जडान गरेरसमेत प्रयोग गरिएका छैनन् एक हजार ७४ उपकरण । मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने एक हजार आठ सय २३ उपकरण पनि थन्किए । महामारीमा अनुदानमा आएका उपकरण पनि प्रयोगविहीन ।
स्टोरमा थन्किएका उपकरण
अक्सिजन कन्सन्ट्रेटर – ९२७ सिरिन्ज पम्प – ३७४ इन्फ्युजन पम्प – २८५ मोनिटर, मल्टिप्यारामिटर – २६८ बिप्याप – १९९ एचएफएनसी – ८६ स्ट्रेलाइजिङ युनिट, युभी – ८२ सिप्याप – ७५ अन्य – ३४९
कोभिड महामारीका वेला आवश्यक परेको भन्दै सरकारले खरिद गरेकादेखि विदेशी दाताले अनुदान दिएकासम्म गरी दुई हजार ६ सय ४५ स्वास्थ्य उपकरण देशका विभिन्न अस्पतालमा प्रयोगमै नल्याई थन्क्याइएका छन् । त्यस्तै, जडान गरेर पनि प्रयोग नगरिएका एक हजार ७४ थान र मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने भए पनि मर्मत अभावमा एक हजार आठ सय २३ उपकरण थन्किएका छन् ।
अनुदानमा प्राप्त भएकाको खरिदमूल्य राज्यसँग नभएकाले यस्ता उपकरण कति मूल्यका हुन् भन्ने यकिन नभए पनि बजारमूल्यका आधारमा करोडौँका छन् ।
स्वास्थ्य सेवा विभागले एसियाली विकास बैंक र लाइफलाइन इन्टरप्राइजेजको सहयोगमा देशभरका ८० स्वास्थ्य संस्थामा भएका उपकरणको अवस्थाबारे सर्वेक्षण गरेको थियो । २०२३ अक्टोबरदेखि गत मार्चसम्म कोशी, मधेश, बागमती, गण्डकी र सुदूपश्चिमका विभिन्न आधारभूत, प्रादेशिक र संघीय अस्पतालका १९ हजार एक सय ७४ उपकरणमा सर्वेक्षण गर्दा ठूलो संख्यामा उपकरणहरू थन्किएको भेटिएको हो । यो सीमित अस्पतालको सर्वेक्षण तथ्यांक भएकाले देशभरका सबै अस्पतालको जोड्दा प्रयोगविहीन उपकरण अझ धेरै छन् ।
बागमतीमा सात हजार ९७१, कोशीमा तीन हजार ५१६, मधेशमा दुई हजार ७५४, सुदूपश्चिममा दुई हजार ७११ र गण्डकीमा दुई हजार २२२ उपकरणहरूको सर्वेक्षण गरिएको थियो । यी उपकरणमध्ये ५० प्रतिशतभन्दा बढी कोभिडको समयमा दाताहरूले अनुदानमा दिएका उपकरण भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
९२७ थान अक्सिजन कन्सन्ट्रेटर, ३७४ थान सिरिन्ज पम्प, २८५ थान इन्फ्युजन पम्प र २६८ थान मोनिटर, मल्टिप्यारामिटर प्रयोग नगरी थन्किएका छन् । त्यस्तै, बिप्याप १९९ थान, एचएफएनसी ८६ थान, स्ट्रेलाइजिङ युनिट, युभी ८२ थान, सिप्याप ७५ थान र अन्य उपकरण ३४९ थान प्रयोगविहीन छन् ।
देशभरकै स्वास्थ्य संस्थामध्ये सबैभन्दा धेरै उपकरण प्रयोग नै नगरि नेपाल आर्मी अस्पतालमा थन्किएका छन् । यहाँ सिरिन्ज पम्प, इन्फ्युजन पम्पलगायत सानादेखि अक्सिजन कन्सन्ट्रेटर, इन्कुबेटर ल्याब्रोटरी, बिप्याप मेसिन, मोनिटर मल्टिप्यारामिटर, ब्लड वार्मर, बायोकेमेस्ट्री एनालाइजर र भेन्टिलेटरजस्ता ठूलासम्म गरी २३६ उपकरण प्रयोगविहीन छन् । अस्पतालले भने ‘ब्याक अप’का लागि आवश्यक रहेको भन्दै यी उपकरणहरू स्टोरमा राखेको जनाएको छ ।
त्यस्तै, स्त्री तथा प्रसूति रोगका लागि देशकै ठूलो परोपकार प्रसूति गृह, थापाथलीमा लामो समयदेखि इन्टेन्सिभ केयरका लागि चाहिने ५ भेन्टिलेटर मेसिनहरू थन्किएका छन् । कोभिडको महामारीबीच ल्याइएका यी मेसिनहरू प्रयोगमा नल्याईकनै ‘ब्याक अप’ का लागि भन्दै स्टोरमा थन्क्याइएको छ । यसबाहेक नौ इन्फ्युजन पम्प पनि जडान नै नगरी राखिएका छन् । इन्फ्युजन पम्प तरल रूपमा रहेका पोषक तत्व र औषधिहरू बिरामीको शरीरमा नियन्त्रित मात्रामा पुर्याउन प्रयोग गरिन्छ । इन्फ्युजन पम्पहरू क्लिनिकल सेटिङहरू अर्थात् अस्पताल, नर्सिङ होम वा घरमा प्रयोग गरिन्छ । अस्पतालमा हालसम्म प्रयोगमा नल्याईकन राखिएका यी इन्फ्युजन पम्पमध्ये पाँच थान इमेर्जेन्सी र दुई थान एमआइसियूमा थन्क्याएर राखिएको छ ।
त्यस्तै, प्रसूतिगृहमा चार थान सिरिन्ज पम्प, एउटा बायोसफ्टी क्याबिनेट, चार मोनिटर मल्टिप्यारामिटर, एउटा डिफ्रिबिलिटर र एउटा इन्फ्यान्ट वार्मर मेसिन प्रयोग नगरी राखिएका छन् । यी मेसिनहरू आवश्यक परेको समयमा प्रयोगमा ल्याउने भन्दै राखिए पनि लामो समयसम्म थन्किँदा बिग्रिने जोखिम उत्तिकै छ । तर, अस्पतालले भने अहिले खाली उपकरण नभएको जनाएको छ । कोभिड महामारीमा ल्याइएका अधिंकास उपकरण अहिले प्रयोगमा नै ल्याइरहेको अस्पतालका निर्देशक डा. श्रीप्रशाद अधिकारीले बताएका हुन् । उनी भन्छन्, ‘कुपण्डोलको भवनमा एचडीयुमा चलाइएका सबै उपकरण हामीले पुरानै भवनको जनरल र आइसियु वार्डमा सारीसकेका छौँ । पुराना बेडहरू हटाएर नयाँ राखेका छौँ भने कतिपय मेसिनहरू नभएका ठाउँमा राखेर सेवा दिइरहेका छौँ । प्रयोगमा नआएका उपकरण अहिले कुनै पनि छैनन् ।’
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुले समेत ३० उपकरण जडान नै नगरी थन्क्याएर राखेको छ । कोभिड महामारीपछि बिरामी कम भएकाले तत्कालका लागि आवश्यक नभएको भन्दै अस्पतालले नौ थान सिरिन्ज पम्प, पाँच थान इन्फ्युजन पम्प, पाँच थान अक्सिजन कन्सन्ट्रेटर र एउटा अटोमेटेड एक्सट्रनल डिफ्रिबिलेटर स्टोरमा राखेको हो । यसबाहेक एउटा मोनिटर मल्टिप्यारामिटर जडान गरे पनि ब्याकअप भन्दै प्रयोगमा नल्याईकन राखिएको छ । टेकुमा सिजनल बिरामीहरूको भिडभाड अत्यधिक हुने भएकाले उपकरणहरू स्टोरमा राख्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । एकैचोटी बिरामी आउँदा तत्काल उपकरण अन्यन्त्रबाट ल्याएर सेवा दिन सम्भव नहुने हुदाँ आउनसक्ने महामार र बिरामीको चापलाई मध्यनजर गर्दै उपकरण ब्याकअपमा राखिएको मेन्टेनेन्स इन्चार्ज प्रज्ववल झा बताउँछन् ।
त्यस्तै, वीर अस्पतालमा पनि करोडौँ मूल्यका १८ मेसिनहरू स्टोरमै छन् । सात थान इन्फ्युजन पम्प, चार थान सिरिन्ज पम्प, एक बिप्याप मेसिन, तीन थान हेमोडायलाइसिस मेसिन, एक थान हट एयर ओभन, एक थान प्लाज्मा स्ट्रेलाइजर, एक थान बायोकेमेस्ट्री एनालाइजर जडान नगरी राखिएका छन् । यसबाहेक जडान गरिए पनि ब्याकअपका लागि भन्दै भेन्टिलेटरसहितका थप १६ थान मेडिकल उपकरण वीरमा प्रयोगविहीन छन् ।
काठमाडौंका यी ठूला अस्पतालमा मात्र नभई संघीय, प्रादेशिकदेखि आधारभूत अस्पतालसम्मै हजारौँ उपकरणहरू प्रयोगविहीन अवस्थामा राखिएका छन् । कतिपय अस्पतालले भवन निर्माण भएसँगै प्रयोगमा ल्याउने भन्दै स्टोर गरेका छन् भने कतिपयले पछि काम आउन सक्ने भन्दै राखेका छन् । तर, वर्षौँसम्म विनाप्रयोग स्टोरमा राख्दा उपकरणहरू बिग्रिने अवस्थामा पुगेका छन् ।
यी अस्पतालमा थन्किए उपकरण
वीर अस्पताल, प्रसूतिगृह, टेकु अस्पताल, आर्मी अस्पताल, कान्ति बाल अस्पताल, कीर्तिपुर अस्पताल, भक्तपुर प्रादेशिक अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, हेटौँडा अस्पताल, बघौडा अस्पताल, जिरी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, जनकपुर अस्पताल, चौतारा अस्पताल, मेथिनकोट अस्पताल, प्रादेशिक अस्पताल गौर, कटारी अस्पताल, भोजपुर अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, दमक अस्पताल, कोशी अस्पताल, मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टर, रंगेली अस्पताल, धनकुटा अस्पताल, रामेछाप अस्पताल, पाँचथर अस्पताल, बर्दिवास अस्पताल, प्रादेशिक अस्पताल सिराहा, रामकुमार मेमोरियल अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, इलाम अस्पताल, ताप्लेजुङ अस्पताल, प्रादेशिक अस्पताल कलैया, उदयपुर अस्पताल, भारदह अस्पताल, मुस्ताङ अस्पताल धौलागिरि प्रादेशिक अस्पताल, चन्द्रनिगाहपुर अस्पताल, रुम्जाटार अस्पताल, बेनी अस्पताल, बाजुरा अस्पताल, बझाङ अस्पताल, महाकाली प्रादेशिक अस्पताल, गोरखा अस्पताल, दार्चुला अस्पताल, मंगलसेन अस्पताल, सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, मालाखेती अस्पताल, डडेल्धुरा अस्पताल, जोडबुडा अस्पताल, जिपी कोइराला राष्ट्रिय केन्द्र, दमौली अस्पताल, पर्वत अस्पताल, मनाङ अस्पताल, खोटाङ अस्पताल, पोखरिया अस्पताल, सोलखुम्बु अस्पताल, इनरुवा अस्पताल, सुन्दरबजार अस्पताल, बैतडी अस्पताल, सिसवा अस्पताल, मैत्री शिशु अस्पताल, स्याङ्जा अस्पताल, चापाकोट अस्पताल
८० अस्पतालमा सर्वेक्षण गर्दा महामारीमा अनुदान आएका धेरैजसो सामानहरू थन्किएको पायौँ : डा. श्रवणकुमार थापा, निर्देशक व्यवस्थापन महाशाखा, स्वास्थ्य सेवा विभाग
सर्वेक्षणको क्रममा कोभिड महामारीको समयमा अनुदानमा आएका सामानहरू धेरैजसो थन्किएका छन् । देशभरिबाट थप उपकरणको माग बढिरहेको छ, तर केही अस्पतालमा उपकरण थन्किएको भन्ने सुनिएपछि ८० अस्पतालमा उपकरणको अवस्था सर्वेक्षण गर्यौँ । अधिकांश अस्पतालले ब्याकअपका लागि भनेर उपकरण स्टोर गरेका छन् । अब मन्त्रालयसँग समन्वय गरेर थन्किएका ती उपकरण आवश्यक भएका अन्य अस्पतालमा पठाउने तयारी गरिरहेका छौँ । अब उपकरण दिँदा पनि आवश्यक हुँदा चलाउने र आवश्यक नपरेको अवस्थामा अन्य स्वास्थ्य संस्थामा पठाउने गरी सम्झौता गरेर मात्र दिने निर्णय गरेका छौँ । अहिले एउटा स्वास्थ्य संस्थालाई दिइसकेका उपकरण फिर्ता ल्याउन कुनै यकिन कार्यविधि नभएकाले त्यति सजिलो छैन ।
अस्पतालहरूमा भएका २९ प्रतिशत उपकरण प्रयोगविहीन
अस्पतालहरूमा रहेका उपकरणमध्ये बिग्रिएर, जडान नगरेर र प्रयोग नगरेर २९% थन्किएको सर्वेक्षणले देखाएको छ । यसमध्ये जडान गरेर पनि प्रयोग नगरिएका एक हजार ७४ थान अर्थात् ६% छन् । त्यस्तै, एक हजार ८२३ अर्थात् ९% सामग्री मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने भए पनि मर्मत अभावमा थन्किएका छन् । दुई हजार ६४५ थान अर्थात् १४% उपकरण जडान नै नगरी थन्किएका हुन् । उपकरणको अवस्था अपडेट गर्न अनिवार्य गरिएको डिजिटल लगबुक जिन्सी व्यवस्थापन प्रणालीसमेत कार्यान्वयनमा नल्याउँदा समस्या भइरहेको हो । सर्वेक्षण गरिएका अस्पतालहरूमा बायोमेडिकल उपकरण व्यवस्थापनका लागि डिजिटल प्रणाली कार्यान्वयनमा नल्याउँदा समस्या भएको स्वास्थ्य सेवा विभागको निष्कर्ष छ ।