नेभिगेसन मेनु

खाडी मुलुकमा नेपालबाट कृषि उत्पादनको माग बढ्दो
सम्पादक:南亚网络电视
लेखक:गाेरखा पत्र
समय:2023-09-11 16:26

1 (1)

काठमाडौं, भदौ २५ गते । खाडी मुलुकमा रहेका नेपाली राजदूतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भए पनि नेपाली व्यवसायीहरु शिक्षित हुन नसकेको बताएका छन् ।

उनीहरुले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनहरुको माग बढी रहेको बताएका हुन् । उनीहरुले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेत लगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने बताए ।

ललितपुरमा भएको राजदूतहरुसँग व्यवसायीहरुको छलफलमा बोल्नुहुँदै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली व्यवहासायीहरुलाई शिक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायीका पनि धेरै कमजोरी रहेको भन्दै उहाँले व्यवसायीहरुले आफ्नो व्यवहार सुधार्नुपर्ने जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले एक वर्ष मेलामा जाने र अर्को वर्षबाट नजाने गर्दा बजारको माग पूरा गर्न नसकिने अवस्था देखिँदै आएको भनाइ व्यक्त गर्नुभयो । राजदूतले सम्बन्धित देशमा गर्नसक्ने धेरै सम्भावना रहेको उल्लेख गर्नुहुँदै राजदूत ओलीले क्षणिक रुपमा व्यवसायीहरुले सोच्नु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले कुन कुन वस्तुमा के के सुविधा पाएका छौँ, त्यो सूची हामीलाई पठाइदिनुहोला, त्यो सूची उहाँहरुलाई पनि सुनाउनु होला । प्रदर्शनीमा जानुहुन्छ, साफ्टाको संरचना गर्नु न भन्दा सर कहाँ प्रयोग गर्ने ? कसरी ल्याउने भन्नुहुन्छ, व्यवसायी । हाम्रा व्यवसायी शिक्षित हुन सक्नुभएको छैन । हाम्रा कमजोरी छन्, त्यो सुधार्नुपर्छ । हाम्रा सुविधा नहुँदा नहुँदै पनि राजदूतले गर्ने ठाउँ धेरै हुन्छ । व्यवसायीहरु पनि क्षणिक आउनुहुन्छ ।’’

यसैगरी, कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले सम्बन्धित देशहरुसँग राजदूतावासबाट हुने सहयोग र समन्वय गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले सम्बन्धित देशहरुलाई कस्तो सामग्री पठाउँदा ठिक हुन्छ भन्ने सूचि तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीहरुसँगको वातावरण मिलाइलिने स्पष्ट पार्नुभयो । उहाँले सम्बन्धित देशहरुमा हुने मेलामा पूर्णरुपमा निःशुल्क स्टलहरु उपलब्ध गराउन भने नसकिने भए पनि केही छुट दिलाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘तपाईहरु त्यो देशलाई प्रयोग हुने यो उत्पादन छ भन्नुस्, हामी सम्बन्धित देशका मान्छेसँग समन्वय गर्न तयार छौँ । हामी सम्बन्धित देशका चेम्बर अफ कमर्स लगायतसँग सम्पर्क गराइदिन तयार छौँ, तर एउटा कुरा दूतावासले गर्न सक्दैन, स्टल ल्याइदिनुस्, निःशुल्क उपलब्ध गराइदिनुहोस् भन्नेकुरा सरकारले बजेट कम दिएको छ, हामीले सक्दैनौँ । तपाईहरुले समस्या बताउनुस् । त्यहाँस्थित समस्या भए हामी समाधान गर्न तयार छौँ ।’’

त्यस्तै, युएईका लागि नेपाली राजदूत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढीरहेको बताउनुभयो । उहाँले नेपालको व्यापार घाटा अहिले झण्डै ४० अर्ब रहेको बताउनुभयो । उहाँले आफूले युएईमा अब नेपालबाट कृषिजन्य सामग्रीहरु निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने जिकिर गर्नुभयो । उहाँले युएईबाट हुने लगानी नेपालमा जोड्नसके नेपालको अर्थतन्त्रलाई राहत हुने बताउनुभयो । उहाँले गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना रहेको जानकारी दिनुभयो ।

राजदूत केसीले भन्नुभयो, ‘‘हाम्रोमा निर्यात एकदमै कम छ, आयात बढीरहेको छ । व्यापार घाटा ठूलो छ । झण्डै ४० अर्ब घाटा छ भन्दा हुन्छ, यसलाई कम गर्ने भन्ने हो । लगानी ल्याउने सम्भावना ठूलो छ । नेपालमा युएईको लगानी कम छ, त्यसलाई यहाँ जोड्नसके बजारको सहजता हुन्छ, त्यसमा हाम्रो प्रयत्न जारी हुनेछ । गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना छ ।’’

कार्यक्रममा व्यवसायीहरुले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदूतहरुले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताउनुभयो । उहाँले जुम्ला र मुस्ताङका स्याउहरुमा उनीहरुको माग बढीरहेको उल्लेख गर्नुभयो । उहाँले माग धान्न नसक्दा उनीहरु काश्मिर, सिक्किम पलायन भइरहेको भन्दै दूतावसले यसमा पहल गर्न आग्रह गर्नुभयो । युएईमा राँगाको सुकुटी धेरै माग आएको बताउनुभयो । राजदूतहरुले कुटनीतिकसँगै आर्थिक सम्बन्धतिर पनि पहल गरिदिनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवर्द्धन हुने बताउनुभयो । उहाँले दूतावासमा चिया, कफी लगायत नेपाली उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘तपाईहरुले आफ्नो जुन ब्राण्ड छ, त्यो ब्राण्ड उपलब्ध गराइदिनु भयो भने उहाँहरुको ठाउँ कति खालि हुन्छ, लैजान सक्ने नसक्ने उहाँहरुको कुरा भयो, त्यो पनि हामी गर्दैनौँ । दूतावासमा अन्यले चिया, कफीको फेस्टीबल गर्छ भन्नुभयो, तर हामी गर्दैनौँ । यो देशमा यो जाँदो रहेछ, प्रयास गनुहोस् भन्नुभएको छ, ओहोदाको प्रमाणपत्र पेश गर्दा मेरो देशमा यो सामान बन्छ भनेर त्यो कुरा किन नदिने ? त्यो मात्रै गरेमा पनि ठूलो महत्त्व राख्छ ।’’

उहाँले राजदूतले नेपालको विशेष दिवसहरुमा र ओहोदाको प्रमाणपत्र पेस गर्दा पनि नेपाली उत्पादन उपहारमा दिँदा त्यसले नेपाली उत्पादनको बजारीकरण र माग बढ्न जाने बताउनु भयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर