नेभिगेसन मेनु

एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजतसहित २ पदक
सम्पादक:南亚网络电视
लेखक:नेपाल प्रेस
समय:2023-10-10 14:23

AsianGamesChina_20230923204913

काठमाडौं । चीनको होङ्झाउमा सम्पन्न एसियाली खेलकुदको १९ औँ संस्करणमा एक रजत र एक कांस्यसहित नेपाल पदक तालिकामा ३ टोलीसहित संयुक्त रुपमा ३२ औँ स्थानमा रह्यो ।

प्रतियोगितामा नेपालले २९ खेलमा भाग लिएको थियो भने २ सय ५३ खेलाडी सहभागी थिए । एसियाडमा ४६ देशले भाग लिएकामा ४१ देशले कम्तीमा एउटा पदक जितेका छन् । तीमध्ये ७ देशले कांस्य मात्र जित्न सके भने १४ देशले स्वर्ण हात पार्न सकेनन् ।

प्रतियोगिता सकिन एक दिन बाँकी रहँदा कराँतेकी एरिका गुरुङले नेपाललाई ऐतिहासिक सफलता दिलाउँदै रजत जितिन्। महिला कबड्डीले एक खेल मात्र जितेर पनि कांस्य पदक पक्का गरेको थियो ।

यसअघि एसियाडमा नेपालले व्यक्तिगत स्पर्धामा एक पटक मात्र रजत थियो, २५ वर्षअघि । सन् १९९८ मा थाइल्यान्डको बैंककमा आयोजित एसियाडमा तेक्वान्दो खेलाडी सविताराज भण्डारीले रजत जितेर नेपालका लागि ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन् ।

अघिल्लो एसियाडमा प्याराग्लाइडिङले रजत जित्दै सविताको उक्त कीर्तिमान बराबरी गरेको थियो । प्याराग्लाईडिङले टिम स्पर्धामा उक्त सफलता प्राप्त गरेकाले एकल स्पर्धामा भने सवितालाई बराबरी गर्न बाँकी नै थियो ।

यस पटक एरिकाले सवितालाई बराबरी गरिन् । एसियाडमा नेपालको स्वर्ण पदक विहिन यात्रा भने कायमै रह्यो । सन् १९५१ देखि एसियाड खेल्न थालेको नेपालले पहिलो पदक भने सन् १९८८ मा जितेको थियो ।

सन् २००६ यता नेपालले यो प्रतियोगितामा पहिलो पटक एकभन्दा बढी पदक जितेको हो । हालसम्म बक्सिङ, कराँते र तेक्वान्दोबाहेकका खेलमा नेपालले एसियाडबाट पदक ल्याउन सकेको छैन ।

यस पटक विगतकै यही उपलब्धिका आधारमा मात्र नेपालले यी खेललाई पदक ल्याउन सक्ने खेलको सूचीमा राखेको थियो । चार वर्षअघि आयोजित दक्षिण एसियाली खेलकुद(सागमा नेपालले जितेका करिब आधा स्वर्ण यी नै तीन खेलमा थिए ।

तेक्वान्दोमा नेपालको विर्सनलायक प्रदर्शन

तेक्वान्दो अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको सबैभन्दा गर्विलो इतिहास बोकेको खेल हो ।

त्यसैले यो खेलमा नेपालले हरेक पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा पदकको अपेक्षा राख्ने गर्छ । छनोट पार गरेर ओलम्पिक खेल्ने केवल दुई जना नेपाली खेलाडी दीपक विष्ट र संगिना वैद्य यही खेलका हुन् । सागका लगातार चार संस्करणमा स्वर्ण पदक जितेका विष्टसहित वैद्य पनि अहिले प्रशिक्षक छन् ।

तर एसियाड तेक्वान्दोमा नेपालको विर्सनलायक प्रदर्शन यस पटक पनि कायमै रह्यो ।

नेपालका १० जना खेलाडीले यस पटक तेक्वान्दोमा प्रतिस्पर्धा गरेपनि उनीहरू सबैको प्रदर्शन खराब रह्यो ।

नेपालले सन् २००६ को संस्करणयता तेक्वान्दोमा पदक प्राप्त गर्न सकेको छैन । पदक जित्न नसके पनि पुरुष क्रिकेटबाहेक अन्यले गतिलो छाप छाड्न सकेनन् । एथलेटिक्स र भारत्तोलन सहितका खेलमा राष्ट्रिय कीर्तिमान सुधार हुनु नै नेपालले सफलता मान्नु पर्ने अवस्था बने ।

टेबल टेनिस, कुस्ती, लन टेनिस, सुटिङ, र्यासफ्टिङ एन्ड क्यानोइङ, गल्फ, एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, पौडी, जुडो, कबड्डी, ह्यान्डबल, ट्रायथलन, स्क्वास,बक्सिङ, उसु, कराँते, तेक्वान्दो, भलिबल, आर्चरी, साइक्लिङ, फेन्सिङ, भारोत्तोलन, रग्बी, डान्स स्पोर्ट्स, क्रिकेट, बास्केटबल र ई-स्पोर्टसमा यस पटक नेपालले भाग लिएको थियो ।

दक्षिण एसियामा भारत सशक्त, १३ औँ सागको तुलनामा के फरक भयो ?

नेपालले खेल्ने तीन ठुला अन्तर्राष्ट्रिय खेलकुद महोत्सवमा एसियाड दोस्रोमा पर्छ । पहिलो ओलम्पिक खेलकुद हो भने तेस्रोमा दक्षिण एसियाली खेलकुद-साग पर्छ। साग खेल्ने ७ देशमध्ये ५ देशले यस पटकको एसियाडमा पदक जिते । भुटान र मालदिभ्सले पदक हात पार्न सकेनन् ।

भारतले २८ स्वर्ण, ३८ रजत र ४१ कांस्यसहित कुल एक सय ७ पदक जितेर पदक तालिकाको चौथो स्थानमा रह्यो। श्रीलंकाले एक स्वर्ण, २ रजत र २ कांस्यसहित ५ पदक जित्यो। पाकिस्तानले १ रजत र दुई कांस्य जित्यो भने बंगलादेशले २ कांस्य हात पार्यो ।

चार वर्षअघि घरेलु मैदानमा आयोजित १३ औँ सागमा नेपालले दोस्रो स्थान हात पारेको थियो। भारतले एक सय ७३ स्वर्ण, ९३ रजत र ४५ कांस्यसहित कुल ३ सय ११ पदक जितेर पहिलो स्थानमा रहेको थियो।

नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्यसहित कुल २ सय ७ पदक जितेको थियो। श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र एक सय २८ कांस्यसहित २ सय ५१ पदक जितेको थियो भने पाकिस्तानले ३२ स्वर्ण, ४१ रजत र ५९ कांस्य जितेको थियो।

बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य हात पारेको थियो। मालदिभ्सले एक स्वर्ण र ४ कांस्य तथा भुटानले ७ रजत र १३ कांस्य जितेका थिए।

भारतले होङ्झाउ एसियाडमा सुटिङमा ७, एथलेटिक्समा ६, आर्चरीमा ५, स्क्वास, कबड्डी र क्रिकेटमा २र२ तथा ब्याडमिन्टन, हक्की, इक्वेस्टेरियन, टेनिसमा एक एक स्वर्ण हात पार्यो।

एथलेटिक्समा १४, सुटिङमा ९, चेस, रोविङ र आर्चरीमा २र२ तथा उसु, कुस्ती, टेनिस, स्क्वास, ब्याडमिन्टन, सेलिङ, ब्रिज र गल्फमा एक एक रजत हात पार्‍यो ।

प्राप्त कांस्यमध्ये बक्सिङमा ४ र कुस्तीमा ५ रहेका छन्।

श्रीलंकाले एथलेटिक्समा एक स्वर्ण, एथलेटिक्स र क्रिकेटमा दुई रजत तथा एथलेटिक्समा २ कांस्य हात पार्‍यो । पाकिस्तानले स्क्वासमा रजत तथा सुटिङ र कबड्डीमा दुई कांस्य जितेको हो। बंगलादेशले जितेका दुवै कांस्य क्रिकेटमा हुन्।

यसरी हेर्दा दक्षिण एसियाली राष्ट्रमा भारतबाहेकका टोलीले एथलेटिक्स, स्क्वास, सुटिङ, कबड्डी, कराँते र क्रिकेटमा मात्र पदक जितेका हुन्। अझ कराँते, तेक्वान्दो, उसु, बक्सिङजस्ता मार्सल आर्ट खेलमा नेपाल र भारतले मात्र पदक जिते।

१३ औँ सागमा नेपालले बक्सिङमा तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। भारतले १२ स्वर्ण, तीन रजत र एक कांस्य जितेको थियो।

यी दुई टोलीबाहेक श्रीलंकाले मात्र स्वर्ण जितेको थियो, एउटा। कराँतेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो। पाकिस्तानले ६ स्वर्ण, ८ रजत र ५ कांस्य जितेको थियो।

भारतले प्रतिस्पर्धा नगरेको यस खेलमा बंगलादेशले पनि ३ स्वर्ण जितेको थियो। तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो। भारतले ९ स्वर्ण, १० रजत र ८ कांस्य हात पारेको थियो। श्रीलंकाले ४, पाकिस्तानले ३ र बंगलादेशले एक स्वर्ण जितेका थिए।

यस पटक एसियाडमा श्रीलंका र भारतले पदक जितेको एथलेटिक्सअन्तर्गत नेपालले गत सागमा तीन स्वर्ण, एक रजत र चार कांस्य हात पारेको थियो। भारतले १२ स्वर्ण, २१ रजत र १५ कांस्य जितेको थियो। श्रीलंकाले १४ स्वर्ण, १२ रजत र ८ कांस्य हात पारेको थियो। पाकिस्तानले ५ र मालदिभ्सले एक स्वर्ण जितेका थिए।

केही महिनाको तयारीले पदकको आशा !

एसियाडका धेरै खेलमा सहभागी राष्ट्रलाई ओलम्पिक नै खेले बराबर हुन्छ। कारण यी खेलमा एसियाली राष्ट्रको वर्चस्व हुनु हो। टेबल टेनिस , ब्याडमिन्टन, आर्चरी, सुटिङसहितका खेलमा एसियाली राष्ट्रको पकड देखिन्छ।

ओलम्पिकमै जापान, चीन, दक्षिण कोरियाजस्ता राष्ट्रहरू पदक तालिकाको शीर्ष(५ भित्र रहने गरेका छन्। तर यस्ता प्रतियोगिताका लागि नेपालको तयारी फितलो देखिने गरेको छ।

प्रतियोगिता सुरु हुनुभन्दा अघि केही महिनाको तयारी गरेर नेपाल सहभागी हुने गरेको छ। होङझाउ एसियाडमा पनि नेपालले औपचारिक तयारी असारदेखि मात्र सुरु गरेको थियो।

वर्ष भरमा हुने एक दुईवटा राष्ट्रिय प्रतियोगिता, नियमित अन्तर्राष्ट्रिय सहभागिता र प्रशिक्षणको अभावमा नेपाली खेलकर्मीका लागि यी प्रतियोगिताहरू ‘होलिडे’ अवसर मात्र बन्ने गरेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर