नेभिगेसन मेनु

समीक्षा 'जुलेबी' मा जेलिएका चार पात्र
सम्पादक:南亚网络电视
लेखक:एस् ए टि भी
समय:2023-08-23 15:27

thumb (2)

काठमाडौँ — नेपालमा महिला मुद्दाका फिल्म कमै बन्छन् । महिलाका यौन मनोविज्ञानलाई विरलै पर्दामा देखाइन्छ । हालै प्रदर्शनमा आएको 'जुलेबी'ले भने बहसमा धेरै नसमेटिने यही विषयलाई समेटेको छ । गणेशदेव पाण्डे निर्देशित यो 'एन्थोलोजी (थुप्रै कथाले भरिएको एउटा फिल्म) मा चार महिला पात्रका कथा समेटिएका छन् । तृष्णा (मोनिका थापा) र आशा (उषा रजक) को कथामार्फत यौन मनोविज्ञानका विषयलाई फिल्मले छोएको छ ।

स्कुल पढ्दै तृष्णा (मोनिका थापा) आर्मीमा भर्ती हुन तयारी थाल्दै गरेका रविन (तुफान थापा) प्रति आकर्षित हुन्छिन् । तृष्णा स्वभावले चञ्चली, आफ्नो भावना भन्न धक नमान्ने । प्रेम अंकुराउन नपाउँदै यी दुई शारीरिक आकर्षणमा तानिँदै जान्छन् । एक दिन आमाले दुईलाई सँगै ओच्छ्यानमा भेट्टाउँछिन् । त्यसपछि गाउँ/समाजको भेलामा दुईको बिहे गरिदिने कुरा निस्किन्छ । तृष्णा रविनसँग बिहे गर्न सहमत । तर भर्ती भएपछि मात्रै बिहे गर्ने अडान लिएका रविन छलफलबीचै गाउँबाट भाग्छन् । 'जुलेबी'ले तृष्णामार्फत महिला यौन मनोविज्ञानलाई प्रस्तुत गर्न खोजेको छ । रविनको गालामा चुम्बन गर्न डराउँदिनन्, तृष्णा । उनी आफ्नो यौन चाहनालाई व्यक्त गर्न हिच्किचाउँदिनन् । तृष्णाको कथा यौन चाहना वरपर घुम्ने भएर होला यी दुईलाई ओच्छ्यानसम्म पुगेको देखाउन निर्देशकले हतार गरेको भान हुन्छ । दुईको सम्बन्ध स्थापनामा अझै ध्यान पुर्‍याइएको भए हतार गरिएको आभास हुने थिएन ।

अर्की पात्र आशा (उषा रजक) को कथा पनि यौन मनोविज्ञानमै आधारित छ । २०६२ तिर आर्मीले लगेको पतिको पर्खाइमा छिन्, आशा । द्वन्द्वपीडित आन्दोलनमा जानु, पतिको तस्वीर अंकित प्लेकार्ड बोक्नु आशाको जिन्दगीको दैनिकी नै बनेको छ । त्यसै क्रममा एक दिन न्युड (नग्न) फोटोग्राफर सिद्धार्थ (पुष्कर कार्की) सँग आशा ठोक्किन्छिन् । फोटोग्राफरसँगको भेटले आशाको जीवनमा नयाँ आशा पलाउन थाल्छ । त्यो प्रेम भावना थियो वा ब्युँतिएको यौन चाहना ? फिल्ममा सोझै देखाइएको छैन । तर, न्युड फोटोग्राफीका क्रममा आसाको अनुहारमै यौन चाहनाको भावलाई प्रस्टै देखाइएको छ । न्युड फोटो खिच्दै गर्दाका उक्त दृश्यमा आशाको भूमिकामा देखिएकी उषा रजकले ती भावनालाई अभिनयमार्फत प्रस्तुत गरिदिएकी छन् । एन्थोलोजीमा समावेश चार कथामध्ये आशाको कथा निकै मीठो शैलीमा प्रस्तुत गरिएको छ । यो कथाको 'ओपन एन्डिङ' ले पछिसम्म दर्शकलाई आशा र सिद्धार्थ सम्झिाइरहन्छ ।

'जुलेबी' मा नामको बिम्बात्मक प्रयोग छ । तृष्णाले उक्त पात्रको यौन चाहनालाई प्रस्तुत गरिदिए झैं लाग्छ भने आशाले त्यो पात्रभित्रको आशा । चार कथाका पात्रहरू कुनै न कुनै दृश्यमा जुलेबी(जेरी) खाइरहेकै हुन्छन् । त्यसैले होला फिल्मको नामै 'जुलेबी' राखिएको छ । त्यो जुलेबीले पात्रहरूको जटिल र जेलिएको जिन्दगीलाई प्रतिविम्बित पनि गरेको छ ।

यौन व्यवसायमा लागेकी माया (सुरक्षा पन्त) को जीवनलाई कोभिड संक्रमणले असहज बनाइदियो । मायामा विदेश जाने मोह छ । रत्नपार्कमा उभिनु, देह व्यापार गर्नुको अर्को विकल्प उनीसँग छैन । त्यहि क्रममा प्रिन्टिङ पसलमा काम गर्दै आएका छमान (सुशील सिटौला) मायाको मायामा पर्छन् । छमानले एक दिन मायासामू आफ्नो प्रेममात्र प्रकट गर्दैनन्, यौन पेसा छाडेर आफूसँगै भाग्नका लागि समेत अनुरोध गर्छन् । ‍मायाले आफ्नो सपना रोज्लिन् कि छमान ? त्यो थाहा पाउन जुलेबी नै हेर्नुपर्ने हुन्छ । तर, यो कथामा पनि दुईबीचको सम्बन्ध स्थापनामा निर्देशक पाण्डेको मिहिनत अपुग लाग्छ । फिल्मको एउटा दृश्यमा माया एक ग्राहकसँग होटलतर्फ गइरहेको देख्दा छमान रीस/डाहले छटपटिन्छन् । तर, छमानको त्यो भावना दर्शकले अनुभव गर्नै पाउँदैनन् ।

मायाको कथालाई छमानको दृष्टिकोणबाट भनिएको छ । फिल्ममा मायाप्रति छमानको प्रेम देखाइएको छ । मायाको पृष्ठभूमि र उक्त पात्रको सफल अवतरणतर्फ ध्यान दिइएको छैन । 'जुलेबी' मा समावेश अन्य तीनका दाँजोमा यो कथाकी माया पात्रलाई दर्शकले अन्तिमसम्म खोजिरहन्छन् । उनी कथाबाट त्यसै हराउँछिन् । छमानको दृष्टिकोणबाट मायालाई देखाउन खोज्दा यसो भएको हुन सक्छ । महिलाका विषय समेटिएका फिल्ममा पुरुष निर्देशक यस्तै तत्त्वहरुमा चिप्लिनेहुन् । निर्देशक पाण्डेले केही हदसम्म महिला पात्रको दृष्टिकोणलाई भूमिका (निशा अधिकारी) को कथामा समेट्न खोजेका छन् ।

भूमिका वैवाहिक सम्बन्धको उकुसमुकसुबाट मुक्ति चाहन्छिन् । कुनै परपुरुषसँग आफ्नो वैवाहिक सम्बन्धबाटको मुक्तिलाई 'सेलिब्रेट' गर्ने हिम्मत/ल्याकत राख्छिन् । फिल्ममा देखाइएका चार पात्रमध्ये भूमिका निकै सशक्त देखिन्छिन् । उनी आफ्नो उकुसमुकुसबारे बोल्छिन्, स्वतन्त्रताको पक्षमा खडा हुन्छिन् । त्यस्तै माया पात्रलाई पनि फिल्ममा बलियो महिलाका रुपमा देखाइएको छ । जो आफ्नो सपनाका लागि सडकछेउ संघर्ष गरिरहन्छिन् । तृष्णालाई भने फिल्ममा यी चरित्रका दाँजोमा कमजोर देखाइएको छ । वर्षौंपछि भेटिएका पूर्वप्रेमीसँग एकै भेटमा होटलसम्म पुग्ने उनी प्रहरीले समातेको कुरा अर्को प्रेमीले थाहा पाउलान् भनेर डराइरहन्छिन् । रोइरहन्छिन् ।

'जुलेबी' मा चारै कथालाई एक-अर्कामा अन्तरसम्बन्धित देखाइएको छ, जुन एन्थोलोजीको सुन्दर पक्ष नै हो । रविन र मायाको भेटले त्यसको मिठास पस्किन्छ । कथा‍का यी पात्रहरूलाई रत्नपार्कले जोडेको छ । फिल्ममा काठमाडौंका रातलाई सुन्दर फ्रेममा कैद गरिएका छन् । साउन्डमा उत्तम न्यौपानेले आफ्नो कला पस्केका छन् । जब-जब फिल्ममा पात्रहरू एकअर्कासँग भेटिन्छन्, पृष्ठभूमिमा उनीहरूको भावना व्यक्त गर्ने संगीत गुन्जिरहन्छ । पृष्ठभूमिमा बज्ने संगीतको निरन्तरतामै उत्तमको कला झल्किन्छ ।

यो फिल्मको सबैभन्दा खट्किने कुरा हो, द्वन्द्व निर्माण । द्वन्द्व सिर्जनामा चुक्दा चारै कथाले जति सशक्त कथा भन्न सक्थ्यो, त्यो भन्न सकेको छैन । पात्रहरूबीचको सम्बन्ध स्थापनामा ध्यान दिइएको भए उनीहरूका भावनामा दर्शक जोडिने थिए । जे होस्, राजनीतिक विषयलाई केन्द्रमा राखी धमाधम फिल्महरू बन्दै गर्दा 'जुलेबी'ले संवेदनशील मुद्दालाई भने उठाएको छ । फरक विषयवस्तुका कथा पस्किने निर्देशक पाण्डेले यसपटक पनि 'जुलेबी' मा एउटा राम्रो प्रयास गरेका छन् । बिडम्बना भनौं प्रदर्शनको केही दिनबाटै 'जुलेबी'ले मल्टिप्लेक्स हलमा सो पाउन छाडेसँगै पाण्डेको यो प्रयासलाई हलमा हेर्न भने मुस्किल छ ।

यो फिल्ममा कमजोरी नभएका होइनन्, तर कमजोरसहित हेर्न लायक बनेको छ- 'जुलेबी' । फिल्मका केही दृश्यमा पात्रहरूको मनोविज्ञान देखाउन क्यामेरा हल्लाइएको छ । ती दृश्यमा कुनै कलात्मकता देखिन्न । कलाकारका अभिनयका लागि पनि हेर्नुपर्ने फिल्म हो यो । अभिनेत्री सुरक्षा पन्तले यौन व्यवसायी मायाको भूमिकालाई आफूलाई अब्बल सावित गरिदिएकी छन् । पहिरन, हिँडाइदेखि बोलीमा सुरक्षाले गरेको मिहेनत तारिफलायक नै छ । त्यस्तै उषाले आफ्नो अभिनयमार्फत आशाको आशालाई आफ्नो आँखैबाट प्रस्तुत गरिदिएकी छन् । उक्त पात्रको हिँडाइ, पहिरन र भित्री भावनालाई देखाउन उषा सफल छिन् । भूमिकाको चरित्रमा देखिएकी निशालाई पर्दामा अल्लि बढी स्थान दिइएको भए अझै अभिनयमा खुल्ने मौका पाउने थिइन् । अन्य फिल्ममा झैं 'जुलेबी'बाट सुशील सिटौलाले दर्शकको ध्यान तान्ने अभिनय गरेका छन् । पुष्कर कार्कीले पनि सिद्धार्थको भूमिकाबाट अभिनयमा आफूलाई सावित गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर