वर्षदेखि आइसक्रिम बेच्दै आएका राउत दाजुभाइलाई ग्राहकले ‘आइसक्रिम दाइ’ भनेर बोलाउन थालेका छन् । गर्मीमा उनीहरूको आइसक्रिम निकै बिक्री हुन्छ । फोन गरेरसमेत आइसक्रिमको अर्डर गर्नेहरू बढेका छन् । ‘पहिले ठेला गुडाइरहँदा अप्ठ्यारो महसुस हुन्थ्यो, अहिले यसमै भविष्य देखिरहेको छु,’ माइला मोहनराज भन्छन् ।
हिमाली जिल्ला जुम्लामा आइसक्रिमको व्यापार गर्ने योजना कसरी फुर्यो त ? मोहनराज कुखुरापालन गर्ने भन्दै दुई वर्षअघि नेपालगन्ज निस्किए । बाटोमा ठेला गुडाएर आइसक्रिम बेचिरहेको देखे । आइसक्रिम किनेर स्वाद मात्रै लिएनन् । जुम्ला फर्केर आइसक्रिमको व्यापार गर्ने निश्चय पनि गरे । तर, एक्लै सम्भव थिएन । उनको प्रस्तावमा दाजुभाइ सहमत भए । ‘जुम्लामा आइसक्रिमको व्यापार कसैले नगरेको, गर्मी पनि बढ्दै गएको र सस्तोमै सामान किनेर बनाउन मिल्ने जस्ता कारणले व्यवसायमा तान्यो,’ मोहनराज भन्छन् ।
तीनवटा फ्रिज, चार ठेला र अन्य सामानका लागि १९ लाख रुपैयाँ लगानी गरे । आइसक्रिमको ब्रान्ड पनि जुराए, पूजा । आइसक्रिम बनाउन दुईवटा मेसिन छन् । उनीहरू बाहिरबाट आउने दूध प्रयोग गर्दैनन् । स्थानीय गाईभैंसीको दूध किन्छन् । रातभर खटिएर कुल्फी, बरफ र अन्य परिकार बनाउँछन् ।
‘स्थानीय किसानलाई समेत हौसला बढाउने हाम्रो उद्देश्य हो,’ धनबहादुरले भने । अहिलेसम्म व्यवसायमा २२ लाख लगानी गरिसकेका छन् । खलंगामा केही वर्षयता हिउँ पर्न छाडेपछि हिउँदका महिनामै आइसक्रिमको व्यापार हुन थालेको छ । जाडो सिजनमा तुलनात्मक रूपमा कम बिक्री भए पनि बाह्रै महिना व्यापार भइरहेको धनबहादुरले बताए ।
बजारका केही पसलमा फाट्टफुट्ट पाइने आइसक्रिमको ठेला टोलमै पुग्न थालेपछि स्थानीय पनि दंग छन् । बूढाबूढी, युवायुवतीदेखि बालबालिका सबैको रोजाइमा उनीहरूको आइसक्रिम परेको छ । दैनिक ३ सयभन्दा बढी ग्राहकलाई सेवा दिइरहेका हुन्छन् ।
जुम्लाको बसपार्क, विमानस्थल क्षेत्र, जुम्ला बहुमुखी क्याम्पसदेखि बालमन्दिर क्षेत्रमा उनीहरूको ठेला दिनभरि गुड्छ । ‘पहिलो वर्ष ८ लाख कमायौं । यो वर्ष पनि ८/९ लाख रुपैयाँ कमाउने लक्ष्य राखेका छौं,’ मोहनराजले भने ।