नेभिगेसन मेनु

नागढुंगा सुरुङमार्गको निर्माणका लागि तेस्रोपटक म्याद थप गरिँदै
सम्पादक:南亚网络电视
समय:2024-03-08 12:45

surung-marga-mk-6-scaled

सिस्नेखोला–नागढुंगा सुरुङमार्ग बनाइरहेको जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले ठेक्काको म्याद एक वर्ष थप्न प्रस्ताव गरेको छ । कम्पनीसँग गरेको ठेक्का सम्झौताको म्याद आगामी २५ अप्रिलमा सकिँदै छ । तर, त्यो अवधिमा काम नसकिने भएपछि कम्पनीले म्याद थप गर्न सडक विभागलाई पत्राचार गरेको हो ।  

सरकारले यसअघि पनि कम्पनीलाई दुईपटक गरेर एक वर्ष म्याद थप गरिसकेको छ । दुईपटक थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि पुनः म्याद थप गर्ने प्रक्रिया अघि बढाएको विभागका एक उच्च अधिकारीले बताए । ‘अहिलेकै सम्झौता अवधिमा काम सकिन्न । राम्रोसँग काम गर्न सकेमा सुरुङमार्ग ब्रेक थ्रु भएको एक वर्षमा काम सम्पन्न गर्न सकिन्छ । सोहीअनुसार एक वर्षकै हाराहारीमा म्याद थप्ने प्रस्ताव आएको छ,’ उनले भने, ‘त्यसमा प्रारम्भिक प्रक्रियासमेत अघि बढिसकेको छ । यसमा छिट्टै औपचारिक निर्णय हुन्छ ।’

सुरुङमार्ग निर्माणका लािग सडक विभाग र कम्पनीबीच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएको थियो । त्यसको ४२ महिना अर्थात् अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने पहिलो सम्झौता थियो । तर, बीचमा कोरोना महामारीलगायतका कारण पनि आयोजनाको निर्माण कार्य प्रभावित भयो । त्यसपछि दुईपटक म्याद थप गरेर अप्रिल ०२४ सम्म पुर्‍याइएको थियो । तर, गत वर्ष अस्थायी रूपमा क्रसर बन्द हुने, भौगोलिक जटिलता आउनेलगायत कारण परियोजनाको निर्माण कार्य प्रभावित भएको थियो । सोही अवस्थालाई दृष्टिगत गर्दै म्याद थप गर्न आवश्यक रहेको स्रोतको भनाइ छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि उक्त ठेक्काको म्याद थप गर्नुपर्ने बताए । ‘यसबारे मलाई औपचारिक जानकारी आइसकेको छैन । यद्यपि, यस ठेक्काको म्याद थप भने गर्नुपर्छ नै,’ उनले भने, ‘साथै, यस परियोजनाको निर्माण कार्यबाट हामी पनि सन्तुष्ट छौँ । पहिलो सम्झौता म्यादमै काम नभए पनि अन्य ठूला परियोजनाको तुलनामा यसको निर्माण द्रुत गतिमा अघि बढेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

यद्यपि, स्थानीयको अवरोधका कारण परियोजनाको निर्माण कार्य ६ फागुनदेखि ठप्प छ । फलस्वरूप २३ फागुनमा गर्ने भनिएको मुख्य टनेलको ब्रेक थ्रुसमेत अन्योलमा छ । खानेपानीको व्यवस्था गर्नुपर्ने, टनेलमाथिको जग्गाको मुआब्जा पाउनुपर्ने, प्रभावित क्षेत्र घोषणा गर्नेुपर्नेलगायत मागसहित स्थानीयले ६ फागुनदेखि आयोजनामा निर्माण कार्य गर्न दिएका छैनन् । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब १४ मिटरखण्ड मात्रै खन्न बाँकी छ, जुन पाँच दिनमा खन्न सकिन्छ । स्थानीयसँग ठोस सहमति नभएका कारण अझै काम सुरु हुन सकेको छैन । साथै, कहिलेदेखि काम सुरु हुन्छ भन्नेमा पनि अन्योल छ ।

यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल भने २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको छ । तर, स्थानीयको अवरोधका कारण मुख्य टनेलको ब्रेक थ्रुसँगै परियोजना निर्माणको सबै काम अन्योलमा छ । 

कति सकियो काम ? 

आयोजना कार्यालयको तथ्यांकअनुसार सुरुङ खन्नेतर्फ ९९ प्रतिशतभन्दा बढी काम भइसकेको छ । रेस्क्यु टनेलसँगै एक सय २६ मिटरको वर्किङ अडिट र एक सय २८ मिटरको क्रस प्यासेज खन्ने काम सकिएको छ । आयोजनाको समग्र भौतिक प्रगति भने ६१.१५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ६३.९६ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । हालसम्म परियोजनाको ११ वटा संरचना तयार भइसकेको छ ।

आयोजनामा बन्ने १२ संरचनामध्ये तीन अन्डरपास र चार बक्स कल्भर्ट (माथि गाडी गुड्ने, तल पानी बग्ने संरचना)को निर्माण सकिएको छ । यसैगरी, एक ओभरपास, तीनवटा पुलको निर्माण पनि सम्पन्न भइसकेको छ । फ्लाई ओभर भने निर्माणको चरणमा छ ।

एक वर्षमा सकिन्छ त काम ?

२०१९ अक्टोबर २१ मा यस आयोजनाको शिलान्यास गरिएको थियो । त्यसपछि नोभेम्बर ०२० देखि आयोजनाको निर्माण कार्य सुरु भएको थियो । हालसम्म समग्र भौतिक प्रगति ६१.१५ प्रतिशत छ । अबको एक वर्षमा बाँकी काम सकिने आयोजनाका परामर्शदाता रामेश कोइरालाले बताए । ‘पहिला त स्थानीयसँग ठोस सम्झौता गरेर काम सुचारु गर्नुपर्छ । काम सुरु भएको पाँच दिनमा मुख्य टनेल ब्रेक थ्रु हुन्छ,’ उनले भने, ‘ब्रेक थ्रु भएको एक वर्षमा परियोजना सञ्चालनमै ल्याउन सकिन्छ ।’

स्थानीयसँग सहमति भएर काम सुरु भएको केही दिनमै मुख्य सुरुङमार्गको ब्रेक थु्र हुनेछ । तर, यस आयोजनामा सुरुङ ब्रेक थ्र्रु भएर मात्रै हुँदैन । त्यहाँभित्रको सडक ढलान गर्नुपर्नेछ । त्यसका अलावा सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, लाइट जडान गर्ने, तापक्रम मिलाउनेलगायत काम गर्न बाँकी नै छ । त्यसका लागि थप ६ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । त्यसपछि सम्पुर्ण निर्माण कार्य सम्पन्न भएपछि सुरुङलाई सञ्चालनका लागि योग्य (स्टेबल) बनाउन थप न्यूनतम ६ महिना समय लाग्छ । यसका अलावा आयोजनाअन्तर्गतको फ्लाई ओभर बनाउने काम पनि बाँकी छैन । यी काम गर्न एक वर्ष समय चाहिने परामर्शदाता तथा इन्जिनियरसमेत रहेका कोइरालाले बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर