नेभिगेसन मेनु

भारतीय मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु
सम्पादक:南亚网络电视
समय:2024-04-16 11:27

murrah-(1)

वैशाख ४ गते । गएको कात्तिक दोस्रो साता नेपाल ल्याइएका भारतीय मुर्रा राँगाहरूबाट वीर्य (सिमेन) सङ्कलन सुरु भएको छ । नेपाली भैँसीको नस्ल सुधारका लागि ल्याइएका मुर्राहरू यहाँको भूगोलमा अनुकूलन गर्दै हुर्किएका हुन् । 

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा ल्याइएका सात राँगामध्ये तीन वटाबाट सिमेन सङ्कलन सुरु भइसकेको छ । बाँकी चार वटा राँगासमेत सिमेन सङ्कलनअघि आवश्यक पर्ने तालिममा रहेको कार्यालय प्रमुख डा जगदीश पाण्डेले जानकारी दिनुभयो । “भारतबाट ल्याइएका सबै मुर्राको अवस्था राम्रो छ । तीन वटाबाट सिमेन जम्मा गर्न थालिसकेका छौँ, चार वटा तालिममा छन्,” उहाँ भन्नुहुन्छ, “तालिममा रहेकाहरूबाट पनि वैशाख पहिलो वा दोस्रो साताबाट सिमेन सङ्कलन सुरु हुने अपेक्षा छ । चाँडैमा जेठ पहिलो साता र ढिलोमा साउनबाट सिमेन वितरण थाल्छौँ ।”

पोखरामा एक हजार डोजभन्दा बढी सिमेन सङ्कलन भइसकेको छ । सङ्कलन गरिएको सिमेन माइनस एक सय ९६ डिग्री सेल्सियसको तरल नाइट्रोजनमा राख्नुपर्छ । देशैभरिका भेटेरिनरी कार्यालयमार्फत भैँसीको नस्ल सुधारका लागि मुर्राको सिमेन वितरण गर्ने तयारी छ ।

भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये तीन वटा लहान र पाँच नेपालगन्जमा छन् । राष्ट्रिय पशु प्रजनन केन्द्र नेपालगन्जमा रहेका दुई मुर्राबाट सिमेन सङ्कलन सुरु भइसकेको छ भने बाँकी अर्को तालिममा छन् । केन्द्र प्रमुख डा खगेन्द्रराज सापकोटाले चैतबाट सिमेन जम्मा गर्न थालिएको जनाउँदै पाँच सय डोज जम्मा भइसकेको जानकारी दिनुभयो । राष्ट्रिय पशु प्रजनन केन्द्र लहानमा रहेका तीन वटै राँगा अहिले तालिममा छन् । 

पोखरामा हप्तामा दुई पटक सोमबार र बिहीबार सिमेन जम्मा गर्ने गरिएको छ । यहाँ अहिले भारतबाट ल्याइएका सातसहित १८ मुर्रा राँगाबाट सिमेन सङ्कलन भइरहेको राँगा साँढे व्यवस्थापन साखाका पशु प्राविधिक भोजबहादुर थापाले बताउनुभयो । 

सामान्यतया अब सात वर्षसम्म यी राँगाबाट स्वस्थ वीर्य निकाल्न मिल्ने पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा पाण्डे बताउनुहुन्छ । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज सिमेन उत्पादन हुन्छ । यी राँगाको सिमेनबाट कृत्रिम गर्भाधान र प्राकृतिक तवरले पनि नस्ल सुधार गरी दूध उत्पादन बढाउने योजना छ । 

मुर्रा धेरै दूध दिने जातको भैँसी हो । नेपाली रैथाने भैँसीले एक बेतमा एक हजार पाँच सय लिटर हाराहारी दूध दिन्छन् । मुर्रा भैँसीले भने एक बेतमा चार हजारदेखि पाँच हजार लिटरसम्म दूध दिने कार्यालय प्रमुख डा पाण्डे बताउनुहुन्छ । “एकातिर नस्ल सुधार भई अर्को पुस्ताबाट दूध धेरै आउँछ भने तौलसमेत धेरै हुने हुँदा मासुकै लागि पनि फाइदा हुन्छ,” उहाँ भन्नुहुन्छ । 

नेपालमा कुल दश लाख डोज सिमेन उत्पादन हुने जानकारहरू बताउँछन् । तर, कृत्रिम गर्भाधान भने करिब आठ लाख पशुमा मात्र हुने गरेको तथ्याङ्क छ । एक वर्षमा पोखरामा छ लाख, महेन्द्रनगरमा तीन लाख र लहानमा ५० हजार डोज सिमेन सङ्कलन हुने गरेको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर