राजविराज — शनिबार दिउँसो पानी परिरहँदा सप्तरीको कुनौली नाका हुँदै १० युवा भारत जाँदै थिए । पिठ्यूँमा सानो झोला लिएर बोर्डरस्थित भन्सार कार्यालयअगाडि भेटिएका राजविराज नगरपालिका–१ का उनीहरूले ६ महिने कामका लागि हरियाणाको यमुनानगरस्थित प्लाइउड फ्याक्ट्रीमा काम गर्न हिँडेको बताए । कुनौली नाका हुँदै भारतका विभिन्न प्रदेशमा सस्तो श्रमको खोजीमा जाने उनीहरू प्रतिनिधि पात्र मात्रै हुन् ।
समूहका नवीन दासले आफूहरू यसअघि पनि चारपटक सोही कम्पनीमा काम गर्न गइसकेको बताए । ‘आफ्नै गाउँठाउँमा काम पाइए त किन जान्थ्यौं र भारत ?,’ उनले भने, ‘के गर्नु, पापी पेटको सवाल छ । जता काम पाइन्छ, जानैपर्यो ।’ समूहका अजय दासले आफूहरू मासिक ११ हजार भारु तलब हुने कामका लागि भारत जान लागेको सुनाए । उनीहरूसँगै रहेका चन्देश्वर सदाले भारतका कम्पनीमा काम गर्नु सजिलो नरहेको बताए । केही दुःख बिमार भयो भने कम्पनीले नहेर्ने उनले बताए । ‘धेरै कुरा त नभनौं,’ उनले भने, ‘पशुलाई गर्ने व्यवहारसमेत मान्छेले भोग्नुपर्छ ।’
भारतका विभिन्न कम्पनीमा शारीरिक श्रमका निम्ति जाने मधेश प्रदेशका युवाहरू सस्तोमा श्रम गर्न मात्रै बाध्य भइरहेका छैनन्, बारम्बार चर्को श्रम शोषणमा पनि परिरहेका छन् । यस्ता श्रमिकहरू कहाँ, कसरी र कुन नियमअनुसार काम गरिरहेका छन् भन्नेबारे राज्य संयन्त्र पूरै बेखबर हुँदा कैयन् कामदारले मृत्युसमेत भोग्न बाध्य भइरहेका छन् । कैयन् कामदार भने बिनापारिश्रमिक त कतिपय मानसिक आघात बोकेर पनि फर्किर्रहेका छन् । कतिपय कामदार उतै हराउने घटनाहरू पनि बढ्दै छन् ।
सप्तरी जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरका बुधु सदा गाउँघरमा मजदुरी गर्दै गुजारा चलाउँथे । तर, स्थानीय स्तरमा दैनिक रोजगारीको अभावका कारण परिवार चलाउन ऋणको सहारा लिनु परेपछि केही कमाउन भनेर उनी भारततर्फ जाने सोचमा थिए । छिन्नमस्ता–७ का अक्षयलाल यादव, सञ्जयप्रसाद यादव र रमेश यादवले उनलाई पन्जाबमा रहेको प्लाई फ्याक्ट्रीमा राम्रो काम पाइने भन्दै उतै जान भनेपछि उनी पनि तयार भए । परिवार भोकै बस्ने स्थिति देखाएपछि उनलाई भारत लैजानेहरूले बुधुलाई ५ हजार रुपैयाँसमेत दिए । पन्जाबबाट कमाएर आएपछि ऋण चुक्ता र परिवारलाई राम्ररी पालनपोषण गर्ने सान्त्वना दिँदै २ छोरी र २ छोरासहित श्रीमतीलाई छोडेर तिनै व्यक्तिको साथ लागेर बुधु २०७८ वैशाख ९ गते भारतको पन्जाब राज्यको जमुना नगरस्थित प्लाई फ्याक्ट्री पुगे ।
तर, राम्रो कमाइ गरेर ऋण चुक्ता गर्दै परिवार पाल्ने बुधुको योजना धेरै दिन टिक्न सकेन । बुधुकी श्रीमती प्रमिला सदाका अनुसार गएको सात दिनपछि वैशाख १६ गते प्रमिलालाई फोन गरेर रमेश यादवले भारतसित सीमा जोडिएको न्योर बोर्डरमा बोलाए । ‘काम गर्ने सिलसिलामा तिम्रो पति बिरामी परे, उपचारपश्चात् आराम गर्न गाडीमा घर आउँदै छन्, बोर्डरमा लिन आउनू भनेर मलाई रमेशले फोन गरेर बोलाए,’ प्रमिलाले भनिन्, ‘कोरोनाको समय थियो, फोन आएकै भोलिपल्ट जेठो छोरासहित बोर्डरमा पुग्दा मेरा पतिलाई बेहोसी अवस्थामा फालेर उनीहरू गए ।’
बेहोस अवस्थाका पतिलाई देखेपछि आफू अक्क न बक्क भएको प्रमिलाले सुनाइन् । ‘अर्धचेत अवस्थामा पतिलाई घर ल्याएर रिनधन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गर्यौं,’ उनले भनिन्, ‘वैशाख १८ गते उपचारकै क्रममा उहाँको मृत्यु भयो ।
हामी अनाथ भयौं ।’ उपचारका क्रममा होसमा आउँदा मेरो पतिले आफूलाई खानासमेत नदिई कामका लगाउँदा विरोध गरेपछि कुटपिट गरेर आफ्नो यस्तो हालत बनाएको बताएको प्रमिलाले सुनाइन् । ‘अस्पताल भर्ना गर्दा उहाँको शरीरमा नीलडाम थिए,’ प्रमिलाले भनिन्, ‘तत्कालीन अवस्थामा चिकित्सकले छातीमा चोट लागेका कारण बिरामी अशक्त भएको बताएका थिए ।’
घटनापछि प्रमिलाले प्रहरीमा उजुरी दिने प्रयास गरिन् । तर, उनको प्रयास सफल भएन । किनकि, बुधुलाई भारत लैजाने व्यक्ति अक्षयलाल छिन्नमस्मता गाउँपालिका–७ का वडाध्यक्ष हुन् । कान्तिपुरसँगको कुराकानीमा अक्षयलालले भने आफूले बुधुलाई रोजगारीका लागि कतै नपठाएको दाबी गरे । प्रमिलाले आफू उजुरी दिन पटक–पटक जिल्ला प्रहरी कार्यलय पुगे पनि उजुरी दर्ता नभएको बताइन् । ‘हामी दलित मुसहरको को नै छ र ?,’ उनले भनिन्, ‘कसैले हाम्रो पीडा सुनिदिएन ।’ बुधुको मृत्युपछि प्रमिलाले जेठो छोरा धीरेन्द्रलाई कमाउन भनेर कतै पठाउन सकेकी छैनन् ।
सस्तो शारीरिक श्रमका निम्ती भारतका विभिन्न ठाउँमा पुग्ने सप्तरीका दलित र विपन्न परिवारका व्यक्तिमाथि चरम शारीरिक र आर्थिक शोषण हुने गरेको र कार्यस्थलमा दुर्व्यवहारदेखि मृत्युसम्म भोग्नुपरेका घटना प्रशस्त छन् । बुधुको मृत्यु त एउटा प्रतिनिधि घटना मात्रै हो । २०७९ सालको बडादसैंको चार दिनपछि कञ्चनरूप नगरपालिका–२ बरमझियास्थित रामटोलका लखन राम, किशोरी राम, देवसुन्दर राम, नरेश राम, पंकज राम, राजेश राम र सुरेश रामसहित १४ जना सर्वसाधारणलाई कामका लागि पन्जाब लगिएको थियो । नरेशका अनुसार स्थानीय लक्ष्मी तत्मा र इनरजित यादवले उनीहरूलाई मासिक १० हजार भारु दिने भन्दै पन्जाबमा धान सुकाउने कामका लागि भनेर लगेका थिए । एक–एक महिनाको तलब घरमै पेस्की बुझेर पन्जाब पुगेका उनीहरूले पन्जाब राज्यको समानास्थित मित्तल राइस सेलर मिलमा काम पाए । त्यसरी गएका मध्ये ५४ वर्षीय लखन रामको २०७९ पुस २ गते मृत्यु भयो । सँगै रहेका उनका भतिज नरेश रामका अनुसार काम गरेर मध्यराति कोठा पुगेका उनी बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए ।
लखनको मृत्युपछि मजदुरीका लागि पन्जाब पुर्याइएका मजदुरलाई बँधुवा मजदुर बनाएर राखिएको खुलेको छ । लखनको मृत्युपछि फर्किएका उनका भतिजा नरेशसहितका स्थानीयले मजदुरलाई १८ घन्टासम्म काममा लगाउने, पारिश्रमिक नदिने, खाना नदिने र राति कोठामा ताल्चा लगाएर थुनेर अमानवीय व्यवहार गर्ने गरिएको बताए ।
पन्जाब गएका मध्येका एक देवसुन्दर रामका अनुसार सप्तरी बरमझियाबाट उनीहरूलाई म्याजिक गाडीमा राखेर सप्तरीसित जोडिएको नेपाल–भारत सीमा नाका कुनौली पुर्याइएको थियो । बिहारको कुनौली बजारबाट छुट्टै टेम्पोमा निर्मली पुर्याएपछि उनीहरूलाई त्यहाँ ६ दिन राखिएको पंकज रामले बताए । ‘६ दिनसम्म निर्मलीमा राखेपछि दुईतले बस ल्याए, त्यसमा नेपालकै विभिन्न ठाउँबाट ल्याइएका १ सय ८० जनालाई चढाए,’ उनले भने, ‘त्यो बस बीचमा लगेर घण्टौं रोक्ने गर्दै ६ दिनपछि हामीलाई पन्जाब पुर्याइएको थियो ।’
पन्जाब पुर्याएको भोलिपल्टैदेखि उनीहरूलाई काममा लगाइएको थियो । तर, काम सुरु गरेको पहिलो दिन नै उनीहरूमाथि अमानवीय व्यवहार सुरु भएको पंकजले सुनाए । ‘काम त धान सुकाउने र बोरामा हालेर राख्ने थियो तर बिहान ६ बजेदेखि राति १२–१ बजेसम्म काममा लगाउँथे,’ उनले थपे, ‘राति १ बजे कोठामा पुग्दा खानामा कहिले नुन–भात त कहिले आलुको चट्नीका भरमा भात खानुपर्थ्यो ।’ राति कोठामा ताला लगाएर राख्ने र पिसाब लाग्दा पनि कोठा नखोल्दा समस्यामा पर्ने गरेको पंकजले सुनाए । ‘केही बोल्यो कि कुटिहाल्थे,’ उनले भने, ‘काम सुरु गरेकै दिनदेखि यातना र ताला लगाएर कोठामा थुन्ने र १८ घन्टा काम गराउँदै खानासमेत राम्ररी नदिने गरेपछि हामी बन्धकजस्तै बनेका थियौं ।’
ठेकेदार, मुन्सीलगायत सेलर मिलका स्टाफहरूको अमानवीय व्यवहारपछि कञ्चनरूप–२ बरमझियाबाट गएको समूहका पंकज राम, सुरेश राम, राजेश राम र ममताज मिया काम सुरु गरेको पाँचौं दिनमै भागेका थिए । ‘१० फिट उचाइको पर्खाल थियो मिल घेरेको तर रुख रहेका कारण रुखबाट पर्खाल नाघेर हामी भाग्यौं,’ पंकजले भने, ‘भागेर हामी कुलक्षेत्र पुग्यौं ।’ भागेर नयाँ स्थानमा पुगेर उनीहरूले केही दिन घर बनाउने लेबरको काम गरेर एक हजार रुपैयाँ कमाएपछि घर फर्किएको सुनाए ।
चार जना भागेको दोस्रो दिन नरेश राम र निराज शेख पनि त्यहाँबाट भागेका थिए । तर, उनीहरूलाई मिल सञ्चालकका मानिसहरूले बाटोबाटै पक्राउ गरे । ‘पक्राउ परेपछि दुई दिनसम्म पटक–पटक चिर्पटले हान्दै यातना दिए,’ नरेश फोन सम्पर्कमा भने, ‘अब भाग्ने प्रयास गरे मारिदिने धम्की दिएका छन् ।’
मिलबाट साथीहरू भागेपछि आफूहरूलाई थप यातना दिने काम भएको देवसुन्दरले सुनाए । सोही क्रममा कामबाट फर्किएका लखन राम बिहान ओछ्यानमै अस्वस्थ्य भएको र केही बेरमै उनको मृत्यु भएको देवसुन्दरले बताए । ‘तल ओछ्याउने पनि बोरा अनि ओढने पनि बोरा दिइएको थियो,’ उनले भने, ‘जाडो लाग्यो कि के भयो थाहा भएन तर लखन ओछ्यानबाट उठ्नै सकेन । त्यहीं मृत्यु भएको अवस्थामा हामीले देख्यौं ।’
लखनको मृत्युपछि ठेकेदार र मिलका अन्य स्टाफले पंजाबमै जलाउन दबाब दिएको देवसुन्दरले सुनाए । तर, रोजगारीका लागि कुबेत जान काठमाडौं पुगेका लखनका जेठा छोरा बद्रीलाई फोन गरेपछि उनले आफ्नो बुबाको शव नेपाल नपठाए यहाँ उजुरी गर्ने बताएपछि शव नेपाल पठाउन राजी भएको देवसुन्दरले बताए ।
रोजागारीका लागि कुबेत जाने सोचमा रहेका लखनका जेठा छोरा बुबाको मृत्युपछि घरमै रोकिएका छन् । मजदुरलाई काममा लगेका स्थानीय लक्ष्मी तत्मा र इनरजित यादवविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिन गए पनि प्रहरीले घटना भारतमा भएको भन्दै उजुरी दर्ता गर्न नमानेको पारिवारिक स्रोतले जनाएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीका दीपन सदा स्थानीय सञ्जय यादव र रमेश यादवको कुरा सुनेर रोजगारीका लागि २०७७ पुस २ गते भारतको हरियाणा राज्यको प्रितनगर पुगेका थिए । त्यहाँको प्लाइउड फ्याक्ट्रीमा काम थालेको सात महिनापछि २०७८ साउन ११ गते बिहान दीपनको डेरामै मृत्यु भयो । परिवारका सदस्यले बहिनी र ज्वाइँ त्यहीं रहेकाले दीपनको शव बुझेर उतै सद्गत गर्ने व्यवस्था मिलाए ।
दीपनकी वृद्ध आमा लालोदेवी सदाका अनुसार दीपन रोजगारीका लागि जाँदादेखि उनको मृत्यु भएसम्म घरमा पैसा पठाउन सकेका थिएनन् । ‘कम्पनीमा मेरो छोरालाई कुटपिट र यातना दिएको त्यहाँबाट फर्किएका गाउँले बताएका थिए,’ आमा लालोदेवीले भनिन्, ‘यातनाकै कारण मेरो छोराको मृत्यु भयो ।’
दीपनको मृत्यु भएपछि आमा लालोदेवीले ०७८ साउनमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर गइन् । तर, दर्ता भएन । ‘यो अड्डा अदालत बुझिदिन जिल्ला गएको थिएँ, हुँदैन दर्ता भन्यो,’ लालोदेवीले भनिन्, ‘त्यसपछि गएकी छैन ।’ यो घटनाबारे बुझ्न दीपनलाई काममा लैजाने सञ्जय यादव र रमेश यादवसँग भने सम्पर्क हुन सकेन ।
सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरका विशेश्वर सदा ९ महिनाअघि सप्तरी नगरपालिका–११ का ठेकेदार जिगेश्वर मण्डलसँग रोजगारीका लागि भारत गएका थिए । २०७९ सालको बडादसैंको भोलिपल्ट विशेश्वरसहितका सप्तरीकै सप्तकोशी नगरपालिका–११ का जिगेश्वर मण्डलसहित १० जना भारत गएका थिए । भारतको कुन सहर लगिएको थियो, त्यो कुरामा भने परिवार अनभिज्ञ छ । ठेक्काको समय सकिएपछि ९ जना मजदुर घर फर्किए पनि विशेश्वर घर फर्केनन् । विशेश्वरकी श्रीमती ममता अहिले दुई नाबालक सन्तानसहित पतिको प्रतीक्षा गरेको लामो समय भयो । उनलाई लग्ने ठेकेदारलाई सोध्न जाँदा छिट्ट खोज्न जाने भन्ने गरेको ममताले बताइन् ।
आफ्ना पतिलाई रोजगारीका लागि भारत लगेको र उतै बेपत्ता पारेकाले खोजी गरी दिन माग गर्दै विशेश्वरका परिवारले जिल्ला प्रहरीमा उजुरीसमेत दिएका छन् । तर, स्थानीय प्रहरीले विशेश्वरका परिवार र उनलाई भारत लैजाने ठेकेदारसित पटक–पटक छलफल गराउने कार्य मात्र गरेको छ । ‘मेरो पतिको कुनै खोजखबर भएको छैन, प्रहरी पनि गम्भीर देखिएन,’ ममताले भनिन्, ‘अब घरको छाक जुटाऊँ कि उनलाई खोज्न जाऊँ ?’
विशेश्वरलाई काममा लगेका ठेकेदार जिगेश्वर मण्डलले भने विशेश्वर काम छोडेर भागेको दाबी गर्छन् । ‘हरियाणा राज्यको छिकास्थित सरस्वती राइस मिलमा काममा लगाएको थिएँ, चार महिनासम्म काम गरे, त्यसपछि पर्खाल नाघेर भागे,’ उनले भने, ‘हामीले धेरै खोज्यौं तर फेला पार्न सकेनौं, म फेरि असोजमा भारत जान्छु र खोज्छु ।’
सप्तरीबाट भारतका विभिन्न सहरमा रोजगारीका लागि गएकाहरूको कुनै तथ्यांक सरकारी निकायमा छैन । दलित अधिकारकर्मी भोला पासवानका अनुसार खासगरी दलित मुसहर, खत्वे, चमार समुदायका मजदुरहरू ठेकेदारको प्रलोभनमा परी भारतका विभिन्न सहरमा पुग्ने गरेका छन् । स्थानीय स्तरमा रोजगारी नपाउँदा भोकभोकै बस्नेहरू कामको खोजीमा रहँदा भारतीय सहरमा मजदुर ल्याउने ठेकेदारी गर्नेहरू उनीहरूलाई प्रलोभनमा पार्ने गरेको पासवानको भनाइ छ ।
‘सुरुमा घरमा केही पैसा दिने अनि भारतीय सहरमा गएर कम मिहिनेतको काममा राम्रो कमाइ हुने प्रलोभन दिएर दलित मजदुरलाई उता लग्ने गरिएको छ,’ उनले भने, ‘भारत लगिसकेपछि ठेकेदारहरू कम्पनीमा लगेर मजदुरको पारिश्रमिक उठाई मोज गर्ने अनि मजदुरहरू आफ्नो मजदुरी नपाई यातना खेप्नुपर्ने अवस्था छ ।’ उनले स्थानीय ठेकेदारले भारतका कम्पनीमा मजदुरलाई निश्चित समयका निम्ति काम गर्न जिम्मा लगाउने र समयअनुसार पैसा उठाएर फर्किने गरेको उनले बताए । ‘यहाँबाट जाँदै उनीहरू ठगिन्छन्, त्यहाँ गएर ठेकेदारमार्फत कम्पनीमा बेचिन्छन्,’ उनले भने, ‘कम्पनीका मानिसबाट उनीहरू कुटिन्छन्, यातना पाउँछन् र बिरामी भएर ज्यान गुमाउँछन् ।’
भारतको दिल्ली, हरियाणा र पन्जाब राज्यमा लगिने यी दलित मजदुरलाई विशेषतः प्लाइउड फ्याक्ट्री, धान चामल मिलमा काममा लगाइने गरिएको छ । ठेकेदारले मजदुरको मजदुरी पहिले नै उठाउने गरेका कारण बिरामी पर्दा पनि मजदुरलाई कम्पनीले आराम गर्न दिँदैनन् । जसका कारण समयमा उपचार नपाई उनीहरूमध्ये केहीको ज्यान समेत जाने गरेको छ । श्रम शोषण र यातनाको सिकार भइरहँदा पनि भारतीय सहरमा मजदुरी गर्न जानेको संख्या घटेको छैन । बोर्डरमा रहेको सशस्त्र प्रहरीसँग भारत जाने मजदुरको यकिन तथ्यांक केही छैन । तर, यहाँका मुख्य नाकाबाट भारतीय सहरमा मजदुरी गर्न जानेको लर्को घटेको छैन ।