एस् ए टी भी ०५ वैशाख, काठमाडौँः त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस संस्थान (CITU) ले आज “चिनियाँ भाषा: समय र स्थान पार गर्ने उपहार” भन्ने मूल नाराका साथ संयुक्त राष्ट्रसंघ चिनियाँ भाषा दिवस २०२५ को अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर शि यू, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. खड्ग के.सी., कन्फ्युसियस संस्थान (TU) का नेपाली पक्ष निर्देशक बलराम दुवाल र चिनियाँ पक्ष निर्देशक चाङ सिङनियनजस्ता विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै निर्देशक बलराम दुवालले चिनियाँ भाषालाई केवल दुई मुलुकबीचको सेतु नभई सभ्यता जोड्ने माध्यमका रूपमा वर्णन गरे। “कन्फ्युसियसको ज्ञान र ली पाईको कविता चिनियाँ भाषामा मिसिएर काठमाडौँका पुराना गल्लीदेखि बेइजिङका व्यस्त सहरसम्म मानिसहरूलाई जोड्ने शक्ति बनिसकेको छ,” उनले भने।
हाल त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस संस्थानमा चिनियाँ भाषा सिक्न चाहने विद्यार्थीहरूको संख्या तीव्र रूपमा बढ्दै गएको र यसले नेपाल–चीन मित्रताको पूललाई अझ बलियो बनाउने विश्वास गरिएको छ। स्वयंसेवक शिक्षकहरूको समर्पण र ज्ञान बाँड्ने इच्छाशक्ति नै चिनियाँ भाषा नेपालभर लोकप्रिय हुन सक्ने आधार भएको पनि आयोजकले जनाए।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. खड्ग के.सी. ले चिनियाँ भाषालाई चीनको “सफ्ट पावर”को रूपमा उल्लेख गर्दै, चीन विश्वको आर्थिक महाशक्ति बन्नु अघि नै चिनियाँ भाषा विश्वभर फैलिन थालेको बताए। उनले अरनिको र भृकुटीजस्ता नेपाली व्यक्तित्वको चीनको इतिहासमा विशेष महत्व रहेको स्मरण गर्दै चीन र नेपालबिचको सदियौँ पूरानो मित्रता रहेको उल्ल्केह गरे। सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन विश्वविद्यालयमा स्थापना गरिएको कन्फ्युसियस संस्थानलाई अत्यन्त प्रभावकारी र ऐतिहासिक कदमको रूपमा स्मरण गर्दै उनले यसको प्रभावकारिता बढ्दै जानु पर्नेमा जोड पनि दिए।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरूले माहोल झन् उल्लासमय बनायो। त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीहरूले चिनियाँ पङ्खा नृत्य प्रस्तुत गर्दा एल.आर.आई. स्कूलका बालबालिकाहरूले नेपाली सांगीतिक धुनमा आकर्षक नृत्य गरे। पोखराको पीएन क्याम्पसका शोधार्थीहरूले चिनियाँ भाषामा कविता वाचन गरे। यसै अवसरमा चिनियाँ क्यालिग्राफी प्रदर्शन, विभिन्न खेलकुद कार्यक्रम लगायतले कार्यक्रममा झनै रौनक थप्यो।
त्यसैगरी, छिङहाई मिन्चु विश्वविद्यालयका प्रतिनिधिले चिनियाँ भाषा सिक्न सहज तरिकाहरूबारे जानकारी गराउँदै भिडियो सन्देशमार्फत “ली पाईका कविताहरू पढेमा भाषाको गहिरो भाव बुझ्न सकिन्छ” भन्दै सुझाव दिए।
समापन मन्तव्यमा चिनियाँ पक्ष निर्देशक चाङ सिङनियनले चिनियाँ भाषाको अन्तर्राष्ट्रिय प्रभावका साथै चीनको आर्थिक विकासमा यसको भूमिकाबारे प्रकाश पारे। उनले भने, “त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस संस्थान चिनियाँ भाषा सिकाइमा पूर्ण रूपमा समर्पित छ।”
नेपालभर चिनियाँ भाषा सिक्नेको रुचि बढ्दो छ। यस भाषाले निकट भविष्यमै रोजगारका थुप्रै अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको छ। त्रिभुवन विश्वविद्यालय स्थित कन्फ्युसियस संस्थानले नेपालमा चिनियाँ भाषा प्रवर्धनका लागि गरेको प्रयास सराहनीय रहेको संस्थाका एक विद्यार्थीले बताए।
यसै वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाइँदै गर्दा चिनियाँ भाषाको विकासले दुई मित्र राष्ट्रबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास गरिएको छ।