मोरङको विराटनगरका ३२ वर्षीय समर्पण कार्की पेसाले पाइलट (फर्स्ट अफिसर) हुन् । आफ्नै पेसामा रमाइरहेका कार्कीले विद्यालय तथा कलेज पढ्दा भने कुनै प्रतियोगितामा भाग लिएनन् । तर आफ्नो जीवनमा कुनै न कुनै उपाधि जित्ने हुटहुटी भने थियो । त्यही कारण हो, उनले हालै मिस्टर नेपालको उपाधि जिते ।
एक साताअघि मिस्टर नेपाल–२०२३ को उपाधि जितेका कार्की आफ्नो पुरानै काममा फर्किसकेका छन् । सेलिब्रेसनलाई थाती राख्दै जहाज उडाउन थालिसकेको उनले बताए । सानैदेखि पाइलट बन्ने सपना देखेका कार्कीे समयसँगै अन्य सपना पनि देखेका थिए । तर आफूलाई सच्याउँदै आफ्नो मुख्य लक्ष्यतर्फ केन्द्रित भइरहे । सोही कारण हो, आज उनी पाइलट बन्न सफल भएको । ‘पहिला पढाइ त्यसपछि करियरको दौडमा लाग्दा यस्ता प्रतियोगितामा सहभागी भइएन,’ उनले भने, ‘तर एक पटक यस्तो प्रतियोगितामा भाग लिने इच्छा भने थियो । जुन मिस्टर नेपालमा पूरा भयो ।’
करियर, अवसर र समय जुर्दा मिस्टर नेपालमा सहभागी भई उपाधि जित्न सकेको उनी बताउँछन् । ‘प्रतियोगितामा १६ देखि ३२ वर्ष उमेर समूहका युवाले मात्रै भाग लिन पाइन्थ्यो । त्यसैले मेरा लागि यो अवसर नै अन्तिम नै थियो,’ उनले भने, ‘आफ्नो करियरमा अघि बढिसकेको थिए । त्यसका साथै देशमा फर्किसकेपछि केही गर्नुपर्छ भन्ने थियो ।’
आफ्नो कामको वातावरणमा भिजिसकेको र एयरक्राफ्टबारे आवश्यक जानकारी हासिल गरिसकेकाले व्यक्तिगत जीवनमा पनि केही गर्नुपर्छ भन्नले लागेर मिस्टर नेपालमा भाग लिने सोच बनाएको उनले बताए । फर्म भरेर, अडिसन दिएर छनोट भइसकेपछि प्रतियोगिताकै लागि ४० दिनको तालिम थियो । पहिलो १५ दिनमा काम र प्रतियोगिताको तालिमलाई सँगै अघि बढाएको बताउँछन् उनी । त्यसपछि भने कामसँगै प्रतियोगितामा विजेता बन्न कठिन हुन्छ भन्ने लाग्यो । ‘दैनिक काम, त्यसको टास्क, सब टाइटलको प्रतिस्पर्धा हुन्थ्यो । फिजिक, एक्टिभ, पर्सनालिटीलगायत राउन्ड हुन्थ्यो,’ उनले भने, ‘यी सबैमा राम्रो प्वाइन्ट नभए विजेता बन्न कठिन हुन्थ्यो । त्यसैले काममा छुट्टी लिएर यसतर्फ ध्यान दिने निधो गरें ।’
यसबीचमा भने आफूलाई प्रतियोगिता छाडौं कि भन्ने सोच पनि आएको बताउँछन् कार्की । ‘फ्लाइट छ भन्दै निस्कियो । घर आएर खाना खाँदै लुगामा आइरन लगायो । त्यतिबेलासम्म कार्यालयको गाडी आइसकेको हुन्थ्यो,’ उनले भने, ‘फ्लाइट सकेपछि हतारहतार घर आयो । प्रतियोगिता र त्यसका विभिन्न टास्कमा केन्द्रित हुनुपर्ने ।’ पछिल्ला केही साता उनी निकै व्यस्त भए । तर पोर्टफोलियो सहजै नपाइने भन्दै आफैंलाई सम्झाएर अघि बढेकै कारण उपाधि जित्न सफल भएको कार्कीले बताए । ‘काम र प्रतियोगितालाई सन्तुलन गर्न नसकेर आत्तिएको थिए । छोडेको भए आज म यहाँ हुने कुरै थिएन,’ उनले भने ।
त्यसो त, मिस्टर नेपालको उपाधि जित्नका लागि आफ्नो पेसाले पनि धेरै सहयोग गरेको बताउँछन् उनी । ‘पाइलट पेसा अनुशासन, समयनिष्ठ हुनैपर्छ,’ उनले भने, ‘जिम्मेवारी वहन गर्न सक्ने क्षमता हुनुपर्छ । स्पष्ट सुन्ने, बोल्ने हुनैपर्छ । अनुमान लगाउन पाइँदैन ।’ पाइलटको पेसा ग्लामरससँगै उत्तिकै जिम्मेवारीपूर्ण रहेको उनले सुनाए । ‘धेरै खुसी पनि हुन मिल्दैन, धेरै दुःखी पनि हुनुहुँदैन,’ उनले भने, ‘हाम्रो इमोसन एउटै किसिमको रहनुपर्छ ।’
मिस्टर नेपालभित्र प्रतिस्पर्धीभन्दा पनि भाइचाराको सम्बन्ध बलियो हुँदै गएकाले विजेता घोषित हुँदा पनि मन उत्साहित नभएको उनको अनुभव छ । ‘टप फाइभमा परिसकेपछि जे भए पनि ठीक छ भन्ने सोच आएको थियो । तर बिस्तारै चौथो, तेस्रो, दोस्रो घोषणा भयो,’ उनले भने, ‘त्यसपछि भने प्रेसर फिल हुन थाल्यो । विजेताका रूपमा आफ्नो नाम घोषणा हुँदा भित्र खुसी भए पनि देखाउन सकिन् । अन्य प्रतिस्पर्धीको सपनालाई चोट पुर्याएको महसुस भयो । अन्त्यमा एउटा मात्रै विजेता बन्ने हो भन्दै चित्त बुझाए ।’
मिस्टर नेपालको उपाधिसँगै उनले मिस्टर इन्टेलेक्चुअल पनि घोषित भए । उपाधि जितेपछि जिम्मेवारी थपिएको बताउँछन् उनी । ‘केही महिनामा हुने मिस्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेर जानुपर्छ, त्यसले थप जिम्मेवारी थपिएको छ,’ उनले भने, ‘त्यसको लागि अब हरेक क्षेत्रका मान्छेसँग छलफल गरेर अघि बढ्छु ।’ सास्कृतिक,सम्पदा, वातावरण, डिजाइनरलगायत हरेक क्षेत्रका मान्छेसँग छलफल गरेर नै पूर्णतयारीका साथ नेपालको प्रतिनिधित्व गरेर जाने उनको भनाइ छ ।
आकाशमा हवाइजहाज उडेको हेर्न पनि कुर्नुपर्थ्यो । त्यसबेला देखिको हो, उनले पाइलट बन्ने सपना देखेको पनि । मेरो कान्छो मामा पनि पाइलट नै हुनुहुन्छ । विराटनगर एयरपोर्टमा ड्यासिङ पर्सनालिटीको पाइलट देखेपछि झनै पाइलट बन्ने हुटहुटी भयो । ‘मलाई अझैसम्म पनि विराटनगर एयरपोर्टमा ड्यासिङ पर्सनालिटीको पाइलट डीबी बस्नेतको दृश्य ताजै छ,’ उनले भने, ‘हरेक पटक आफ्नो सपनाबाट तितरवितर हुनेबित्तिकै त्यो दृश्य देख्छु । सानोमा आकाशमा उडेको जहाज हेर्न लालायित भएको सम्झन्छु ।’
शिक्षकहरूले कक्षामा तिमी के बन्छौ भनेर सोध्दा पनि म सधैं पाइलट भन्थे । मेरो कति साथीको लक्ष्य कक्षैपिच्छे फरक हुन्थ्यो । तर म हरेक कक्षामा पाइलट बन्ने बताउँथे । अहिले भने मेरा कतिपय साथीहरूले सानो हुँदा चिताएको पेसामा आबद्ध भइस् भन्दै गर्व गर्छन् । ‘कक्षा १२ सकेपछि विज्ञान पढ्नुपर्ने भयो । यो आफैंमा गाह्रो थियो,’ उनले भने, ‘मलाई फेरि पढाइसँगै साथीहरूलाई पनि समय दिन मन लाग्थ्यो । त्यही बीचमा मेरो पढाइ बिग्रियो । तर पनि मैले पढाइ छोडिन् ।’ त्यसैले आफूलाई सुधार्दै आफ्नो सपनातर्फ डोर्याइराख्थे । त्यतिबेला नेपालमा पाइलटले खासै काम पाउँदैनथे । ‘त्यसैले पाइलट बन्ने सपना दुई वर्षका लागि धकेले,’ उनले भने, ‘त्यसपछि एउटा समय आयो । अमेरिकामा पढेको पाइलटको लाइसेन्स विश्वभर प्राथमिकता दिने भएकाले सन् २०१४ मा अमेरिका गए ।’
करिब ६ वर्ष अमेरिकामा बिताइसकेपछि उनी २०१९ मा नेपाल फर्केका हुन् । ‘नेपाल फर्केपछि तालिम र परीक्षा दिएर आफ्नो लाइसेन्स नेपालमा चल्ने बनाएँ,’ उनले भने । सन् २०२१ को माघमा बुद्ध एयरमा आवेदन दिएका कार्की छानिए । महामारीका कारण ढिला गरी तालिम सकिएपछि उनले काम गर्न थाले । ‘आन्तरिक र बाह्य तालिम धेरै हुन्छ । आगामी साता फेरि तालिमका लागि फ्रान्स जाँदै छु । हरेक वर्ष दुई पटक यस्तो तालिम हुन्छ ।’ अध्ययनकै लागि अमेरिकामा गएका उनको सपना नेपाली आकाशमै जहाज उडाउने सपना थियो । त्यसले आफूलाई देशमा तानेको बताउँछन् समर्पण ।