नेभिगेसन मेनु

एसिसी महिला एसिया कप: नेपाललाई बलियो भारत चुनौती
सम्पादक:南亚网络电视
समय:2024-07-23 11:59

1721699252_nepall-1200x560

एसिसी महिला एसिया कपमा आफ्नो उद्देश्य कायम राख्न नेपाललाई प्रतियोगिताको दाबेदार टोली भारतविरुद्ध जित अनिवार्य छ।

नेपालसँग मंगलबार रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उत्रँदा भारतको उद्देश्य समूहको शीर्षस्थान हत्याउनु हुनेछ। तेस्रोपल्ट एसिया कपमा पुगेको नेपालले पहिलो खेलमै संयुक्त अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको थियो। अघिल्ला दुई संस्करणका आठ खेलमा जितको स्वाद चाख्न नपाएको नेपाल युएईविरुद्धको जितबाट बढी उत्साहित थियो। तर, आइतबार टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध भने नेपालले लय कायम राख्न सकेन।

पाकिस्तानसँगको नौ विकेटको फराकिलो हारसँगै नेपालको सेमिफाइनल यात्रा कठिन छ। नेपालको प्रतियोगितामा यो नै पहिलो हार हो। यस्तोमा समूह ‘ए’ को अन्तिम खेलमा साबिक विजेता भारतको सामना गर्दा सुखद नतिजाले मात्र नेपालको सेमिफाइनल यात्रा सम्भव हुँदैन। नेपाल आगामी चरणमा पुग्न मंगलबार नै हुने पहिलो खेलमा युएईले जादुमय प्रदर्शन गर्दै दुईपल्टको उपविजेता पाकिस्तानलाई हराउन पर्छ। यस्तो स्थितिमा मात्र नेपालको आगामी यात्रा तय हुने सक्छ। समूहका दुई खेलको समाप्तिमा शतप्रतिशत जितसहित भारतको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ।

समान दुई खेलबाट दुई नै अंक जोडेका पाकिस्तान र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपालभन्दा पाकिस्तान नेट रनरेटमा धेरै माथि छ। प्रतियोगिताकै सफल टोली (सात पल्टको विजेता) माथि जित निकाल्नु नेपालका लागि सहज छैन। भारतले पहिलो खेलमा पाकिस्तानलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि भारतले युएईलाई ७८ रनले स्तब्ध पारेको थियो।

सन् २०१६ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसिया कपमा भारतले नेपाललाई ९९ रनले पराजित गरेको थियो।

टस जितेर पहिले बलिङ गरेको नेपालले भारतलाई निर्धारित २० ओभरमा १२० रनमै रोक्न सफल भएको थियो। तर, १२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २१ रनमै समेटिन पुग्यो। ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसके पनि बलिङमा रुबिना क्षेत्री दुई तथा सीता रानामागर र करुणा भण्डारीले समान एक विकेट लिएका थिए। भारतकी नुजात प्रविण भने रनआउट भएकी थिइन् । रुबिना र सीता आठ वर्षपछि पनि टोलीमा छन्। त्यो प्रतियोगिताको तुलनामा नेपालले ब्याटिङमा केही सुधार छ।

आठ वर्षअघि भएको प्रतियोगितामा ६५ रन पनि कटाउन नसक्ने नेपालले अहिले एक सय रन कटाउन थालेको छ। तर, ओपनिङ र मिडिल अर्डरमा अभैm समस्या छ। पहिलो खेलमा सम्झना खड्काले अविजित ७२ रनको इनिङ खेले पनि पाकिस्तानविरुद्ध उनी चल्न सकिनन्। सीता र उनीबीच पहिलो विकेटका लागि चार रनको मात्रै साझेदारी भयो। १/२ खेललाई अपवादमा लिने हो भने मध्य क्रमका कविता कुँवर, कप्तान इन्दु बर्मा र रुबिना क्षेत्री घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा लयमा नदेखिएको धेरै भइसकेको छ।

पहिलो खेलमा कविता दुई, इन्दु ६ र रुबिना १० रनमा आउट भएका थिए। दोस्रो खेलमा कविताले १३ र रुबिनाले आठ रन बनाए पनि इन्दुले खाता खोल्न सकिनन्। नेपालको योजना पाकिस्तानविरुद्ध १०० रन भन्दामाथि बनाउने र उसलाई १०० रनभन्दा तल नै रोक्ने थियो। तर, आइतबार ती योजना सफल हुन सकेन। इन्दु भन्छिन्, ‘हामीले राम्रो क्रिकेट खेल्न सक्दो प्रयास गरेका हौं। पाकिस्तान राम्रो टोली हो। हामीले योजनाअनुरूप खेल्न सकेनौं ।’

गुल फेरोजा र मुनिबा अलीले पहिलो विकेटका लागि एक सय पाँच रनको साझेदारी गरेपछि नेपालले फराकिलो हार बेहोर्‍यो। राम्रो फिल्डिङ गर्न नसक्दा नेपाली बलरले पाकिस्तानी ओपनरलाई दबाब दिन सकेनन्। बलरले पनि लाइन र लेन्थ राम्रोसँग समाउन सकेनन्। पाकिस्तानले लक्ष्य पछ्याउने क्रममा बाउन्ड्री नभएको कुनै ओभर नै थिएन। तर, कप्तान इन्दु यो नतिजाबाट खुसी देखिन्छिन्। उनी भन्छिन्, ‘यो हाम्रो सिक्ने समय हो। सीता आउट नभएको भए बढी रन बनाउन सक्थ्यौं। उनी रनआउट हुनु टर्निङ प्वाइन्ट बन्यो।’

नेपाल र भारतको खेल हुने पिच ब्याटिङ अनुकूल छ। यही पिचमा भारतले युएईविरुद्ध २०१ र श्रीलंकाले मलेसियाविरुद्ध १८४ रन प्रहार गरेका थिए। तर, बलरले गति र लाइन समाउन सके ब्याटरलाई असहज हुनेछ। स्पिनरहरूले यो पिचमा राम्रो प्रदर्शन गरिरहेका छन्। तर, नेपाललाई स्मृति मन्धाना, शेफाली वर्माको ओपनिङ जोडी र कप्तान हरमनप्रीत कौर तथा ऋचा घोषको मध्य क्रमको जोडीलाई तोड्न सहज भने हुने छैन। पहिलो खेलमा स्मृति र शेफालीले ८५ रनको साझेदारी गरेका थिए। युएईविरुद्ध उनीहरू नचल्दा मध्य क्रमका हरमनप्रीत र ऋचाले ७५ रनको साझेदारी गर्दै ट्वान्टी–२० आईमा भारतका लागि पहिलोपटक २०० रनभन्दा बढीको योगफल बनाउन मद्दत गरेका थिए।

भारतको बलिङ पनि उत्कृष्ट छ। रेणुका सिंह, पूजा वस्त्राकर र दिप्ती शर्माले रन मात्रै होइन, विकेट पनि लिएका छन्। घाइते अफ स्पिनर श्रेयांका पाटिलको स्थानमा टोलीमा भित्रिएकी तनुजा कनवारले पनि चार ओभरमा एक विकेट लिँदा १४ रन मात्र खर्चेर राम्रो प्रदर्शन गरेकी छन्। ऐतिहासिक जितबाट सुरुआत गरेको नेपाललाई भारत प्रतियोगिताको कति बलियो टोली हो भनेर थाहा छ। तर, अघिल्ला दुई खेलमा गरेका गल्तीलाई सुधार गर्दै बलियो भारतलाई चुनौती दिनुबाहेक नेपालसँग विकल्प हुने छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर