नेभिगेसन मेनु

मनाङ पुग्न छैन सजिलो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-20 12:12

Tilicho-Trek-5

हिमालपारिको जिल्ला मनाङ पुग्ने रहर कसलाई हुँदैन र ! सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने मनाङका तस्बिर र भिडियोले सबैलाई लोभ्याइरहेका हुन्छन् । हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल मात्र होइन, बस्ती, संस्कार, संस्कृति, फाँटका फापर–करु र लटरम्म फलिरहेका स्याउका दानाले सबैलाई आकर्षित गर्छ । 

यिनै दृश्यलाई हिमालको काखमा बसेर अवलोकन गरी आफ्नै आँखामा कैद गर्ने सपना सबैको हुन्छ । देश तथा विदेशका विभिन्न भूभागबाट आउने पर्यटकलाई पनि यहाँ पुग्ने रहर हुन्छ तर यहाँ पुग्न भने त्यति सजिलो छैन, यसका लागि कैयौँ कठिनाइ पार गर्नुपर्ने हुन्छ । रौतहटका सञ्जय कार्कीलाई विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेर एक अञ्जुली पानीले मुख धुने रहर छ तर बेँसीसहरबाट हिँडेपछि भोग्नु परेको सास्तीले उहाँको रहर रहरमै सीमित हुने हो कि भन्ने चिन्ता छ । त्यस्तै सडकको जोखिम देखेर रहर मारेर फर्किनुपर्ने पो हो कि भन्ने डर पनि छ उहाँलाई ।

कार्कीले भन्नुभयो, “घरपरिवार, आफन्त, साथीभाइ सबै छाडेर आफ्नो रहर पूरा गर्न हिँडेको छु । बाटोको अवस्था देखेर रहर पूरा नहुँदै घर फर्किनु पर्छ कि भन्ने त्रास बढेको छ ।” मनाङको प्राकृतिक सौन्दर्यको अनुभूति गर्न त्रास नै त्रासको यात्रा गर्नुपर्ने उहाँले बताउनुभयो । 

मनाङ पुग्नका लागि सडक सञ्जाल त पुगेको छ तर सहज भने छैन । घन, छिनो र साबेलले ठुलाठुला चट्टान खोपेर बनाइएको छ यो सडक । तल हेर्दा आङ नै सिरिङ्ग हुने भिर, त्योभन्दा तल रिङ्गटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मस्र्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था मनाङ जाने सडकको हो ।

यो सडकको ट्र्याक खोल्ने काम २०५१ सालदेखि सुरु भएको हो । ‘कामका लागि खाद्यान्न’ अभियान अन्तर्गत यो सडक बनाउन विभिन्न सहयोग पनि भयो । अनि बेँसीसहर–चामे सडक खण्डको बेँसीसहर–खुदीसम्म ट्र्याक खोलियो । 

सडक निर्माणको जिम्मेवारी २०५७ सालदेखि नेपाली सेनाले पायो । सेनाले शान्ति प्रक्रियापछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो । मनाङका समाजसेवी तथा राजनीतिक दलका नेतृत्वले सडक पु-याउन मुख्य भूमिका निर्वाह गरेका थिए । उति बेला अहिले जस्तो डोजर र एस्काभेटरको माध्यमबाट सडक सञ्जाल खनिँदैन थियो । 

साँघुरो कच्ची सडक भएकाले अहिले पनि यात्रा गर्दा जोखिम मोल्नुपर्ने अवस्था छ । ठाउँ–ठाउँमा खसेको पहिराका कारण यात्रा थप जोखिमपूर्ण हुन्छ । वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन् । यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ–मनाङ आवतजावत गरिरहेका हुन्छन् ।  मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै डुम्रे–बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा डुम्रे–बेँसीसहर–चामे सडकमा यात्रु ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य छन् । मनाङीलाई यस्तो जोखिम मोल्नुको विकल्प छैन ।

सेनाले यस जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो । यसले सरर मोटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना त पूरा भयो । नेपाली सेनाले विसं २०६९ मा सडक निर्माण सम्पन्न गरेपछि सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । यस सडक खण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा हालसम्म जोखिमपूर्ण नै छ । ११ वर्ष हुँदा पनि यस सडकको स्तरोन्नति हुन सकेको छैन । यो काम नहुँदा स्थानीयवासी निराश बनेका छन् । मनाङवासीसँगै लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटकसमेत चिन्तित छन् । यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ ।

बेँसीसहर–चामे सडक पार गर्न झन्डै छ घण्टा समय लाग्ने सवारी चालक कुमार गुरुङले बताउनुभयो । “ठुलाठुला चट्टानबिच र मस्र्याङ्दी नदीको किनारबाट सवारीसाधन चलाउनुपर्ने हुन्छ,” गुरुङले भन्नुभयो । यात्रा नसकुञ्जेलसम्म त्रासैत्रासमा यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । विभिन्न कामलगायत घरायसी सामान लिनका लागि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् ।

भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक वर्षायाममा बाढीले खोतलिदिने र पहिरो खस्ने भएकाले थप जोखिम थपिन्छ । सङ्घीयता कायम भएपछि पछिल्लो समय मनाङको मेरुदण्डका रूपमा रहेको यस सडकको स्तरोन्नतिका लागि पहल नभएको पनि होइन । स्तरोन्नतिका निम्ति विभिन्न राजनीतिक दलका नेतृत्व तथा स्थानीय सरकारले सङ्घ, प्रदेश सरकारलाई झकझकाउने काम पनि गरिरहेका छन् । 

यसका लागि डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयमार्फत काम भइरहेको छ । भौगोलिक विकटतासँगै यहाँको प्रतिकूल मौसमका कारण कामले तीव्रता लिन नसकेको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका साइट इन्चार्ज सब–इन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । विगतमा मनाङ घुम्न वा पर्यटक आगमनका क्रममा पहिरो वा बाढीका कारण सडक अवरुद्ध भएमा घण्टौँ बाटोमा नै रोकिनुपर्ने अवस्था छैन ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर