नेभिगेसन मेनु

फेला परे गिद्धका १३९ गुँड
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:55

Untitled-1 (9)

धनगढी, भदौ १९ गते । सुदूरपश्चिम प्रदेशमा यो वर्ष गिद्धको १३९ वटा गुँड फेला परेको छ । गिद्धको अवस्था पत्ता लगाउन हरेक वर्ष यहाँ गिद्ध गुँडको अनुगमन गर्ने गरिएको छ । गत वर्षको तुलनामा थोरै घटेको अवस्थामा गुँड पाइएको छ । 

प्रदेशमा रहेको गिद्धको जम्मा गुँडमध्ये अधिकांश कञ्चनपुरमा रहेको छ । केही गुँड कैलाली र बैतडीको खोड्पेमा रहेको जनाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का अनुसार कञ्चनपुरमा यो वर्ष १०७ वटा गिद्धको गुँड भेटिएको छ । 

चराविद् हिरूलाल डङ्गौराका अनुसार गत वर्ष ११० वटा गुँड भेटिएको थियो । हिरूलालले लालझाडीको पर्सिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, तारापुर पोस्ट, भाटपुरीफाँटा र बन्साहाको मध्यवर्ती क्षेत्रमा गिद्धको गुँड अनुगमन गर्दै आउनुभएको छ । यो जिल्लामा डङ्गर, सानो खैरो र सुनगिद्धले गुँड बनाउने गरेको जनाइएको छ । 

कैलालीमा यस वर्ष १४ वटा गुँड फेला परेका छन् । गत वर्ष १९ वटा गुँड अभिलेख गरिएको थियो । कैलालीको खुटिया, जोनापुर, बेली, पटेला क्षेत्रमा डङ्गर गिद्धले गुँड लगाएर बचेरा हुर्काउने गरेका छन् । 

गिद्धले असोजदेखि गुँड लगाउन सुरु गरेर जेठसम्म बच्चा उडाउने गरेका छन् । गिद्धले एक पटकमा एक बच्चा हुर्काउने गरेको जनाइएको छ । प्रदेशमा गिद्धको गुँड सङ्ख्यामा थोरै घटबढ देखिए पनि यसलाई स्थिर जस्तै मानिने गरेको डङ्गौराले बताउनुभयो । प्रकृतिको कुचीकार मानिने गिद्ध दिनप्रतिदिन हराउन थालेपछि विभिन्न क्षेत्रबाट संरक्षणको प्रयास भइरहेको छ । यो प्रदेशमा अतिसङ्कटापन्न डङ्गर, सानो खैरो, सुनगिद्ध, सङ्कटापन्न सेतो गिद्ध, सङ्कटको नजिक पुगेको हिमाली गिद्धसहित राजगिद्ध, हाडफोर गिद्धलगायत आठ प्रजातिका गिद्ध पाइने गरेका छन् । 

खैरो र राजगिद्ध नेपालका लागि आगन्तुक प्रजाति हुन् । त्यस्तै हिमाली गिद्ध नेपालको अन्य ठाउँमा पाइने तर तराईमा जाडोयाममा मात्रै आउने गिद्ध प्रजाति रहेको जनाइएको छ । हाडफोर गिद्ध भने पहाडी र हिमाली क्षेत्रमा मात्रै बस्ने गरेको बताइएको छ । गिद्धले मरेको सिनो खाएर वातावरणलाई प्रदूषित हुनबाट जोगाउने गरेका छन् । त्यसैले गिद्ध जोगाउनका लागि अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेशमा सप्ताहव्यापी गिद्ध सचेतना कार्यक्रम भइरहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर