एस् ए टी भी २७ चैत्र, काठमाडौँः चाइना हार्बर इन्जिनियरिङ कम्पनीको लगानीमा निर्माण सम्पन्न गरी रसुवामा अवस्थित ७८ मेगावाट क्षमताको सान्जेन खोला जलविद्युत आयोजना आज राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
सिनो हाइड्रो ११औँ ब्युरो अन्तर्गत रही सालासुङगि पावर लिमिटेडले सञ्चालनमा ल्याएको आयोजनाको पूर्ण क्षमता ७८ मेगावाट रहेको र सुख्खा सिजनमा २२ देखि २४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने निर्माण कम्पनीले जानकारी दिएको हो। उक्त आयोजनाले नेपालको औद्योगिक क्षेत्रमा हुने लोडसेडिङ तथा सुख्खा मौसममा भारतबाट विद्युत् आयात गर्नु पर्ने बाध्यतालाई केही हद सम्म कम गर्ने विश्वास लिइएको छ।
आयोजनाले रसुवा तथा वरपरका स्थानीय बासिन्दालाई दैनिक जीवनमा थप सहयोग पुर्याउनेछ। सन् २०१८ मा सुरुवात भएको यस आयोजनाले बिचमा विभिन्न बाधाहरू खेप्नु पर्यो। कोभिड १९ को महामारी, बारुद जन्य पदार्थ आयातमा भएको अड्चन लगायत थुप्रै व्यवधानका बाबजुद आयोजनाले सफलताको रेखा कोरेको छ।
कार्यक्रममा उपस्थित ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काले नेपालको विकास विद्युतीय उत्पादनको बढोत्तरीले नै सम्भव हुने बताउँदै आगामी दस वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा यस्तै छिमेकी सहयोगले बल थप्ने विश्वास व्यक्त गरे।
उनले चिनियाँ कम्पनी चाइना हार्बरले ठुला ठुला आयोजना हरू सम्पन्न गरेको बताउँदै नेपालमा रहेका कर्णाली चिसापानी जस्ता ठुला आयोजना निर्माणमा सहयोगको अपेक्षा पनि गरे।
नेपाल स्थित चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले नेपालको विकासमा चीन जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै यो एक सुरुवात मात्रै भएको बताए। चीनको बिआरआई पहलको एउटा पाटो यस आयोजना पनि रहेको र यसको सफलता पूर्वक सम्पन्नताले उक्त पहललाई थप शक्ति मिलेको बताए।
करिब २१०० मिटर उचाइमा रहेको यस आयोजनाको सम्पन्नताले चिनियाँ कम्पनीको प्राविधिक अब्बलता प्रस्ट भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले जनाए। आफूहरूले यहाँ चाहिँ सकिँदैन भनेर छोडेको ठाउँ भन्दा माथि गएर शून्य डिग्री सेल्सियस भन्दा तलको तापक्रममा पनि सम्पन्न भएको काम देखेर उनी उत्साहित पनि देखिएका थिए। अब नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ लगानी बढ्दै जानेमा उनको विश्वास रहेको छ।
ऋण वितरण भएको २ वर्ष भित्र आयोजना सम्पन्न गरेर चिनियाँ कम्पनीले नेपाली लगानीकर्तालाई लोभ्याएको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले बताए।
साथै चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेडकी मुख्य लेखापाल, चाङ छु फनले नेपालमा अनेक दुख र सङ्घर्षका बाबजुद निर्माण सकिएर उत्पादनको समयमा आइपुगेको यस सफलतालाई अत्यन्तै गौरव तथा इन्जिनियर तथा अन्य कामदारको मेहनत र लगनशीलताको परिणाम भएको बताइन्।
यसरी आयोजनाहरू समयमै सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिनुले चिनियाँ लगानी कर्ता प्रतिको विश्वास बढ्दै जाने र दुई देश बिचको हजारौँ वर्ष पुरानो सम्बन्ध दीर्घकालसम्म यथावत रहन सहयोग पुग्दछ।