नेभिगेसन मेनु

हमासबाट मारिएकाको परिवारलाई आजीवन भत्ता
सम्पादक:南亚网络电视
समय:2024-03-14 13:25

hamas2024-03-14-06-23-35

चरमपन्थी संगठन हमासको हमलामा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले भत्ता दिन थालेको छ । आक्रमणमा परी बेपत्ता कञ्चनपुरका विपिन जोशीको परिवारलाई पनि भत्ता उपलब्ध गराइएको छ । इजरायली राजदूत हनान गोडरले मंगलबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यसको जानकारी गराएका छन् । 

इजरायलको प्यालेस्टाइन सीमावर्ती सहरमा २० असोजमा हमास समूहले गरेको आक्रमणमा किबुजस्थित कृषि फार्ममा इन्टर्न गरिरहेका १० नेपाली विद्यार्थीको निधन भएको थियो । आक्रमणमा परेका कञ्चनपुरका जोशी अझै बेपत्ता छन् । उनलाई बन्धक बनाइएको बताइएको छ । पटक–पटकको प्रयासमा पनि उनको रिहाइ हुन सकेको छैन । 

राजदूत गोडरका अनुसार मारिएका विद्यार्थीका बुबा–आमालाई इजरायल सरकारले आजीवन भत्ताको व्यवस्था गरेको छ । त्यस्तै, हमासको बन्धक रहेका जोशीसहित एक सय ३४ जनाको परिवारलाई पनि मासिक रूपमा भत्ता दिन थालिएको उनले बताए । 

आक्रमणमा परेर निधन भएका नेपालीका परिवारजनलाई इजरायली कानुनअनुसार त्यहाँकै नागरिकसरह आजीवन भत्ता दिन थालिएको राजदूत हनान गोडरले बताए । ‘इजरायलमा रहेका नेपालीहरू हाम्रा अतिथि होइनन्, हाम्रो परिवारका सदस्य हुन् । हाम्रो कानुनले आतंककारी हमलाका इजरायली र नेपाली पीडितलाई समान व्यवहार गर्दछ,’ राजदूत गोडरले नयाँ पत्रिकासँग भने, ‘आतंककारी हमलामा मारिएका नेपाली विद्यार्थीहरूको परिवारलाई जीवनभरिका लागि मासिक भत्ता आउन थालेको छ । परिवारको नेपाली बैंकको खातामा स्टेट इन्सुरेन्स अफ इजरायलबाट सीधै पैसा पठाउन थालिएको छ ।’

राजदूत गोडरले मृतकका परिवारलाई उल्लेख्य रकम आउन थालेको बताए तर, उनले रकम खुलाएनन् । ‘सुरुमा कागजपत्र मिलाउने प्रक्रियागत काम मिलाउन अलिक समय लाग्यो, पीडित परिवारले अहिले नियमित रूपमा आजीवन भत्ताका रूपमा रकम पाइरहेका छन्,’ राजदूत गोडरले भने, ‘उहाँहरूले परिवारजन गुमाउनुभएको छ । त्यसको क्षतिपूर्ति केहीले पनि हुँदैन । तर, इजरायलको कानुनअनुसार उहाँहरूलाई जीवनभरि भत्ताको व्यवस्था गरेका छौँ ।’ 

गत भदौमा इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये हमासको हमलामा १० जनाको निधन भएको थियो । इजरायल सरकारको सहयोगमा मृतक सबैको शव नेपाल ल्याइएको थियो । तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले इजरायल पुगेरै कतिपय नेपालीलाई उद्दार गरेर ल्याएका थिए । 

हमासको हमलामा घोडाघोडी– ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी– ६ बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३ कैलालीका आशिष चौधरी, लेखम– ५ दार्चुलाका दीपेशराज बिष्ट, पचनली– ३ डोटीका राजन फुलारा, लामिखाल– ८ डोटीका पदम थापा, शारदा– ३ सल्यानका प्रवेश भण्डारी, मल्लिकार्जुन– ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६ धनुषाका आनन्द साह, मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो । 

आक्रमणस्थलबाटै त्रिवेणी– १ सल्यानका प्रमोद केसी र भजनी त्रिशक्ति– ४ कैलालीका वीरेन्द्र चौधरीलाई उद्दार गरेर इजरायली प्रहरीले राजधानी तेलअभिभ हुँदै नेपाल पठाएको थियो । ग्रिनेटको छर्रा लागेर शारदा– २ सल्यानका विधान सेजवाल, डाँगीशरण– ३ दाङका रविन डाँगी, टीकापुर– ९ कैलालीका धनबहादुर चौधरी र गोर्खा– ८ गोर्खाका हिमाञ्चल कट्टेल घाइते भएका थिए ।  

मृतक १० जना विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लन एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका थिए । उनीहरूसहित सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार उनीहरू कृषि कार्यका लागि गएका थिए । 

इजरायी राजदूत गोडरले मंगलबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारमा भेटेर परिवारजनले आजीवन भत्ता पाउन थालेको जानकारी दिएका थिए । राजदूत गोडर पीडित परिवारका घरमा पनि पुगेका छन् । ‘म केही पीडित परिवारको घरमा पुगेको छु । म सबैको घर पुग्नेछु । त्यसलाई मैले आफ्नो दायित्व ठानेको छु,’ गोडरले भने । 

राजदूत गोडरले कञ्चनपुरका विपिन जोशी हमासको कब्जामा रहेको र उनीसहित १३४ जनाकै मुक्तिका लागि इजरायलले प्रयास गरिरहेको बताए । ‘नेपालले आफ्ना कूटनीतिक च्यानल र सम्पर्कहरूको प्रयोग गर्नुपर्छ । हामी पनि आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्छौँ,’ गोडरले भने, ‘इजरायलको सेनाका तर्फबाट जोशीको परिवारलाई यसबीचमा भिडियोमार्फत कुराकानी गरिएको छ । इजरायलका लागि नेपाली राजदूत र म पनि त्यो भिडियो कन्फरेन्समा सहभागी थियौँ । हामी आफ्नो ठाउँबाट जोशीको मुक्तिका लागि प्रयासरत छौँ ।’  गोडरले जोशीलाई आफूले व्यक्तिगत रूपमा चिनेको र उनलाई इजरायल जाने वेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफैँले बिदाइ गरेको पनि सुनाए । 

आतंककारी हमलामा परेका इजरायली र नेपालीलाई हाम्रो कानुनले समान व्यवहार गर्दछ

इजरायलमा रहेका नेपालीहरू हाम्रा अतिथि होइनन्, हाम्रो परिवारका सदस्य हुन् । हाम्रो कानुनले आतंककारी हमलामा परेका इजरायली र नेपाली पीडितलाई समान व्यवहार गर्दछ । आतंककारी हमलामा मारिएका नेपाली विद्यार्थीको परिवारलाई जीवनभरिका लागि मासिक भत्ता आउन थालेको छ । परिवारको नेपाली बैंकको खातामा स्टेट इन्सुरेन्स अफ इजरायलबाट सीधै पैसा पठाउन थालिएको छ ।

भत्ता होइन, विपिनको सकुशल उद्धार हाम्रो माग हो

महानन्द जोशी(बेपत्ता विपिन जोशीका पिता)

इजरायलले युद्धमा मारिएका र बेपत्ता भएका परिवारलाई राहतस्वरूप भत्ता दिने निर्णय गरेअनुसार इजरायली दूतावासले हाम्रो परिवारलाई पनि सहयोग गरेको छ । नियमअनुसार यो काम भएको छ । तर, भत्ताभन्दा पनि विपिनको सकुशल उद्धार हाम्रो माग हो । यसमा सरकारले के गरिरहेको छ ? विपिनको अवस्था के छ ? हामीलाई जानकारी दिनुपर्ने हो । सरकार गम्भीर भएर लागिदिनुपर्‍यो । 

केही राहत महसुस भएको छ, छोराको पूर्ति त कसरी होला ?

हरिकृष्ण न्यौपाने(इजरायलमा मारिएका नारायणप्रसाद न्यौपानेका पिता)

इजरायल सरकारले आर्थिक सहयोग दिन थालेको छ । मासिक रूपमा दिने भनेको छ । तर, कति दिने थाहा छैन । गत महिना मेरो बैंक खातामा २२ लाख रुपैयाँ पठाएको थियो । त्यो क्षतिपूर्ति हो कि मासिक रकम थाहा भएन । अर्को महिना पैसा आएपछि मासिक कति दिने रहेछ थाहा होला । रकम पाएपछि केही राहत महसुस त भएको छ । तर, त्यसले छोराको पूर्ति त कसरी होला ? 

यी हुन् इजरायलमा ज्यान गुमाएका १० विद्यार्थी

गत भदौमा इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये हमासको हमलामा १० को निधन भएको थियो । कैलालीको घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने र बौनियाँ– ३ का आशिष चौधरी, बझाङको जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, दार्चुलाको लेकम– ५ का दीपेशराज विष्ट र मल्लिकार्जुन– ४ का लोकेन्द्रसिंह धामी, डोटीको पचनली– ३ का राजन फुलारा र लामिखाल– ८ का पदम थापा, सल्यानको शारदा– ३ का प्रवेश भण्डारी, धनुषाको सपही– ६ का आनन्द साह, सुनसरीको मधुवन– १ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर