नेभिगेसन मेनु

सरकारलाई टेर्दैनन् कर्मचारी, आर्थिक कारोबार ठप्प
सम्पादक:南亚网络电视
समय:2024-03-03 12:47

Doramba-sailung-Ramechhap

फागुन २० गते । लेखाका कर्मचारी नहुँदा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक कारोबार ठप्प भएको छ । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाको विकास खर्चको भुक्तानीदेखि दीर्घरोगीले नियमित रूपमा पाउने आर्थिक सुविधासमेत पाउन सकेका छैनन् । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजनाको भुक्तानी, क्यान्सर, मिर्गौलाको डायलासिस गराइरहेका बिरामी, मेरुदण्ड पक्षाघात भएका बिरामीले राज्यबाट नियमित रूपमा पाउने रकम र कर्मचारीको तलब भत्तासमेत विगत आठ महिनादेखि रोकिएको छ । 

चालु आर्थिक वर्षको साउन महिनादेखि गाउँपालिकामा लेखा अधिकृत छैनन् । गत साउनदेखि गाउँपालिकामा तीन जना लेखा अधिकृत आउँदै हाजिर गर्दै फिर्ता भएका छन् । विभिन्न बहानाबाजी गरेर उनीहरू तीन दिन मात्रै कार्यालयमा हाजिर भएर फेरि फर्किएका छैनन् । जसले गर्दा गाउँपालिकाको आर्थिक गतिविधि ठप्प हुन पुगेको दोरम्बा शैलुङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले बताउनुभयो । दोरम्बा शैलुङ गाउँपालिकामा सरकारले आठ महिनाको अवधिमा चार जना लेखाका कर्मचारी पठाइसकेको छ । सरकारले खटाएर पठाए पनि उनीहरू गाउँपालिकामा नबस्दा गाउँपालिकाको लेखा शाखा अहिले कर्मचारीविहीन अवस्थामा रहेको उहाँको भनाइ छ । 

कर्मचारीको अटेरी

गाउँपालिकामा गत साउन महिनामा दण्डपाणि पौडेल लेखा अधिकृतको रूपमा आउनुभएको थियो तर कार्यालयमा हाजिर भएर तीन दिनभन्दा बढी पौडेल पनि गाउँपालिकामा बस्नुभएन । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार गाउँपालिकामा लेखा अधिकृतका रूपमा गीता खनाल आएपछि पौडेल बागमती प्रदेश उद्योगमन्त्रीको सचिवालयमा सरुवा हुनुभएको थियो । बागमती प्रदेश मुख्यमन्त्री कार्यालयले लेखा अधिकृत खनाललाई २०८० कात्तिक १७ गते बढुवा नियुक्ति तथा पदस्थापन गरेर दोरम्बा शैलुङ गाउँपालिकामा पठाएको थियो तर लेखा अधिकृत खनाल विभिन्न बहाना बनाएर बिदासमेत नलिई कार्यालयमा उपस्थित हुनुभएको छैन । लेखा अधिकृत खनालको बिदा पनि स्वीकृत भएको छैन । उहाँ पालिकामा अनुपस्थित हुनुहुन्छ । अहिले पनि खनाललाई पालिकामा गएर कार्यसम्पादन गर्न अनुरोध गर्दा गाउँपालिका जान अटेर गरिरहेको बागमती प्रदेश मुख्यमन्त्री कार्यालय प्रशासन शाखाका विनोद पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अधिकृत खनालले विभिन्न बहाना गरेर हाजिर नै नभई सरुवा माग गर्नुभएको थियो । सामान्य बढुवा वा सरुवामार्फत पोस्टिङ भएको दुई वर्षसम्म त्यो कर्मचारीलाई नचलाउने व्यवस्था छ । खनाललाई अहिले केही गर्न नसकिने जवाफ दिइएको र पोस्टिङ भएको ठाउँमा गएर काम गर्न पटक पटक अनुरोध गर्दा पनि अटेर गरिरहनुभएको छ । उहाँलाई हाजिरै नभई अर्को ठाउँमा सरुवा दिने अवस्था छैन । सबै सुगम खोज्छन्, दुर्गममा कोही जान मान्दैनन् । जे माग्यो त्यही गर्ने, कानुनको पालना नगर्ने हो भने हुँदैन ।” अब यसरी अटेर गर्ने कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित पालिकाका अध्यक्षलाई अनुरोध गरेको पौडेलले बताउनुभयो । 

गत मङ्सिर १० गते बागमती प्रदेश लोक सेवा आयोगको कार्यालयले लेखा अधिकृत उर्मिला भट्टराईलाई पनि गाउँपालिकामा पठाएको थियो । आयोगको सिफारिसपत्र अनुसार लेखा अधिकृत भट्टराईलाई स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ दफा १७ बमोजिम गाउँपालिकामा स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ तर उहाँ पनि तीन दिन मात्रै कार्यालयमा हाजिर भएर बिदा बस्नुभएको थियो । त्यसपछि बिदाकै अवधिमा विभिन्न बहाना बनाएर काज सरुवा गरेर कार्यालयमा उपस्थित नभएको दोरम्बा शैलुङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले बताउनुभयो । 

यसै गरी बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दोरम्बा शैलुङ गाउँपालिकाको लेखा शाखा सञ्चालनको लागि सरुवा पठाएको कर्मचारी लक्ष्मीराज जोशी पनि अटेर गरी गाउँपालिका जानुभएको छैन । जोशी अहिले मन्थली नगरपालिकामा कार्यरत हुनुहुन्छ । मुख्यमन्त्री कार्यालयले गत पुस २२ गते लेखापाल जोशीलाई गाउँपालिकामा सरुवा पठाएको थियो । करिब दुई महिना बित्न लाग्दासमेत जोशी सरुवा भएको गाउँपालिकामा गएर हाजिर गर्नुभएको छैन । लेखापाल जोशीले आफूलाई सरुवाबारे कुनै जानकारी नभएको र सरुवा पत्र पनि नआएको बताउनुभयो । लेखापाल जोशीले भन्नुभयो, “जुन पालिकामा अहिले म काम गर्छु, त्यो पालिकामा सरुवा पत्रै आएको छैन । मेरो पालिकामा आधिकारिक निकायबाट पत्र नआई बाँकी के गरौँ ? मेरो कार्यक्षेत्र मन्थली नगरपालिका नै हो ।” मुख्यमन्त्री कार्यालयले गत पुस २२ गते नै लेखापाल जोशीको सरुवाको पत्र पठाइसकेको छ । यता लेखापाल जोशीले स्थानीय तहमा रहेको सूत्र प्रणालीको प्रयोग गर्न नसक्ने भएकाले नगएको र यस विषयमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग पनि बसेर कुरा गरेको बताउनुभयो ।   

उहाँले भन्नुभयो, “स्थानीय तहमा सूत्र प्रणालीको प्रयोग हुन्छ । सूत्र प्रणालीको प्रयोग नगरी सिधै एउटा शाखाको जिम्मेवारी वहन गर्न सकिँदैन । यही कारणले म त्यहाँ नगएको । प्रमुख प्रशासकीय अधिकृतसँग पनि बसेर सिक्दै छु । काम सिक्न एक/दुई महिना लाग्छ । पत्र आएको छैन, आएपछि एक/महिनामा जान्छु ।”

यता दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले नियुक्त भएका कर्मचारी पनि पालिकामा हाजिर भएर नियमित काममा नआउँदा समस्या भएको बताउनुभयो । उहाँले गीता खनालले आफूहरूको फोनसमेत नउठाई बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको यस्तो अराजक प्रवृत्तिका कारण नै देश बर्बाद भयो । यस्ता कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउन आवश्यक छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर