नेभिगेसन मेनु

अन्नपूर्णको खिबाङ गाउँका घरघरमा खानेपानीका धारा
सम्पादक:南亚网络电视
समय:2024-03-21 15:55

khibang-water-plan-1

चैत ८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ गाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी वितरण हुन थालेपछि एक गाग्री पानी लिन एक घण्टा पैदल हिँड्नुपर्ने खिबाङवासीको वर्षौदेखिको बाध्यता हटेको छ । घरको आँगनमै पानी आउन थालेपछि खिबाङवासीहरु खुसी भएका छन् । 

खिबाङमा एक घर एक खानेपानीका धारा योजनाअन्तर्गत गोर्खा वेल्फेयर ट्रष्टको ७० लाख र स्थानीयवासीको ३१ लाख बराबरको श्रमदान गरी एककरोड एक लाख रुपियाँमा खिबाङ खानेपानी योजना निर्माण भएको ट्रष्टकी कन्ट्रक्सन इन्जिनियर लीला पुन शेरचनले जानकारी दिनुभयो ।

उपभोक्ता समितिमार्फत उक्त योजना ९० दिनमै सम्पन्न भएको हो । गाउँदेखि साढे ६ किलोमिटर दूरीमा रहेका दुईवटा मुहानबाट पानी ल्याएर सात वटा ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ ।

एक सय ३६ वटा निजी र ६ वटा सार्वजनिक स्थलमा धारा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष जयराम विकले जानकारी दिनुभयो । खानेपानी योजना सम्पन्न भएसँगै वर्षौदेखिको खानेपानी समस्या हटेको उहाँले बताउनुभयो । प्रत्येक धारामा मिटर जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

‘‘हामीले वर्षौदेखि धमिलो पानी उपभोग गर्दै आएका थियौं, एक गाग्री पानी लिन एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो ।,’’ स्थानीयवासी रिना बुदुजाले भन्नुभयो, ‘‘अहिले घरको आँगनमै पानीको धारा बनेसँगै सफा र स्वच्छ पानी पिउन पाएका छौं । पानी लिन टाढा जानुपर्ने समयको बचत भएको छ । धेरै भएको पानीलाई तरकारी खेतीमा सिँचाइ गर्न पाएका छौं ।’’

योजनालाई दिगो रुपमा सञ्चालन होस् भनेर मुहान र ट्याङ्कीको संरक्षणमा ध्यान दिइएको ट्रष्टकी कन्ट्रक्सन इन्जिनियर शेरचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले योजनाको गुणस्तरमा कुनै कमी हुन दिएका छैनौं । मुहानदेखि पाइपलाइन, वितरण ट्याङ्की र धारा निर्माणमा उच्च गुणस्तर सहित प्रविधिको प्रयोग गरेका छौं ।’’ योजनाको समान्य मर्मत सम्भारका लागि गाउँमै प्राविधिक तयार पार्न योजना निर्माणको अवधिमा स्थानीयहरुलाई समेत परिचालन गरिएको उहाँको भनाइ थियो ।

गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ता समितिले छोटो समयअवधिमा खानेपानी योजना सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । योजनाबाट खिबाङका सातसय २० जनसङ्ख्या लाभान्वित भएको उहाँले बताउनुभयो ।

यसैगरी, ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयवासीको श्रमदानबाट गाउँपालिका–४ नारच्याङको छेम्दीटोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । योजनाबाट छेम्दीटोलका ७२ घरधुरी लाभान्वित भएका छन् ।

वडा नम्बर ४ को पटारमा निर्माण भएको खानेपानी आयोजनाबाट २९ घरधुरी, वडा नम्बर–३ को दाना बजारमा ५१, दुवाडीमा–२६ र काभ्रेमा ७५ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टले जनाएको छ । सम्पन्न भएका सबै योजनाबाट करिब एकहजार नौसय जनसङ्ख्या लाभान्वित भएका छन् ।

आगामी आर्थिक वर्षमा वडा नम्बर ४ को बेसी र लेक गाउँमा गरी दुईवटा योजनाका लागि  एक करोड १५ लाख रुपियाँ बराबरको बजेट व्यवस्थापन भएको गोर्खा वेल्फेयर ट्रष्टले जानकारी दिएको छ ।

गाउँपालिकाले सबै वस्तीहरुमा एक घर एक धारा निर्माण योजनालाई प्राथमिकतामा राखेर विभिन्न संघ सस्थाहरुको सहयोगमा योजनाहरु सञ्चालन गरेको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । खानेपानीको चरम समस्या भएका बस्तीहरुमा खानेपानीका योजनाहरु निर्माण गरेर  गोर्खा वेल्फेयरले पालिकालाई सहयोग गरेको उहाँले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर