नेभिगेसन मेनु

‘पछाडि परेकाहरुको अधिकारमा एकजुट हुनुपर्छ’
सम्पादक:南亚网络电视
समय:2023-09-30 19:46

ण

धनगढी, असोज १२ गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले महिला, दलित, जनजाति, बालबालिकालगायतका पछाडि परेका वर्गका लागि आफूहरु एकजुट भएर आवाज उठाउनु पर्ने बताउनुभएको छ । 

युएनडीपीको संसद सहयोग परियोजनाको सहयोगमा फाया नेपालले आयोजना गरेको वर्तमान र निर्वतमान प्रदेश सभा सदस्यहरुको अनुभव आदानप्रदान कार्यक्रममा प्रदेश सभा सदस्यहरुले एकताबद्ध भएर लाग्दा पछाडि परेका वर्गका अधिकार सुनिश्चित हुने बताउनुभएको हो । 

पूर्व उपसभामुख निर्मला बडाल जोशीले पाँच वर्षे कार्यकालको अनुभव सुनाउदै भन्नुभयो, “समानुपातिक भनेर हामीलाई पूर्वाधार विकासलगायतका कार्यक्रममा विभेद गर्न खोजिएको थियो । हाम्रो दवावले पछि कार्यविधि बनाएरै प्रत्यक्षलाई ६० प्रतिशत र समानुपातिकलाई ४० प्रतिशत योजना छुट्याइएको छ ।” 

उहाँले विद्येयकबारे राम्रोसँग पढेर टिप्पणी गर्दा राम्रो हुने चर्चा गर्दै महिलालाई सबै अवसरबाट वञ्चित पारिने भएकाले त्यसतर्फ ध्यान दिन सचेत गराउनुभयो । प्रदेश सभा बैठकमा महिलालाई पुरुषकै हाराहारीमा बोल्न दिनुपर्छ भन्ने वातावरण आफूले कार्यव्यवस्था परामर्श समितिमा बनाएको अनुभव सुनाउनुभयो । 

तत्कालीन राज्यमन्त्री चुनकुमारी चौधरीले भौतिक संरचना र अनुभवका कारण आफूलाई त्यतिबेला सपथग्रहण गर्दा समेत कठिनाइ भएको सम्झदै ठूलो प्रयासमा प्रदेशको नामकरण र राजधानी तोकिएकाले राजधानी निर्माणलाई कार्यान्वयन तहमा पुगाउन अहिलेका प्रदेश सभा सदस्यको जिम्मेवारी भएको बताउनुभयो । 

तत्कालीन विधायन समितिका सभापति नेपालु चौधरीले आफूहरुवीच एकताबद्धता थियो भन्ने चर्चा गर्दै समितिमा छलफल भएर गएको विद्येयक जस्ताकोतस्तै पारित हुनेगरेको अनुभव सुनाउनुभयो । अहिलेका प्रदेश सभा सदस्यहरुले हिमाल, पहाड, तराईका समस्या फरक–फरक भएको बुझेर कानुन बनाउन योगदान गर्नुपर्ने सुझाव राख्नुभयो । 

प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष शर्मा थापाले आफूहरु परिचालित होइन, स्वचालित भए चुनाव हुन बाँकी रहेका प्रदेश सभाका समितिका सभापतिमा महिलालाई निर्वाचित गर्न सकिने बताउनुभयो । मन्त्री, दलको नेता, प्रमुख सचेतकमा महिला बन्ने अवस्था त गुमायौं, अब सभापति हुनबाट वञ्चित नहोऔं भन्नुभयो ।

प्रदेश सभा सदस्य लक्ष्मी विकले सामाजिक रुपान्तरण गरी जनतालाई अधिकार दिन्छौं भनेर आएका आफूहरु अहिले आफै रोइलो गर्ने तहमा पुगेको चर्चा गर्नुभयो । महिलाका क्षेत्रमा बजेट विनियोजन गर्न, महिलाबाटै मन्त्री, सभापति बनाउन अनौपचारिक सञ्जाल बनाएर लाग्नुपर्ने बताउनुभयो । 

प्रदेश सभा सदस्य जुना दानीले महिलामा क्षमता हुँदाहुँदै पनि विभिन्न अवसरबाट वञ्चित गरिनु दुःखद भएको चर्चा गर्दै अवसर लिन सशक्त खवरदारी गरिरहनु पर्ने बताउनुभयो । उहाँले पनि सञ्चारमाध्यमले महिलाका सवाल उचितरुपमा उठान नगरेको बताउनुभयो ।

प्रदेश सभा सदस्य सरस्वति खड्काले सुदूरपश्चिम प्रदेशमा महिलाका लागि विगत पाँच वर्षमा के भयो ? अव के हुन्छ भन्ने प्रश्न मनमा राखेर आफूहरु क्रियाशील हुनुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य हिरा सार्कीले प्रदेश सभा सदस्यका लागि हुने यस्ता कार्यक्रमले क्षमता अभिवृद्धिमा मद्दत पुग्ने बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर