केही समयअघि संसार एकदमै अस्वाभाविक तस्बिरहरूको साक्षी बन्यो । एकातिर हामीले आफ्नो स्क्रिनमा प्यालेस्टेनी टिभी पत्रकार सलमान अल–बसिरलाई देख्यौँ । सहकर्मी मोहम्मद अबु हताबको मृत्युको खबरपछि उनी शोकमग्न थिए । हताब मृत्यु हुनुभन्दा ३० मिनेटअघिसम्म अन एयरमा थिए । घर फर्किएलगत्तै उनी इजरायली हवाई आक्रमणमा परे, परिवारका ११ जना सदस्यसँगै उनी मारिए ।
अलबसिरले आँसु झार्दै भने, ‘हामी अब सहन सक्दैनौँ । हामी थकित छौँ, हामी यहाँ पीडित बनेका छौँ र सहिद हाम्रो मृत्युको पर्खाइमा छन् । हामी एकपछि अर्को गर्दै मृत्युको मुखमा धकेलिएका छौँ । कसैलाई पनि गाजामा भएको ठूलो विपत्ति र अपराधको वास्ता छैन ।’ बमबाट जोगिन शरीरमा लगाएका सुरक्षात्मक कवच खोल्दै उनले भने, ‘हाम्रो कुनै सुरक्षा छैन, कुनै पनि प्रतिरक्षा छैन, यो सुरक्षा सामग्रीले हामीलाई सुरक्षा गर्दैन र यी हेलमेट होइनन् ।’
हामीले गाजामा इजरायली सेनाको ग्राउन्ड अपरेसनपछि सिएनएनका चित्र सावधानीपूर्वक कोरियोग्राफ र छनोट गरिएको देख्यौँ । सिएनएनलाई तिनीहरूसँग आबद्ध ( युद्धको रिपोर्टिङ गर्दा सैन्य एकाइमा पत्रकारको रूपमा संलग्न) गरिएको थियो । इजरायली हवाई सहयोगसँगै गाजामा प्रवेश गर्ने सर्तमा मिडिया आउटलेटले ‘प्रकाशन गर्नुअघि सबै सामग्री र फुटेज इजरायली सेनालाई समीक्षाको लागि बुझाउनुपर्छ’ । सिएनएन यी सर्तहरूमा सहमत भएको थियो ।
सञ्चारमाध्यम र पत्रकारिता यस इजरायल–गाजा युद्धको केन्द्रीय रणभूमि बनेको छ । गाजाबाट कसरी युद्धको रिपोर्ट गरिएको छ भन्ने संघर्षमा पत्रकार मुख्य रूपमा पीडित छन् । डिसेम्बर ३ मा दक्षिणी गाजापट्टीको रफाह सहरमा इजरायली हवाई हमलामा अलमाजेदत नेटवर्ककी प्यालेस्टिनी पत्रकार सिमा एल–गज्जर उनको परिवारका सदस्यहरूसँगै मारिइन् । नोभेम्बर २३ मा मध्यगाजाको नुसेरात शरणार्थी शिविरमा रहेकोे घरमा भएको हवाई हमलामा पत्रकार मोहम्मद मोइन अयास र उनको परिवारका करिब २० सदस्यको ज्यान गएको थियो । नोभेम्बर १९ मा स्वतन्त्र प्यालेस्टिनी मिडियाको विकासलाई समर्थन गर्ने गैरलाभकारी संस्था प्रेसहाउस–प्यालेस्टाइनका निर्देशक बिलाल जदल्लाह आफ्नो कारमा सवार रहेकै वेला इजरायली हवाई आक्रमणमा मारिए ।
त्यसअघि नोभेम्बर ७ मा प्यालेस्टिनी पत्रकार मोहम्मद अबु हसिरा गाजा सहरनजिकैको आफ्नो घरमा इजरायली हवाई आक्रमणमा परिवारका ४२ सदस्यसहित मारिएका थिए । दुई दिनअघि मात्रै प्रेसहाउस–प्यालेस्टाइनका लागि अर्का मिडिया कार्यकर्ता मोहम्मद अल–जाजा आफ्नी श्रीमती र दुई छोराछोरीसहित उत्तरी गाजामा भएको हवाई आक्रमणमा मारिएका विभिन्न सञ्चारमाध्यमले रिपोर्ट गरेका थिए ।
अक्टोबर ३० मा प्यालेस्टाइन टिभीका लागि वित्त र प्रशासनका उपनिर्देशक नाज्मी अल–नदिम पनि आफ्ना परिवारका सदस्यहरूसँगै हवाई आक्रमणमा मारिएका थिए । अक्टोबर २६ मा अल जजिरा अरबी ब्युरो प्रमुख वेल दहदौहले नुसेरात शिविरमा हवाई हमलामा मारिएका आफ्नी ‘श्रीमती, छोरा, छोरी र नाति’लाई अन्त्येष्टि गरेको दृश्यको विश्व साक्षी बनेको थियो । एक विज्ञप्तिमा इजरायली सेनाले दाबी गरेको छ कि उसले ‘उक्त क्षेत्रमा आतंकवादी पूर्वाधार’लाई निसाना बनाएको छ ।
अक्टोबर १३ मा प्रख्यात रोयटर्स पत्रकार इसाम अब्दल्लाह (उनले ‘प्रेस’ शब्द लेखेको सुरक्षात्मक कवच लगाएका थिए ) इजरायल–लेबनान सीमापार गरेको इजरायली रकेटबाट मारिए ।
कमिटी टु प्रोजेक्ट जर्नालिस्ट (सिपिजे)का अनुसार अक्टोबर ७ देखि डिसेम्बर ६ सम्मको अवधिमा गाजापट्टी र आसपासका ६३ जना पत्रकार र सञ्चारकर्मी (अधिकांश प्यालेस्टाइनी) मारिएका छन् । रिपोर्टर्स विदाउट बोर्डर्सका मध्यपूर्व ब्युरो प्रमुख जोनाथन डाघेरले भने, ‘गाजापट्टीमा के भइरहेको छ यो पत्रकारिताका लागि दुःखद घटना हो... अवस्था जरुरी छ । हामी गाजापट्टीमा पत्रकारहरूको सुरक्षाका लागि आह्वान गर्दछौँ र विदेशी पत्रकारहरूलाई यस क्षेत्रमा प्रवेश गर्न अनुमति दिनुहोस्, ताकि उनीहरू स्वतन्त्र रूपमा काम गर्न सकून् ।’
यद्यपि, यो तनाव युद्धको रिपोर्ट कसले गर्ने भन्ने मात्र होइन, यो युद्ध कसरी रिपोर्ट गरिएको छ भन्ने पनि हो । घटनाहरू वर्णन गर्न अन एयरमा प्रयोग गरिने शब्द, वाक्यांश र तस्बिरले धेरै अर्थ राख्छन् । एक कुराकानीको क्रममा सेन्ट लरेन्स विश्वविद्यालयका ग्लोबल स्टडिजका प्रोफेसर र स्वतन्त्र समाचार आउटलेट विभ न्युजका निर्देशक जोन कोलिन्सले मलाई सम्झाए, ‘शब्दले हाम्रा लागि वास्तविकता निर्माण गर्दछन् । युद्धकालमा पत्रकारहरूले प्रयोग गरेका शब्दले हामीलाई के भइरहेको छ र किन भइरहेको छ भनेर स्पष्ट गर्न सहयोग गर्ने मानिन्छ । तर अक्सर, ती शब्दहरूले हामीलाई विचलित गर्न, हामीलाई बहकाउने वा शक्तिशालीलाई जवाफदेहिताबाट जोगाउने काम गर्दछ ।’
यो भ्रामक धेरै मौलिकस्तरमा हुन्छ जसरी प्यालेस्टिनीको मृत्युबारे समाचारमा वर्णन गरिएको छ । प्यालेस्टिनीहरू ‘मरे’ भनिएको छ भने इजरायलीहरू ‘मारिएका’ छन् भन्ने शब्द प्रयोग भएका छन् । पछिल्लो वाक्यांशले कसैको हत्याको सक्रिय कार्यलाई स्वीकार गर्दछ ।
निःसन्देह, प्यालेस्टिनीको मृत्युको संख्या न्यूनीकरण पनि भयो, जब राष्ट्रपति बाइडेनले गाजामा स्वास्थ्य मन्त्रालय हमासद्वारा सञ्चालित भएकाले संख्याको शुद्धतामा प्रश्न उठाए । उनले भने, ‘म पक्का छु कि निर्दोष मारिएका छन् र यो युद्धले ठूलो मूल्य चुकाएको छ । तर, प्यालेस्टिनीहरूले दिइरेको संख्यामा मलाई विश्वास छैन ।’ यस्तो आरोपले प्रभावकारी रूपमा प्यालेस्टिनी पीडाको वास्तविक गम्भीरताका बारेमा शंकाको बीउ रोपेको छ ।
मिडिया आउटलेटले यो चलिरहेको युद्धको ‘किन’, ‘कसरी’ र ‘अब के हुन्छ’लाई कसरी ढाँचा दिन्छन् त्यसले जनमतलाई आकार दिन्छ । गलत सूचना र प्रचारका विद्वानका रूपमा निकोलस रबले अमेरिका र इजरायली मिडियाद्वारा ‘भ्रामक बयानबाजी र लगातार एकतर्फी कभरेज’ले ‘प्यालेस्टिनीहरूको निर्दोष राक्षसीकरण’को लागि अनुमति दिएको पत्ता लगाए ।
– अलजजिराबाट